Clickmandu
चुर्लुम्मै ऋणमा डुबेको लेमिनार टाइल्सलाई ब्याज तिर्न धौधौ, आईपीओ निकालेर सोझा लगानीकर्ता फसाउँदै

काठमाडौं । नेपालमा कमजोर वित्तीय सूचक भएका कम्पनीका लगानीकर्ता आईपीओ जारी गरेर बाहिरिने गरेको विषय नौलो होइन। केही रूपैयाँ लगानी गर्ने, सो लगानीका आधारमा बैंकबाट कर्जा लिने, कर्जाको बलमा कम्पनी चलाउने र केही वर्षमा (लकइन खुलेपछि) सोझा लगानीकर्तालाई सेयर बेचेर बाहिरिने क्रम बिमा, जलविद्युत् लगायत क्षेत्रमा पहिल्यैदेखि नै देखिएको हो । खासगरी प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण बढेपछि उल्लेखित क्रम उच्च छ ।
अब त यो सिको उत्पादनमुलक क्षेत्रका व्यवसायीले पनि सिकेका छन् । हो, ऋणको ब्याज तिर्न पनि धौधौ अवस्थामा रहेको अर्थात् सञ्चालन नाफाले ऋणको किस्ता पनि नधान्ने लुम्बिनी सेरामिक्सका लगानीकर्ता आईपीओ जारी गरेर सोझा लगानीकर्तालाई कम्पनी थमाएर बाहिरिने योजनामा छन् ।
एक वर्षअघि सञ्चालनमा आएको लुम्बिनी सेरामिक्सले लेमिनार ब्रान्डमा नेपालकै पहिलो भिट्रिफाइड टाइल उत्पादन गर्दै आएको छ। बर्दियाको गुलरियामा २०८१ भदौ १ गतेदेखि सञ्चालनमा आएको उद्योगले कात्तिकदेखि बजारमा टायल पठाउन थालेको थियो ।
कुल ४ अर्ब रूपैयाँ लगानीमा खुलेको लुम्बिनी सेरामिक्सले उत्पादन गर्ने लेमानार टायल नेपालकै पहिलो भिट्रिफाइड टायल रहेको दाबी गरिएको छ ।
तर, लुम्बिनी सेरामिक्सका लगानीकर्ताको योजना भने सफा छैन । उत्पादन सुरू भएको ६ महिना नबित्दै कम्पनीले आईपीओ जारी गर्ने योजना अघि सार्यो । माघमा बिक्री प्रबन्धक नै नियुक्त गर्यो ।
राम्रो कम्पनीका लगानीकर्ता हत्तपत्त आईपीओ जारी गरिहाल्न चाहँदैनन् । प्रतिवर्ष २० प्रतिशत प्रतिफल हुने हो भने पनि अर्ब रूपैयाँ लगानी उठ्न ५ वर्ष लाग्छ । तर, लुम्बिनी सेरामिक्सको आईपीओ जारी गरिहाल्ने योजनामाथि भने प्रश्नैप्रश्न छ ।
लुम्बिनी सेरामिक्समा मंगलम ग्रुपका व्यक्तिहरूको लगानी छ । राम्रो बिजनेस गर्ने मंगलम पाइपको आपीओबारे नसोचेका उनीहरू नयाँ कम्पनी लुम्बिनी सेरामिक्सलाई भने तुरून्तै आईपीओमा लगेर आफूहरू बाहिरिने योजनामा देखिन्छन् ।
किनकी, कम्पनीको वित्तीय विवरण ठीकठाक छैन । चुर्लुम्म ऋणमा डुबेको छ ।
कम्पनीका अरू चुनौती कम छैनन् । सञ्चालन स्थिरीकरणको जोखिम प्रमुख चुनौतीका रूपमा रहेको छ । भर्खर उत्पादनमा आएको उद्योग पूर्णक्षमतामा चल्न समय लाग्ने देखिन्छ । आम्दानी स्थिर नहुनु र नाफा ऋणात्मक रहनु यसका मुख्य कारण हुन् । कम्पनीको पुँजी संरचना पनि कमजोर छ । उच्च ऋण भारका कारण कम्पनीको गियरिङ रेसियो २.३२ गुणासम्म पुगेको छ भने लगातारको नोक्सानीले नेटवर्थ घटेको छ ।
सानो बजार र प्रयोगकर्तामा पुग्न नसक्दा हालका सेयरधनी खल्तीबाट पैसा हालेर ब्याज तिरिरहेका छन् । कम्पनीको कुल दायित्व कुल नेटवर्थको करिब ३ गुणा पुगिसकेको छ ।
ब्याज तिर्ने क्षमता अत्यन्त कमजोर देखिएको छ । कम्पनीको खुद सञ्चालन आम्दानी किस्ताको ३४ प्रतिशत मात्र छ ।
यता चालु पुँजी व्यवस्थापन पनि कम्पनीका लागि ठूलो चुनौती बनेको छ । कुल पुँजीको करिब ५२ प्रतिशत चालु पुँजी कर्जा (वर्किङ क्यापिटल)मै फस्नु, सामान बिक्री भई रकम उठ्न ९३ दिन लाग्नु र मौज्दात २११ दिनसम्म थन्किनु कम्पनीको सञ्चालन चापलाई देखाउँछ । आपूर्तिकर्ताको २८१ दिनको उधारोमा निर्भर रहनु पनि दीर्घकालीन रूपमा जोखिमपूर्ण मानिएको छ, किनकि सर्त कडा भएमा आपूर्ति शृंखला अवरुद्ध हुनसक्ने संकेत छ ।
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले करिब ९० करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । उत्पादन सुरु भएको पहिलो वर्षमा कम्पनीले आफ्नो क्षमताको करिब ४७.८० प्रतिशत मात्र उपयोग गर्न सकेको छ । कम्पनीको नाफा मार्जिन ८ प्रतिशत देखिए पनि उच्च ब्याज खर्च र ह्रासकट्टीका कारण कम्पनी घाटामा छ ।
लुम्बिनी सेरामिक्स २०२१ सेप्टेम्बरमा दर्ता भई २०२३ फेब्रुअरीमा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो । कम्पनीले बर्दिया जिल्लाको गुलरिया–०८ मा स्थापना गरेको उद्योगमार्फत ग्लेज्ड भिट्रिफाइड टाइल्स उत्पादन गर्दै आएको छ । वार्षिक ४ करोड १४ लाख वर्गफिट उत्पादन क्षमता रहेको यस उद्योगको अध्यक्ष सुब्रत धिताल हुन् । कम्पनीमा उनको सेयर हिस्सा १७.९८ प्रतिशत छ ।
बर्दियाको गुलरियास्थित साढे १२ बिगाह जमिनमा फैलिएको लुम्बिनी सेरामिक्सको उद्योगले करिब ५०० वटाभन्दा बढी डिजाइनमा लेमानार उत्पादन गर्दै आएको छ । करिब ९९.९२ प्रतिशतसम्मको वाटर प्रुफ (०.०८ प्रतिशतमात्र पानी सोस्ने) लेमिनार टायल्स नेपालको सबैभन्दा पहिलो र एकमात्र १०० प्रतिशत भिट्रिफाइड टायल ब्रान्ड हो ।
उद्योगले टायल उत्पादन गर्न चाहिने माटो (क्ले, क्वार्ज, फेल्डस्पार र सिलिकासमेत मिसिएको) भारतबाट ल्याउँछ ।