नेपालीपोष्ट
राजेन्द्र भण्डारी : व्यक्ति एक व्यक्तित्व अनेक

- जन्म र बाल्यकाल
राजेन्द्र भण्डारीको जन्म गहिरी गाउँ, बम बस्ती, कालिम्पोङमा २८ सितम्बर, १९५६-मा भएको हो| उनका पिताको नाम स्व. भगीरथ भण्डारी र आमा स्व. सावित्री भण्डारी हो| घरको धार्मिक र आध्यात्मिक परिवेशमा उनी हुर्किए| उनका पिताजी स्वयं एकजना कुशल साहित्य मर्मज्ञ, कवि, आध्यात्मिक र धर्म चिन्तक थिए| उनले घरमा गाउँ-बस्तीमा गरिने सामान्य कामहरू जस्तै गाई बाख्रालाई घाँस काट्नु, दाउरा काट्नु, धान र मकै रोप्नु, सब्जी उपार्जन गर्नु आदि गरिआएका हुन्| उनलाई माटोको गन्ध थाहा छ, पानी-झरी, जाडो-गर्मी सबै झेलेका हुन्| बाल्यकाल प्रायः गरीबी र शारीरिक श्रम गरेर नै बितेको भए तापनि विद्या हासिल गर्न भने घरका छोरा-छोरी पछि हटेका थिएनन्|
- शिक्षा–दीक्षा
उनले शिशु श्रेणीदेखि स्थानीय गणेश प्राथमिक पाठशाला र गणेश निम्न माध्यमिक विद्यालयमा आठौँ श्रेणीसम्म पढ़ेपछि कुमुदिनी विद्याश्रममा नवौँ, दशौँ र एघारौँ अध्ययन गरेपछि उतिबेलाको हायर सेकेण्डरी उतीर्ण गरेका हुन्| (उतिबेला माध्यमिक परीक्षा प्रणाली थिएन) त्यसपछि कालिम्पोङ महाविद्यालयबाट स्नातकसम्म अध्ययन गरेपछि उत्तरबङ्गाल विश्वविद्यालयबाट स्नातकोत्तर सन् १९८१-मा उत्तीर्ण गरेका हुन्| त्यसपछि आफ्नो अध्ययनलाई बढ़ाएर सन् २००२-मा विद्यावारिधि हासिल गरेका हुन्| उनी साहित्यका गहन अध्येता हुन्| अहिले पनि साहित्य अध्ययन र लेखनमा सक्रिय छन्|
- नोकरी
राजेन्द्र भण्डारीले आफ्नो जीवनको पहिलो नोकरी सन् १९७५-मा खाद्य आपूर्ति विभाग, गान्तोकमा लगभग एकवर्ष जति गरेका हुन्| त्यसपछि सन् १९७६-को नोभेम्बरदेखि स्टेट ब्याङ्क अफ् सिक्किममा कनिष्ठ अधिकारी भएर सन् १९८३-सम्म नोकरी गरेका हुन्| त्यसपछि सन् १९८४-को अगस्टदेखि १९८६-को अगस्टसम्म जम्मा दुई वर्ष जति सोरेङ उच्चतर माध्यमिक विद्यालयमा शिक्षण कार्य गरेका हुन्| त्यसपछि १९८६-को सितम्बरदेखि भने उनले सिक्किम सरकारी महाविद्यालय, तादोङमा प्राध्यापनको सेवा पुर्याएका हुन्| यसै महाविद्यालयबाट २०१६-मा सेवानिवृत्त भएका हुन्|
- रुचि
कविता लेख्नबाहेक भण्डारीको किताब पढ्नमा अत्यन्त रुचि देखिन्छ| उनले समसमायिक हिन्दी, अङ्ग्रेजी र नेपाली साहित्य अध्ययन गर्दछन्| यसकारण समसामयिक साहित्यसित उनी लगभग परिचित छन्| विश्व साहित्य कता जाँदैछ? कुन-कुन मार्गतिर जाँदैछ? कस्तो प्रवृत्ति चल्दैछ? प्रायः धेरथोर जानकारी राखेका हुन्छन्| उनको नेपाली, हिन्दी, बङ्गला र युरोपका अन्य साहित्यका कविहरूसित पनि आफ्नो दँवले सुसम्बन्ध र सम्पर्क रहेको पाइन्छ| उनका युरोपलगायत विदेशी र भारतका हिन्दी, मराठी, बङ्ग्ला आदि भाषाका कविहरूसँग मित्रता र सुसम्पर्क रहेको थाहा पाइन्छ| उनीहरूसँग भण्डारीको सामाजिक सञ्जाल ई-मेल आदिमा साहित्यिक चर्या, परिचर्चा, अनुवाद विमर्श आदि चलिरहन्छ|
उनी सुगम सङ्गीतका गम्भीर श्रोता र पारखी हुन्| नारायण गोपाल उनका प्रिय गायक| उनी नारायण गोपालकै गीत गुनगुनाउँछन्, एकाग्र भई सुन्छन्| उनको एउटा कवितामा नारायण गोपालप्रतिको उद्गार पनि अभिव्यक्त भएको पाइन्छ| अन्य गायकका गीत पनि उनी सुन्ने गर्छन्| गीत सुन्नु र गीतको शाब्दिक रचनाको खोजी-चर्चा गर्नु पनि उनको रुचिकर विषय हो|
- आदर्श शिक्षक
राजेन्द्र भण्डारी एक इमानदार, कर्तव्यपरायण र आदर्श शिक्षक हुन्| उनका निम्ति आफ्ना विद्यार्थीहरू छोराछोरीसरह हुन्| विद्यार्थीहरूका निम्ति पनि प्रिय गुरुबा| शिक्षण पेशाको लामो अवधिमा उनले धेरै विद्यार्थी कमाए, धेरैलाई मार्ग निर्देशन गरे| छोरीछोरीसरह विद्यार्थीको उज्जवल भविष्यका निम्ति कम्मर कसे| अहिले उनका विद्यार्थी सिक्किमभरि टुङ्गा टुङ्गामा प्रायः ठुल्ठुला ओहोदामा पुगेका छन्| उनीहरू अधिकांश पुष्पित पल्लवित छन्| उनका विद्यार्थीहरू मुख्यमन्त्रीदेखि लिएर मन्त्री, निर्देशक, उच्च पदस्थ अधिकारी, प्राध्यापक सबै प्रकारका छन्|
- विदेश यात्रा
भारतीय नेपाली थोरै कविहरूमा राजेन्द्र भण्डारी भने युरोपतिर गएर आफ्ना कविता सुनाएका वा कविगोष्ठीहरूमा सहभागी हुनपाएका हुन्| उनले २०१६-मा जर्मनीको वर्लिनमा आयोजित १७ औँ अन्तर्राष्ट्रिय कविता महोत्सवमा आफ्नो कविता वाचन गर्ने अवसर पाएका हुन्| यस महोत्सवमा ९० वटा भन्दा बढ़ी देशका कविहरूको सहभागिता थियो| त्यसैगरी २०१७-मा सिरियाइ शरणार्थीहरूको समर्थन र ऐक्यबद्धताका लागि इटलीको रोममा आयोजित अन्तर्राष्ट्रिय कविता गोष्ठीमा पनि आफ्नो कविता सुनाउने अवसर पाएका हुन्| यस गोष्ठीमा ६० भन्दा बढ़ी देशका कविहरूको सहभागिता थियो|
- मान सम्मान र पुरस्कार
राजेन्द्र भण्डारीले साहित्यमा विशिष्ट सेवा पुर्याएवापत धेरै ठाउँबाट सम्मानित, अभ्यर्थित र पुरस्कृत भएका छन्| यिनले हासिल गरेका पुरस्कारहरूमा दियालो पुरस्कार, दार्जिलिङ (१९८१), डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कार, (१९९९), शिवकुमार राई स्मति पुरस्कार (२०००), गुमानसिंह चामलिङ स्मृति पुरस्कार, विजनबारी (२००७), भाइचन्द प्रधान स्मृति पुरस्कार, कालेबुङ (२००८), नेपाली साहित्य परिषद् गान्तोकको भानु पुरस्कार (२००९), विश्व नेपाली स्रष्टा सम्मान (२०१४), सिक्किम राज्य साहित्यश्री सम्मान, गान्तोक (२०१४), गोर्खा प्रतिभा पुरस्कार, सिलगढी (२०१४), नेपाली साहित्य अध्ययन समिति, कालेबुङको पारसमणि प्रधान पुरस्कार (२०१४), भारतीय नेपाली शिखर सम्मान गान्तोक (२०१७) र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको पक्षबाट प्रदान गरिने अगमसिंह गिरी पुरस्कार (२०१९) आदि हासिल गरेका हुन्| उनी विभिन्न संस्थानहरूबाट पनि सम्मानित भएका छन्|
८. साहित्यिक व्यक्तित्वका रूपमा
राजेन्द्र भण्डारीका साहित्यिक व्यक्तित्वमा एक सिद्धहस्त कवि, एक दक्ष समालोचक, एक कुशल सम्पादक, एक सफल अनुवादक र एक कविता मर्मज्ञ हुन्| उनका साहित्यिक व्यक्तित्वका अलग अलग पाटालाई अध्ययन गरेर हेर्न सकिन्छ|
८.१. कविका रूपमा राजेन्द्र भण्डारी
राजेन्द्र भण्डारी मूलतः कवि हुन्| उनको कवित्वको स्फुरण कलिलै उमरदेखि भएको हो| घरको परिवेश नै साहित्य सिर्जनका निम्ति अनुकूल थियो| उनका पिताजी स्व. भगीरथ भण्डारी एक कुशल कवि थिए| उनको पनि छन्दोबद्ध कविता सङ्ग्रह ‘शब्दाञ्जलि’ र श्रीमद्भागवत गीतालाई झ्याउरे छन्दमा रचेका लोकगीतामा प्रकाशन गरेका छन्| उनका दाजुहरू पनि साहित्य अध्येता हुन्| यिनको माल्दाजु देव भण्डारी कुशल कथाकार, उपन्यासकार र कवि हुन्| घरमा धार्मिक र साहित्यिक पुस्तक आदि हुन्थे| घरमा प्रायः दैनिक रूपमा अभिभावकहरूको आध्यात्मिक र साहित्यिक चर्चा र गफ हुनेगर्थ्यो| यसैबाट उनमा कवित्वको बीज रोपिएको हुनसक्छ| सर्वप्रथम सन् १९७५-मा पहिलोचोटि कविता ‘पूर्व पश्चिम’ मधुपर्क पत्रिकामा प्रकाशित भएको थियो| सन् १९७९-मा प्रथम कविता सङ्ग्रह प्रकाशन शुरु भएर अहिलेसम्म पनि कविता लेखन प्रकाशन जारी छन्| ‘हिउँदे यी चिसा रातका पर्दाहरूमा’ (१९७९), ‘यी शब्दहरू यी हरफहरू’ (१९८६), ‘क्षर अक्षर’ (१९९८), ‘शब्दहरूको पुनर्वास’ (२०१०), ‘प्वाँखहरू र आकाश’ (चयनित कविता सङ्ग्रह, (२०११) ‘इतिहासको बाडुली’ (२०१९) गरी हालसम्म उनका छःवटा मूल कविता सङ्ग्रह र एउटा चयनित कविता सङ्ग्रह प्रकाशित भएका छन्| सङ्ग्रहबाहेक पनि उनका कविता प्रशस्त मात्रामा प्रकाशित छन्|
८.२. समालोचकका रूपमा राजेन्द्र भण्डारी –
राजेन्द्र भण्डारी एक विशिष्ट कवि साथै एक दक्ष समालोचक पनि हुन्| उनले सिक्किमेली कथा परम्परामाथि विद्यावारिधि सम्पन्न गरेका हुन्| उनले १९८५-देखि नै समालोचनामा कलम चलाएका छन्| उनको प्रकाशित समालोचनाको पुस्तकमा ‘लीला लेखन’ (सहलेखन), सिक्किमका नेपाली कथाको अध्ययन (२०२२) देखिन्छन्| उनले प्रतिमान नामक समालोचना सङ्ग्रहको कुशल ग्रन्थको सम्पादन गरेका छन्| यसको सम्पादकीयमा नै उनको समालोचनात्मक सिर्जना झल्किन्छ| उनका अनेकौँ लेखादि जर्नल, पत्रिका र पुस्तकतिर धेरै समालोचनाका लेखादि प्रकाशित छन्| उनका केही उल्लेखनीय समीक्षात्मक लेखहरूमा खलील जिब्रान व्यक्ति अनि कृतित्व, जापानी हाइकु परम्परा र महाकवि वाशो, कवि वीरेन्द्र सुब्बा कवितायात्रा, भारतीय नेपाली कथा एक सर्वेक्षण, पारसमणि प्रधान उहिलेदेखि अहिलेसम्म, नेपाली समालोचना प्रवृत्ति अनि सम्भावना र भविष्य, नोर्जाङ स्याङ्देनका कविताहरू एउटा चिनारी, भारतीय नेपाली कथा अभिप्राप्ति र सीमा आदि रहेका छन्| सिक्किमका नेपाली कथाको अध्ययन ग्रन्थमा सिक्किमेली कथाको परम्परा र प्रवृत्तिको सर्वेक्षणका क्रममा स्वच्छन्दतावाद, सामाजिक यथार्थवाद, मनोविश्लेषात्मकता यथार्थवाद, समाजवादी यथार्थवाद, अस्तित्ववाद आदिको सैद्धान्तिक पक्षमाथि पनि गम्भीर अध्ययन गरिएको पाइन्छ भने यी प्रवृत्तिका आधारमा सिक्किमली कथाहरूको अध्ययन गरिएको छ| शोधग्रन्थका रूपमा रहेको यस पुस्तकले सिक्किमेली कथाहरूको लेखाजोखा गरेको छ| उनको अङ्ग्रेजीमा पनि समीक्षा प्रकाशित भएको देखिन्छ| उनले विशेषगरी नेपाली कथालगायत कविताको सैद्धान्तिक, विवेचनात्मक र व्यवाहारिक समालोचना लेखेका छन्| यिनी विश्व साहित्यका गहन अध्येता हुनाले यिनका समालोचना विश्वसाहित्य प्रसङ्गको नयाँ साहित्य सिद्धान्तका आधारमा कृति समीक्षा गरिएको पाइन्छ| उनी साहित्यका गहन अध्येता हुनाले उनको समीक्षामा कृतिभित्रका विविध पक्षलाई अन्वेषण गरिएको हुन्छ| विषयगत गहिराइ, सूक्ष्म विश्लेषण, अन्वेषणात्मकता प्राज्ञिकता आदि उनका समालोचकीय विशेषता हुन्|
उनको पछिल्लो समालोचनात्मक पुस्तक सृजन सन्दर्भ (२०२४) एक महत्त्वपूर्ण ग्रन्थ हो| यसलाई नेपाली समालोचनोको एउटा कोसेढुङ्गा मान्न सकिन्छ| नेपाली समालोचनामा एउटा गम्भीर अध्ययन गरिएको वैचारिक सैद्धान्तिक र सिर्जनात्मक समालोचनामा यसलाई मान्न सकिन्छ| यसभित्र रहेका लेखहरू हुन्- ‘जेन माटो हाइकु फूल’, ‘विम्ब अनि नेपाली कविताको सन्दर्भ’, ‘संस्कृति सभ्यता र बदलिँदो विश्व परिवेश’, ‘साहित्य र पर्यावरण’, ‘वर्लिनमा नेपाली कविता, रोम सिरियाइ शरणार्थी कविता’, ‘घनश्याम नेपालको आख्यानका कुराबारे केही कुरा’, ‘भारतमा नेपाली भाषाको विकास एउटा कैरन’, ‘नोर्ज्याङ स्याङदेनका कविताहरू’, ‘समीरण छेत्री प्रियदर्शीका कथामा मृत्यु चिन्तन’| यी दशवटा लेखहरूमा उनी एक गम्भीर चिन्तक, अन्वेषक, तत्वमीमांसक बनेका छन्| यसमा रहेको जेन माटो हाइकु फील भन्ने लेखमा जापानी जेन दर्शनको नालीबेली केलाएर हाइकु कविताको विशेषता, मूल मर्म आदिबारे चर्चा गरेका छन्| अर्को लेखमा कवितामा विम्बको प्रयोग विस्तार, नेपाली कवितामा विम्ब प्रयोगबारे मीमांसा गरेका छन्| साहित्य र पर्यावरणमा अहिलेको पर्यावरणीय समस्यासित साहित्यको सम्बन्ध, त्यसबारे चिन्ता आदिबारे आफ्नो धारण व्यक्त गरेका छन्| उनको काव्यचिन्तन वैश्विक छ| उनी कवितामा सिरियाको शरणार्थी समस्या, पर्यावरण समस्या संस्कृति आदिमा गम्भीर देखिन्छन्|
८.३. सम्पादकका रूपमा
राजेन्द्र भण्डारी एक कुशल सम्पादक हुन्| उनले सम्पादन गरेको दृष्टिकोण (१९८८) एकै अङ्क भए पनि स्तरीय पत्रिका डा. घनश्याम नेपालसित मिलेर सम्पादन गरेका हुन्| यस पत्रिकामा धेरै गहकिला लेखादि समावेश छन्| यसैगरी उनले प्रतिमान (१९८६)-मा आत्म वाइबासित मिलेर सम्पादन गरेका छन्| यस समालोचनाप्रधान पुस्तकमा पनि प्रायः सबै लेख उच्चस्तरीय छन्| नेपाली साहित्य इतिहासमा यस पुस्तकको महत्त्वपूर्ण स्थान छ| उनी सम्पादन गर्दा लेखको भाव, शिल्प, भाषा आदिमा सचेत छन्| लेखको मूल्यवत्ता अनुसार पत्रिकालाई स्तरीय बनाएका छन्|
८.४. अनुवादकका रूपमा
राजेन्द्र भण्डारी एक कुशल अनुवादक पनि हुन्| उनी अङ्ग्रेजी भाषाका राम्रा ज्ञाता हुन्| उनले आफ्ना लगायत अरूका पनि केही कविता नेपालीबाट अङ्ग्रेजीमा र अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गरेका छन्| कविताको मर्मलाई यथावत राख्दै अनुवाद गर्नु भनेको कठिन कार्य हो| उनले अनुवाद गरेका केही कविता सिक्किमका पत्रिकाहरूमा प्रकाशित छन्|
८.५. अनुवादहरूमा राजेन्द्र भण्डारी
राजेन्द्र भण्डारीका केही कविताहरू अन्य भाषामा अनूदित छन्| उनका कविताहरू हिन्दी, अङ्ग्रेजी, बङ्ग्ला, उड़िया, असमीया, पञ्जाबी भाषामा अनूदित-प्रकाशित भएका छन्| उनका कविताको अङ्ग्रेजी अनुवाद साहित्य अकादमीको Contemporary Indian Literature नामक पत्रिकामा पनि प्रकाशित छन्| उनका सबैभन्दा बढ़ी कविता प्रा. पङ्कज थापाले अङ्ग्रजीमा अनुवाद गरेका छन्| हिन्दीमा बिर्ख खड्का डुवर्सेलीले अनुवाद गरेका छन्| अभय केले सम्पादन गरेको Great Indian Poem-मा उनको कविता ‘समय बित्दैन’-को अङ्ग्रेजी अनुवाद (अनुवादक श्री अनमोल प्रसाद) पनि समावेश गरिएको छ| यसमा हजार वर्षदेखि भारतीय कविहरूका लहरमा हाम्रा राजेन्द्र भण्डारीका कविताले पनि स्थान पाउनु भारतीय नेपाली साहित्यका निम्ति गर्वको कुरा हो| यसैगरी उनका अस्सीवटा प्रतिनिधि कविताहरूको सुवास दीपकद्वारा अनूदित हिन्दी अनुवाद पुस्तक छोटी छोटी खुशियाँ (२०२१) प्रकाशित भएको छ| यसमा जम्मा १९६ पृष्ठहरू रहेका छन् भने यसको प्रकाशक रश्मि प्रकाशन, लखनऊ रहेको छ| यसमा अनुवादकले भण्डारीका कवितालाई जतिसक्दो भाव र शिल्पनजिक लाने प्रयास गरेका छन्|
८.६. कविता विचरणमा राजेन्द्र भण्डारी
राजेन्द्र भण्डारीको कविता लेखनका विभिन्न कोणहरूबाट अध्ययन गरिएको पुस्तक प्रकाशित भएको छ कविता विचरण| यस समीक्षा सङ्कलनमा केही लेख पूर्व प्रकाशित पुस्तकहरूबाट साभार गरिएको छ भने केही नयाँ छन्| यसमा समावेश रहेका डा. अभि सुवेदी, डा. गोविन्दराज भट्टराई, अर्जुन प्रधान, जय क्याक्टस, सुधीर छेत्री, योगेश खाती, डा. देवचन्द सुब्बा, रत्नबहादुर रसाइली, निमा निची शेर्पा, छत्र तामाङ, डा. इन्दुप्रभा देवी, डा. इन्द्रबहादुर छेत्री, डा. बासुदेव पुलामी, महेश पौड्याल, छत्र तामाङका लेख यसै ग्रन्थका निम्ति लेखिएका हुन्| यसबाहेक डा. दिवाकर प्रधान, डा. गोपालप्रसाद भण्डारी, पेम्पा तामाङ, डा. गीता त्रिपाठी, डा. टेकबहादुर छेत्री, निमेश निखिल, नवीन पौड्याल, लेखनाथ भट्टराई, प्रकाश सायमी, डा. शोभा शर्मा आदिका लेख भने उहाँहरूका अन्यत्र प्रकाशित भएका पुस्तक वा पत्रिकाबाट साभार गरिएका छन्| यसमा सुवास दीपक र सुधीर छेत्रीसँगका एकेकवटा अन्तर्वार्ता समावेश छन्| यसैगरी यसमा अरून्धती सुब्रामण्यम, रोन पल सलुस्त्की, डा. शोभा शर्मा, एम. एम. गुरुङ, एन. डी. आर. चन्द्र – निगमानन्द दासका अङ्ग्रेजीमा लेखिएका मूल्याङ्कन लेखहरू पनि समावेश छन्| यसमा वरिष्ठ समालोचकदेखि लिएर कनिष्ठ समालोचकका लेखहरू पनि समावेश छन्| यसमा परम्परागत दृष्टिकोणदेखि लिएर नयाँ साहित्य सिद्धान्तका आधारमा समीक्षा गरिएको छ| यसमा डा. दिवाकर र प्रधान र पेम्पा तामाङका दुई दुईवटा लेख राखिएका छन् भने अन्यका एक-एकवटा लेख समाविष्ट छन्| यसमा अधिचेतना, विश्व चेतना, प्रतीक र विम्बविधान, भाव विस्तार, शिल्प-शैली, इतिहास चेतना, पर्यावरण चेतना, अन्तर्पाठ, बौद्ध दर्शन, संरचना, समय चेतना, प्रकृति चेतना आदि विभिन्न कोण-प्रतिकोणबाट अध्ययन गरिएको छ|
८.७. प्रतिनिधि कविताहरूको सङ्कलन
राजेन्द्र भण्डारीका विभिन्न कविता सङ्ग्रहबाट चयन गरेर एउटा प्रतिनिधि कविता सङ्ग्रह निमेश निखिलको सम्पादकत्वमा ‘प्वाँखहरू र आकाश’ (२०१०) प्रकाशित भएको छ| यसमा भण्डारीका मझौला र छोटा मुक्तक आदि गरी जम्मा एक सय नौवटा कविताहरू सङ्ग्रहित छन्| महेश पौड्यालले पनि उनका प्रतिनिधि कविताहरूको सङ्कलन प्रकाशित गर्नलागेका छन्| यसैगरी काठमाड़ौँबाट महेश पौड्यालको सम्पादकत्वमा पनि राजेन्द्र भण्डारीका प्रतिनिधि कविता प्रकाशित भएको छ| यसमा केही पुराना र असङ्कलित नयाँ कविताहरू पनि समावेश गरेका छन्|
- शोधनायकका रूपमा राजेन्द्र भण्डारी
नरबहादुर भण्डारी महाविद्यालयकी अङ्ग्रेजी प्राध्यापक डा. शोभा शर्माले राजन्द्र भण्डारी र जयन्त महापात्रको कवित्वका विभिन्न पक्षलाई लिएर तुलनात्मक रूपमा अध्ययन गरेर विद्यावारिधि हासिल गरेकी छन्| यसैगरी, हिन्दी विभागबाट पनि कसैले उनको कवित्वमाथि शोधकार्य गरिरहेको थाहा लागेको छ| स्नातकोत्तर र एमफिलका केही शोधपत्रमा पनि उनका काव्यत्वको अध्ययन गरिएका छन्|
१०. वेबसाइटहरूमा कवि भण्डारी ः कवि राजेन्द्र भण्डारीका कविता अब विभिन्न वेबसाइटहरूमा छाएका उनका कविताहरू विशेष www.poetryinternationalweb.com (रोटरड्याम) www.poemhunter.com, lyrikline.org.com (जर्मनी) उपलब्ध छन्|