npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

काठमाडौँमा डल्बी एटमस ध्वनि मिश्रण प्रशिक्षण

राजधानी समाचारदाता 8 hours ago

काठमाडौं । नेपालमा एकपछि अर्को गर्दै मल्टिप्लेक्स चलचित्र घरहरू स्थापना भएसँगै यस्ता चलचित्र घरहरूमा अत्याधुनिक तथा अन्तर्राष्ट्रिय स्तरको डल्बी एटमस ध्वनि प्रणाली जडान गर्ने क्रम बढिएको छ । तर नेपाली चलचित्रमा डल्बी एटमस ध्वनि मिश्रणको अभावले चलचित्र घरमा यो प्रणालीको ध्वनि सही तरिकाले सुन्न पाइएको थिएन ।

यही समस्यालाई मध्यनजर राख्दै डल्बी एटमस ध्वनि मिश्रण तालिम सुरु गरिएको छ । चलचित्र विकास बोर्डको सहयोग एवम् सहकार्य र म्युजिक नेपालको आयोजनामा यो प्रशिक्षण बधुबारबाट काठमाडौँमा सुरु भएको हो । भिजुअल सोसाइटी अफ नेपालले प्रशिक्षणको व्यवस्थापन गरिरहेको छ । यो प्रशिक्षणमा एक दर्जन साउन्ड इन्जिनियरहरू सहभागी छन् ।

नेपाली चलचित्र क्षेत्रमा कार्यरत साउन्ड मिक्सिङ प्राविधिकहरूका लागि बुधवारबाट म्युजिक नेपालद्वारा स्थापना गरिएको डल्बी अडियो साउन्ड मिक्सिङ स्टुडियो ‘सगरमाथा’ मा यो प्रशिक्षण सुरु गरिएको आयोजक पक्षले जनायो । तालिम सञ्चालनका लागि भारतीय चलचित्र उद्योगका चर्चित तथा डल्बीबाट मान्यता प्राप्त साउन्ड इन्जिनियर भरत रेड्डी नेपाल आएका छन् ।

‘थ्री इडियट्स’, ‘सैयारा’, ‘पुष्पा’, ‘सितारे जमिन पर’, ‘थामा’, ‘धुरन्धर’ जस्ता थुप्रै सफल भारतीय चलचित्रमा साउन्ड मिक्सिङ इन्जिनियरका रूपमा भरत रेड्डीले काम गरिसकेका छन् । उनी डल्बीबाट मान्यता प्राप्त प्रशिक्षक भएकाले प्रशिक्षणमा ल्याइएको पनि कार्यक्रममा जानकारी गराइयो ।

बुधवार दिउँसो यो तालिम सुरु हुनुअघि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र बोर्ड सदस्य वीरेन्द्रप्रसाद भट्टले भारतीय प्राविधिक रेड्डीलाई कार्यक्रममा स्वागत गरेका थिए । सो अवसरमा अध्यक्ष डिसीले सहभागी प्राविधिकहरूलाई सक्रिय रूपमा ज्ञान आर्जन गर्न शुभकामना दिँदै यो तालिमले नेपाली चलचित्रको प्राविधिक गुणस्तरलाई विश्व स्तरमा पु¥याउने विश्वास व्यक्त गरे ।

डल्बीबाट मान्यता प्राप्त म्युजिक नेपालको यो स्टुडियो दक्षिण एसियामा रहेका सीमित १० वटा स्टुडियोमध्ये एक भएकोले त्यहाँ यो प्रशिक्षण थालिएको आयोजक पक्षले जनाएको छ । नेपालकै पहिलो डल्बी एटमस साउन्ड मिक्सिङ स्टुडियोले अब नेपाली चलचित्र तथा गीत संगीतका मिश्रणमा गुणस्तर ल्याउने विश्वास कार्यक्रममा व्यक्त गरियो । यो प्रशिक्षण सुरु भएको स्टुडियोलाई औपचारिक उद्घाटन भने दुई दिन पछि गरिने पनि कार्यक्रममा जानकारी गराइयो ।

The post काठमाडौँमा डल्बी एटमस ध्वनि मिश्रण प्रशिक्षण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category