npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

​ग्राण्डीको अध्यक्षमा इन्जिनियर कुँवर चौथो कार्यकालका लागि निर्वाचित 

न्युज अफ नेपाल 15 hours ago

काठमाडौँ ।

 ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सञ्चालक समितिको अध्यक्षमा इन्जिनियर दीपक कुँवर चौथो कार्यकालका लागि निर्वाचित भएका छन् । 

ग्राण्डीको बिहिबार सम्पन्न १४ औँ वार्षिक साधारणसभाबाट इन्जिनियर कुँवर चार वर्षका लागि निर्वाचित भएका हुन्  । उनले स्थापनाकालदेखि नै ग्राण्डीको अध्यक्ष भई कुशल नेतृत्व गरिरहेका छन् । 

चौथो कार्यकालका लागि निर्वाचित भएपश्चात् अध्यक्ष कुँवरले अस्पताललाई विश्वस्तरिय उपचारको गन्तव्यका रुपमा स्थापित गर्ने, अस्पतालको आर्थिक भार कम गरी शेयर सदस्यको लगानी र मुनाफा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे । 

स्थापनाकालदेखि विभिन्न अवरोधका बाबजुद पनि इन्जिनियर कुँवरको कुशल नेतृत्वमा सञ्चालित ग्राण्डीले यसै आर्थिक वर्षभित्र संस्थागत ऋणमुक्त हुने र शेयर सदस्यलाई मुनाफा वितरण गर्ने बाटोमा अगाडि बढेको छ । 

निजी क्षेत्रबाट सञ्चालित अन्य अस्पतालहरुको अवस्था राम्रो नभइरहेको बेला व्यवस्थापनमा अब्बल क्षमता राख्ने इन्जिनियर कुँवरले नेतृत्व गरेको अन्य संस्थाजस्तै ग्राण्डीलाई पनि एक नम्बरको अस्पतालका रुपमा विकास गरेका हुन् । 

साधारणसभाबाट अस्पताल सञ्चालक समितिको सदस्यमा इन्जिनियर विजय राजभण्डारी, डा सुनिलराम वैद्य, सुरुची ज्योति, फुर्पा दोर्जे लामा र निता शाही निर्वाचित हुनुभएको निर्वाचन अधिकृत डा अवतार न्यौपानेले जानकारी दिए । 

नेपालमै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०६९ मा टोखा नगरपालिका वडा न ८ धापासीमा स्थापना भएको ग्राण्डीले २०० शय्यामार्फत बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । 

२८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालमा झन्डै एक हजार डाक्टर, नर्स तथा कर्मचारी कार्यरत छन् ।

Read more news from News of Nepal

Explore by Source or Category