राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
दैलेखका सालवनमा झुसिलकिराको प्रकोप : संकटमा पर्यावरण, कृषि र पशुपालन
काठमाडौं । केही वर्ष अघिसम्म दैलेखका पाखापखेराहरू हरियो गलैँचा बिछ्याएझैँ देखिन्थे । वसन्त ऋतुको आगमनसँगै सालका नयाँ पालुवा पलाउँथे, चराचुरुंगीको चिरबिरले वन गुञ्जायमान हुन्थ्यो । तर, आज त्यो दृश्य बदलिएको छ । नारायण नगरपालिका–१ कुइकानाका ५४ वर्षीय यमबहादुर सिँजाली आफ्नो घरबाट एक किलोमिटर परको जंगलको दृश्य हेर्दा बेला बेला झस्कन्छन् । जंगल त छ, तर हरियाली छैन । सालका रुखहरू ठिंग ठडिएका छन्, तर तिनमा पात छैन । टाढाबाट हेर्दा लाग्छ, जंगलमा भीषण डढेलो लागेको हो ।
तर विडम्बना, त्यहाँ डढेलो लागेको भने होइन । एउटा सूक्ष्म जीव झुसिलकिरा (पुतली प्रजातिको लार्भा) को करोडौँको संख्याले सिंगो जंगललाई भोक मेट्ने आहार बनाएपछि दैलेखका सालवनहरू अहिले पातविहीन देखिन्छन् । यो केवल एउटा पर्यावरणीय समस्या मात्र होइन, यसले पर्यावरणसँगै दैलेखको ग्रामीण अर्थतन्त्रको मेरुदण्ड मानिने पशुपालन र किसानको जीविकोपार्जनमाथि नै प्रहार गरेको छ ।
सिँजालीका १५ वटा बाख्रा र एक हल गोरुको मुख्य आहार नै त्यही वन थियो । २४ वर्ष गुजरातमा श्रम गरेर फर्किएका उनी आफ्नै गाउँमा कृषि गरेर घर व्यवहार चलाउने सपना बुन्दै थिए ।
झुसिलकिराको प्रकोपले सपना सपनामै पो सीमित हुने पो हो कि भन्ने पिर उनमा छ । प्रकोपका कारण अहिले वनमा जानै डरलाग्दो अवस्था रहेको उनी बताउँछन् । ‘पहिले जंगलमा मात्र थियो, जंगल खाएर पातविहीन भएपछि अहिले त बारीका कान्लामा लगाएका खन्यूका रुखमा समेत आक्रमण गर्न थालेका छन्,’ बारीतिर देखाउँदै यमबहादुर भन्छन् ।

यो पीडा यमबहादुरको मात्र होइन, श्रीस्थान सामुदायिक वनकी अध्यक्ष कृष्णा श्रेष्ठको अनुभव पनि उस्तै छ । उनका १६ वटा बाख्रामध्ये जंगलको घाँसपात खुवाउँदा कलिला पाठापाठीहरू मरे । घाँस खुवाउँदा पातमा टाँसिएका किराका लार्भा र जालो बाख्राको पेटमा गएर पखाला लाग्ने र घाँटी पाक्ने समस्या भयो । नजिकको पशु अस्पतालबाट औषधी लिएर खुवाउँदा पनि ठिक नभएरै मरेको उनी बताउँछिन् । स्थानीय टीका सलामी, मनबहादुर थापा र भूपेन्द्र कार्कीका मात्रै ३–३ वटा पाठा मरेका छन् । उनीसहित गाउँमा अन्यका गरी ३५ वटा पाठापाठी मरेको उनले जानकारी दिइन् । गत वर्ष पनि ३० वटा गाईबस्तु मरेका थिए ।
कसरी सुरु भयो प्रकोप ?
पहिले पहिले यस्ता समस्या यहाँका नागरिकले कहिले पनि झेल्नुपरेको थिएन । स्थानीयका अनुसार यो प्रकोपको केन्द्रबिन्दु नारायण नगरपालिका–१ स्थित श्रीस्थान महिला सामुदायिक वन हो । करिब दुई वर्षअघि असारमा जंगलको सानो क्षेत्रमा किरा लागेर पातहरू झर्न थाल्दा स्थानीयले यसलाई सामान्य ‘मौसमी किरा’ ठानेर वास्ता गरेनन् । तर, गत असारदेखि यसले उग्ररूप लियो । स्थानीय चक्रबहादुर सारू भन्छन्, ‘केही हप्ताभित्रै किराको संख्या करोडौंमा पुग्यो र हरियो जंगल खैरो ठुटोमा परिणत भयो ।’

श्रीस्थान महिला सामुदायिक वन पछि सोही वडाकै भैँसेडाडा सामुदायिक वन, भुलपुर, घलाया खोरिया सामुदायिक वन, धाउने, वडा नम्बर–९ को बिसौना सामुदायिक वन हुँदै प्रकोप फैलिएको यहाँका स्थानीय बताउँछन् ।
अहिले यो प्रकोप नारायण नगरपालिकाका वडा नं. १, २, ७, ९, १८ र २० मात्र होइन, छिमेकी दुल्लु नगरपालिकाको डुंगेश्वर र भैरवी र महाबु गाउँपालिकासम्म फैलिएको छ । चिसोमा केही कम भएपनि गर्मी सुरु भएसँगै पुनः सक्रिय हुने गरेको बिसौना सामुदायिक वनका अध्यक्ष रबिन थापामगर बताउँछन् ।
जंगलमा आहारा सकिएपछि यी किराहरू स्थानीयले लगाएको बारीका घाँसमा समेत पुग्न थालेका छन् । यति मात्र नभएर गर्मी समयमा स्थानीयको घर, गोठ, भान्सा र ओछ्यानसम्मै पुग्ने गरेका छन् । डुंगेश्वर–१ का ओमप्रसाद पराजुली भन्छन्, ‘पशुचौपायादेखि हाम्रो व्यक्तिगत जीवन र वातावरणमा समेत यसले गम्भीर असर पु¥याएको छ ।’
नारायण–१ कुइकानाका तल्लो माथिल्लो टोल गरेर १ सय २ घरधुरीले अहिले यस्तै सास्ती भोग्दै आएका छन् । पहिले पहिले जंगलमा यस्ता किरा लागेको देखिन्थे तर, यसरी जंगल नै सखाप पारेको कसैले देखेका थिएनन् । गत असारदेखि यस्तो प्रकोप सुरु भएको थियो । सुरु सुरुमा स्थानीयले सामान्य रूपमा लिए ।
यहाँका नागरिकलाई घरनजिकैको वन हुँदा बस्तुभाउ पाल्न सजिलो थियो, सालका पातले पशुको आहार र मल दुवै पुग्थ्यो । तर अहिले सबैजसो वनका रुखहरू नांगा पातविहीन मात्र देखिन्छन् । जंगल पस्नै नसकिने गरी नांगोे भएको छ । अब पशु कसरी पाल्ने, के खुवाउने भन्ने कुराले चिन्ता थपेको नारायण नगरपालिका–७ का स्थानीय प्रेम रावल बताउँछन् ।
झुसिलकिराको अवशेषले जंगलभित्र पस्न समेत मुस्किल छ । जंगलमा पस्दा हरियालीको सट्टा कुरूप दृश्य देखिन्छ । पातविहीन रुख, जमिनभरि लार्भाका अवशेष र जालो । जंगलमा प्रवेश गर्दा शरीरमै टाँसिन्छ ।
साल वन नै किन निशानामा ?
जिल्लामा जम्मा ७७ हजार ४ सय ७५ हेक्टर वन क्षेत्र छ । जसमा सामुदायिक वनको क्षेत्रफल ३८ हजार ७ सय ३८ दशमलव ४५ हेक्टर क्षेत्रफल छ । धार्मिक वनको ३ दशमलव ४४ हेक्टर क्षेत्रफल रहेको डिभिजन वन कार्यालय दैलेखको तथ्यांकमा उल्लेख छ ।
प्रकोपले १ हजार ८२ हेक्टर जंगलमा प्रभाव परेको डिभिजन वन कार्यालय दैलेखले जनाएको छ । प्रकोपले प्रभावित गरेको वनहरूमा ७ प्रजातिका रुखहरू रहेका छन् । जसमा साल, खोटे सल्ला, काफल मौवा, उत्तीस, जामुन, तिजु पाइन्छन् । यी प्रजातिमध्ये साल प्रजातिका रुख बढी प्रभावित भएको डिभिजन वन कार्यालय दैलेखमा कार्यरत विवेक बेल्बासे बताउँछन् ।

त्यस्तै डिभिजन वन कार्यालय दैलेखका अनुसार ४० प्रजातिका रुखहरू र ४३ प्रकारका जडीबुटी रहेका छन् । यहाँ सामुदायिक वनको संख्या ४ सय छ भने १२ वटा निजी वन, ६६ वटा कबुलियती र दुई वटा धार्मिक वन रहेका छन् । किराले मुख्यतः सामुदायिक साल वनमा बढी प्रभावित गरेको छ । दैलेखका धेरैजस्तो वन एउटै उमेर र एउटै प्रजातिका सालले भरिएका छन् । जैविक विविधता कम हुँदा रोग–किरा नियन्त्रण गर्ने प्राकृतिक सन्तुलन कमजोर हुने वनविज्ञहरु बताउँछन् ।
दैलेखका अधिकांश वन एउटै उमेर र एउटै प्रजातिका साल रहेको प्रदेश वन निर्देशनालय सुर्खेतका रेन्जर जेपी बुढाथोकीको भनाइ छ । ‘जिल्लामा ९९ प्रतिशत प्रभावित रुखहरू १० देखि १५ सेन्टिमिटरका पोल साइजका छन्,’ बुढाथोकी भन्छन्, ‘एउटै प्रजातिको ‘मोनोकल्चर’ वनमा प्रकोप डढेलोझैँ फैलिन सहज हुन्छ । मिश्रित वन भएको भए एउटा प्रजातिबाट अर्कोमा नसर्ने सम्भावना हुन्थ्यो ।’
तर सालको घना जंगल बढी भएकाले किराका लागि ‘बफेट डिनर’ जस्तै बनेको रेन्जर बुढाथोकीको भनाइ छ । किराले साल प्रजातिका रुखमा बढी असर गरेको छ भने अन्य प्रजातिका रुख बिरुवा कम प्रभावित भएको स्थानीय बताउँछन् । साझ, कोइराल, सिँदुरे, काफल, सानन, कोटमेडो, जामुन, ट्यामुन जस्ता प्रजातिमा केही मात्र असर र बढी लार्भा र प्युपाका अवशेष र दिशा भुँइभरी थुप्रिएर बढी आसर गरेको प्रदेश वन निर्देशनालय सुर्खेतमा कार्यरत बुढाथोकी बताउँछन् । तर, खोटे सल्लामा भने यसको प्रभाव कति पनि देखिएको छैन ।

घाँस–दाउरा ल्याउने दिदीबहिनीहरूलाई अहिले जंगल पस्नै नसकिने गरी दुर्गन्ध र किराको त्रास रहेको चिउरीभीर सामुदायिक वनकी अध्यक्ष उत्तरादेवी गौतमको भनाइ छ । ‘जंगलमै आश्रित भएर घाँस दाउरा, सोतर ल्याउने हाम्रा दिदीबहिनीलाई ठूलो समस्या भएको छ,’ उनी भन्छन्, ‘यो समस्या समयमै समाधान नभएर यस्तै रह्यो भने यहाँका प्रत्येक गाउँ टोलका गोठहरू रित्तो हुँदै जाने चिन्ता बढेको छ ।’
सरकारी उपेक्षा किन ?
जंगलमा झुसिलकिराको यस्तो प्रकोप देखिँदा समेत यहाँको डिभिजन वन कार्यालय बेखबर जस्तै थियो । प्रकोप फैलिएको स्थानीयले जानकारी गराएपछि केन्द्रमा खबर पु¥याएपछि केन्द्रबाट विज्ञ टोली यहाँ पुगेको थियो । तर, सो टोली पुग्दा ज्यूँदो लार्भा नभेटेपछि खाली हात फर्कियो । विज्ञहरूले यसलाई ‘डिफोलिएटर’ (पात खाने किरा) को प्रकोप भनेका छन् ।
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका अनुसन्धान अधिकृत प्रतीक पाण्डेका अनुसार नेपालमा सालका पात खाने ३ सयभन्दा बढी प्रजातिका किरा छन्, तर तिनको पर्याप्त दस्तावेजीकरण छैन । ‘जीवित लार्भा फेला पारेर ल्याब परीक्षण नगरेसम्म यो कुन प्रजातिको ‘मथ’ (पुतली) हो भन्न सकिन्न,’ उनले भने ।
किसानहरू भने सरकारी उदासीनताप्रति आक्रोशित छन् । यमबहादुर भन्छन्, ‘नगरपालिकाका मान्छे आउँछन्, यो जैविक प्रकोप हो भन्छन् र कुरा मात्र गरेर फर्कन्छन् । तर हाम्रा बस्तुभाउ मरिरहेका छन् ।’
जिल्ला पशु अस्पताल दैलेखका प्रमुख प्रचण्ड खड्काले किरासहितको घाँस खाँदा पशुको पेट ढाडिने र पखाला लाग्ने पुष्टि गरे । ‘प्रकोप बढेको बेला चरन क्षेत्रमा नलैजान हामीले आग्रह गरेका छौँ,’ उनले भने । तर विडम्बना, ३० प्रतिशतले मात्र पशु बिमा गरेको नारायण नगरपालिका पशु शाखा प्रमुख भृकुटी भट्टराई बताउँछिन् । उनका अनुसार ७० प्रतिशत किसानको पशु बिमा छैन, जसले गर्दा क्षतिपूर्ति पाउने कुनै आधार देखिँदैन ।
जंगल उजाड भएपछि वन्यजन्तु (बँदेल, बाँदर, खरायो र दुम्सी) आहारको खोजीमा बस्ती पस्न थालेका छन् । किसानले लगाएको आलु, प्याज, टमाटरलगायतको तरकारी खाएर नष्ट गर्दा किसान दोहोरा मारमा परेका छन् ।

जंगलमा किराको प्रकोप बढ्दा पातमा आश्रित रहेको दुनाटपरी उद्योग समेत संकटमा परेको छ । शुभ अशुभ कार्य पूजाआजा वा काजकिरियामा सालको पात चाहिन्छ, तर जंगलमा एउटै सग्लो पात भेट्न मुस्किल रहेको स्थानीय स्थानीय नरेन्द्र मल्ल बताउँछन् ।
स्थानीयले नगरपालिका र सरोकारवाला निकायलाई पटक–पटक हारगुहार गरे । प्राविधिकहरू आउँछन्, हेर्छन् र ‘यो जैविक प्रकोप हो, आफैँ निको हुन्छ’ भन्दै फर्किन्छन् । तर, किसानका गाई गोरु, र बाख्रा मरिरहेका छन्, वनको घाँस खुवाउन सक्ने अवस्था छैन ।
वनमा यस्तो समस्या देखिएपछि केन्द्रबाट विज्ञ टोली पुगेर अनुसन्धानसमेत गरिसकेको छ । विज्ञटोलीले जिउँदो लार्भा नभेटाएपछि पुन अनुसन्धान गर्नेगरी फर्किएको थियो । अनुसन्धानको क्रममा जीवित लार्भा भेटिए मात्र त्यसलाई ल्याबमा पठाएर मात्रै कुन प्रजातिको ‘मथ’ (पुतली) हो भनेर यकिन गर्न सकिने डिभिजन वन कार्यालय प्रमुख अमरप्रसाद साह बताउँछन् ।
तीन पटकसम्म निरन्तर झुसिलकिराले पात खाँदा केही रुखहरु टुप्पोबाट समेत सुक्दै गएका छन् । यो पटकलाई यसरी नांगो हुन थालेको तीन पटक भएको उनी बताउँछन् । ग्रामीण अर्थतन्त्रको पिल्लर मानिने पशुपालन स्थानीय सामुदायिक जंगलहरु झुसिलकिराले सखाप पार्न थालेपनि घाँस, स्याउला, सोतरलगायतका कुरामा समस्या भएको स्थानीय पूर्णबहादुर रामजाली बताउँछन् । जंगल नांगो हुँदै गएपछि र स्रोतको अभाव हुँदा भएका पशु बस्तुहरू बेच्ने अवस्थामा पुगेको उनले जानकारी दिए । यो समस्या यहाँ मात्र सीमित छैन । यो समस्या कर्णालीका सल्यान, सुर्खेत र लुम्बिनी प्रदेशको दाङमा पनि देखिएको दंगीशरण सब डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत खेमबहादुर केसी बताउँछन् । उनका अनुसार यो किरा युप्रोक्टिस बालिओलालिस (एकल प्रजाति) अस्टे«लियाबाट सुरु भएको भन्ने बुझिन्छ तर, यसको वैज्ञानिक पुष्टि भइनसकेको उनले बताए ।
दाङ जिल्लाको बबै गाउँपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा साल वनमा देखिएको मथ (पुतली) प्रजातिको झुसिलकिरा पहिलोपटक सन् २०२१ मा देखिएको थियो । सुरुमा घोराही उपमहानगरपालिका क्षेत्रमा समस्या देखिएपछि स्थलगत अध्ययन र रोकथामका प्रयास थालिएको थियो । तर माथिल्लो निकायमा जानकारी गराउँदा अपेक्षित चासो नदेखिएको दंगीशरण सब–डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत केसी बताउँछन् । उनका अनुसार पश्चिम दाङका २३ वटा सामुदायिक वनका करिब ३ हजार हेक्टर क्षेत्रफल प्रभावित भएका छन् र झन्डै ३ हजार घरधुरी प्रत्यक्ष असरमा परेका छन् ।

यो किरा वर्षमा दुई पटक सक्रिय हुन्छ–चैत–बैशाखमा नयाँ पालुवा पलाउने बेला र साउन–भदौमा पुनः देखिन्छ । चिसो मौसममा सुषुप्त अवस्थामा बस्ने भएकाले हरायो जस्तो देखिए पनि पुनः सक्रिय हुने जोखिम रहन्छ । लगातार दुई–तीन वर्ष प्रकोप दोहोरिए रुख टुप्पोबाट सुक्दै जाने र दीर्घकालमा समग्र पारिस्थितिक प्रणालीमै असर पर्ने चेतावनी केसीले दिए । रोग–किराको वैज्ञानिक पहिचान, स्थानीय तहमा प्राविधिक जनशक्ति परिचालन र प्रभावकारी रोकथामका लागि सरकारले गम्भीर ध्यान दिनुपर्ने उनको जोड छ ।
यस प्रकोपको वैज्ञानिक कारण पत्ता लगाउन केन्द्रले उपसचिव सुनिता उलकको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. प्रेम बुढा र केन्द्रका अनुसन्धान अधिकृत प्रतीक पाण्डेय सम्मिलित तीन सदस्यीय विज्ञ टोली गठन गरेको थियो ।
टोलीले कर्णाली प्रदेशको वन तथा वातावरण मन्त्रालय, प्रदेश निर्देशनालय र स्थानीय डिभिजन वन कार्यालयसँग समन्वय गरी दैलेखका सामुदायिक वन निरीक्षण गरेको थियो ।
वन तथा वातावरण मन्त्रालयकी उपसचिव सुनिता उलकका अनुसार यो प्रकोप करिब केही महिना अगाडि असोजदेखि नै सुरु भएको थियो । स्थलगत अवलोकन क्रममा अध्ययन टोलीले जीवित लार्भा फेला पार्न नसके पनि किराले छाडेका बाहिरी छाला र प्युपाका खोलहरू वन क्षेत्रमा प्रशस्त मात्रामा फेला पारेको छ ।
‘हामी पुग्दा रिपोर्टिङ निकै ढिलो भइसकेको थियो, किराको लाइफ साइकल सकिएर कतिपय लार्भा मरिसकेका थिए भने कतिपय हाइबरनेसनमा गइसकेका थिए,’ उलकले भनिन् ।
जलवायु प्रभाव
दैलेख र आसपासका क्षेत्रमा फैलिएको झुसिलकिराको महामारी केवल एउटा संयोग मात्र नभएर बदलिँदो मौसमको परिणाम भएको विज्ञहरू बताउँछन् । यसपालि हिउँदे वर्षा नहुनु र लामो समयसम्म खडेरी पर्नुलाई यो प्रकोप फैलिनुको प्रमुख सहायक कारक मानिएको छ ।
उपसचिव सुनिता उलकका अनुसार, विशेषगरी दक्षिण र पश्चिम फर्किएका पहाडी क्षेत्रका साल वनमा यसको प्रभाव व्यापक छ । ‘हिउँदे झरी नपर्नु र बढ्दो तापक्रमले किराको प्रजननका लागि अनुकूल वातावरण तयार गरिदियो,’ उनी भन्छिन्, ‘करिब तीन वर्षअघि पनि यस्तै समस्या देखिएको थियो । तर त्यतिबेला वर्षा भएपछि किराको संख्या स्वतः घटेको थियो । यसले मौसमी अवस्थाको प्रत्यक्ष भूमिकालाई प्रष्ट पार्छ ।’
अध्ययनका क्रममा प्रकृतिले आफैँ पनि सन्तुलन कायम गर्ने प्रयास गरेको भेटिएको छ । उपसचिव उलकका अनुसार, ती झुसिलकिराका प्युपालाई आहार बनाउने अन्य ‘शत्रु किरा’ पनि जंगलमा फेला परेका छन् । यसलाई ‘बायोलोजिकल कन्ट्रोल’ वा जैविक नियन्त्रणको रूपमा हेरिन्छ । यद्यपि, मौसम प्रतिकूल हुँदा र किराको संख्या अत्यधिक बढ्दा यो प्राकृतिक प्रणाली मात्र पर्याप्त नहुने विज्ञहरूको भनाइ छ ।
महामारी नियन्त्रण र आगामी दिनमा हुन सक्ने क्षति न्यूनीकरणका लागि विज्ञ टोलीले केही महत्वपूर्ण प्राविधिक सिफारिसहरू समेत गरेको छ ।
सालको वनमा भदौ–असोजतिरै रुखका हाँगाबिँगा काँटछाँट गर्ने र जंगल सफा राख्ने, माटोमा लुकेर बसेका किराका अवशेषहरू नष्ट गर्न निश्चित क्षेत्र निर्धारण गरी ‘नियन्त्रित आगो’ लगाएर अनुसन्धान गर्ने विधिलाई पनि विकल्पको रूपमा अघि सारिएको छ ।
त्यस्तै फागुन–चैततिर तापक्रम बढ्न थालेपछि यी किराहरू पुनः सक्रिय हुन सक्ने भएकाले वयस्क पुतलीहरूलाई आकर्षित गरी नष्ट गर्न जंगलमा ‘लाइट ट्याप’ (बत्तीको पासो) प्रयोग गर्न विज्ञहरूले सुझाएका छन् । डिभिजन वन कार्यालयहरूलाई लाइट ट्याप विधिको प्रयोग र समुदायलाई पूर्वसूचना दिने संयन्त्र तयार गर्न विज्ञहरूले आग्रह गरेका छन् ।
सालका पातमा क्षति पु¥याउने किरा पुतली प्रजातिको लार्भा, अर्थात् झुसिलकिरा भएको त्रिभुवन विश्वविद्यालयका प्राडा प्रेम बुढा बताउँछन् । ‘सालको पात खाने किराहरू ३–४ सय प्रजातिका हुन्छन्, तर यसरी सघन प्रकोप ल्याउने १–२ प्रजाति मात्रै हुन्,’ उनले भने । प्रा. बुढाका अनुसार किराले फेरेका काँचुली अवशेष र प्युपाका खोलहरू प्रशस्त देखिन्छन्, तर कुन प्रजाति हो भन्ने निश्चित भइसकेको छैन ।
फागुनदेखि चैत–वैशाख (मार्च–अप्रिल) तिर वयस्क पुतलीहरू निस्कन्छन् र सालको पातमा अन्डा पार्छन् । त्यहाँबाट निस्किएका लार्भाले ५–६ पटक काँचुली फेर्दै पात खान थाल्छन् । पछि ती प्युपा बन्छन् र वयस्क भएर उड्छन् । प्रा. बुढाका अनुसार पानी परेमा प्युपाबाट वयस्क निस्कने अवस्था हुन्छ, र यसरी कुन प्रजाति बढी क्षति पु¥याउँछ भन्ने पत्ता लाग्ने सम्भावना हुन्छ ।
यस्तो प्रकोप एकल प्रजातिको वन हुँदा जोखिम बढी हुने र जलवायु परिवर्तनले पनि प्रकोप बढाउन सहयोग गरेको वनस्पतिविद् डा. लीलानाथ शर्मा बताउँछन् । ‘यस्तो समस्या एकल प्रजातिको वनमा जोखिम बढी हुन्छ,’ उनले भने, ‘मिश्रित प्रजातिको सम्मिश्रण कम हुन्छ ।’
वनस्पतिविद् डा. लीलानाथ शर्माका अनुसार यस्तो प्रकारको प्रकोप एकल प्रजातिको वनमा बढी देखिन्छ । ‘एकल प्रजातिको वन हुँदा जोखिम उच्च हुन्छ, किनकि एउटै प्रजातिमा कीरा फैलिन सजिलो हुन्छ,’ उनले भने ।
उनले जलवायु परिवर्तनले पनि प्रकोप बढाउन सहयोग गरेको उल्लेख गरे । ‘तापक्रम वृद्धि र खडेरीजस्ता कारणले कीराको प्रजनन दर बढ्न सक्छ,’ शर्मा भन्छन्, ‘तर मिश्रित प्रजातिको वनमा भने यस्तो प्रकोपको असर तुलनात्मक रूपमा कम हुन्छ, किनकि जैविक विविधताले सन्तुलन कायम गर्छ ।’
तापक्रम वृद्धि निरन्तर रहँदा वन क्षेत्रमा कीराको प्रकोप, कृषि उत्पादनमा गिरावट, पानीको स्रोत सुक्ने समस्या र जनस्वास्थ्यमा असर पर्न सक्ने विज्ञहरू बताउँछन् ।
The post दैलेखका सालवनमा झुसिलकिराको प्रकोप : संकटमा पर्यावरण, कृषि र पशुपालन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....