जंगी अड्डामा प्रधानमन्त्री कार्की, चुनावमा एक थोपा रगत नबगाउन निर्देशन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेपाली सेनाको मुख्यालय जंगी अड्डा पुगेकी छन् । शुक्रबार दिउँसो जंगी अड्डाको निरीक्षण भ्रमण गरी उनले निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन् । नेपाली सेनाले प्रधानमन्त्रीलाई हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो। साथै, निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको थियो।
प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराई फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन सम्पन गर्ने राष्ट्रिय अभिभारा रहेको बताउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनालाई प्राप्त जिम्मेवारी सफलतापूर्वक पूरा गरने विश्वास व्यक्त गरिन् । निर्वाचनका सन्दर्भमा उनले सेनालाई विशेष निर्देशन दिएकी थिइन् । उनले जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिइन् ।
‘मैले यसअघि पनि भन्दै आएको छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एकजना पनि घाइते हुनुहुँदैन। यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरुसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न म निर्देशन दिन्छु,’ प्रधानमन्त्रीले भनिन् ।
जेनजी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तया नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गरी स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि कुनै कसर बाँकी नराखी खट्न उनको निर्देशन थियो । कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देललगायतको उपस्थिति थियो।