npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

सुरक्षा सक्रियताले ढुक्क छन् दोलखाका मतदाता

न्युज अफ नेपाल 9 hours ago

दोलखा। 

सरकारको निर्णय अनुसार निर्वाचन सुरक्षाको लागि सेनाले सक्रियता बढाएपछि दोलखाका केही संवेदनशील मतदान स्थलका मतदाताहरु स्वतन्त्रतापूर्वक मतदान गर्नपाउने विश्वासका साथ उत्साहित बनेका छन् । 

विगतका केही निर्वाचनमा मतदान गर्नबाट वञ्चित दोलखाका एक जना मतदाताले सेनाको कमाण्डमा सुरक्षाकर्मीहरुको सक्रियताले यो पटक स्वतन्त्रतापुर्वक मतदान गर्न पाउने कुरामा विश्वस्त रहेको बताए । 

दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखा जिल्लामा मतदान स्थल ९५ वटा र मतदान केन्द्र दुई सय सात वटा रहेका छन् । सुरक्षाको हिसाबले ९५ मतदान स्थलमध्य ५२ वटा मतदान स्थल अतिसंवेदनशिल, २८ वटा मतदान स्थल संवेदनशिल र १५ वटा मतदान स्थल सामान्य भनि बर्गिकरण गरिएको छ । 

नेपाली सेनाको कमाण्डमा निर्वाचन सुरक्षाको लागि परिचालित सुरक्षाकर्मीले अहिले दोलखा सदरमुकाम चरिकोट लगायत बजार क्षेत्र र ग्रामीण क्षेत्रहरुमा समेत मोवाईल चेकीङ, पट्रोलिङ, स्थानीय नागरिकसंग निर्वाचन सुरक्षाको विषयमा अन्र्तक्रिया, माईकिङ लगायतका गतिविधिहरु गरिरहेको छ । 

हरेक निर्वाचनमा कुनै न कुनै मतदान स्थलमा बुथ कब्जा हुने आरोप खेप्दै आएको दोलखा जिल्लामा यो पटकको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न गर्न सरकारले विशेष प्राथामिकता दिएकोले सोहि अनुसार सुरक्षा गतिविधि बढाएको देखिन्छ ।

यो पटक हरेक मतदान स्थलमा मतदाताहरुले स्वतन्त्र तथा शान्तिपूर्ण ढङ्गले मतदान गर्न सक्ने दोलखामा मतदान सुरक्षाको कमाड समालेका नेपाली सेनाको गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवाल बताउँछन् । 

दोलखामा शान्तिपूर्ण ढङ्गले मतदान गर्ने वातावरण बनाउन र मतदाताहरुलाई विश्वस्त तुल्याउन नेपाली सेनाले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसंग समेत समन्वय र सहकार्य गर्दै दिन– रात नै मोवाईल चेकिङ, पट्रोलिङ, मतदाताहरुसंग अन्तृक्रिया, माईकिङ, मतदान स्थलहरुको अनुगमन, बिभिन्न ठाउँमा पोष्ट निर्माण लगायतका काम गरेको कर्णेल लोक सागर कटुवालको भनाई छ । 

निर्वाचन सुरक्षाको लागि दोलखा जिल्लामा नेपाली सेना एक हजार, नेपाल प्रहरी छ सय ३३, सशस्त्र प्रहरी एक सय ४६ र निर्वाचन प्रहरी एक हजार तीन सय ५० जना गरी तीन हजार एक सय २९ जना सुरक्षाकर्मी परिचालन गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । 

दोलखामा महिला ८३ हजार एक सय ६० र पुरुष ८७ हजार एक सय ६१ गरी एक लाख ७० हजार तीन सय २१ मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।

Read more news from News of Nepal

Explore by Source or Category