npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

रास्वपा कर्णाली प्रदेशकी संस्थापक महामन्त्रीसहित दर्जनौं कांग्रेस प्रवेश

अनलाइन टीभी नेपाल 2 days ago

काठमाडौं – निर्वाचनको मुखमा रास्वपा छाड्नेको लर्को लागेको छ । रास्वपा छाड्ने अधिकांश नेपाली कांग्रेस प्रवेश गरेका छन् । देशभरि रास्वपाको ह्विम चलेको दाबी गरिए पनि सोही पार्टीका नेता कार्यकर्ताले पार्टी छाड्नुलाई सामान्य मानिएको छैन । रवि लामिछानेले बालेन्द्र साह बालेनलाई भित्र्याएपछि पार्टी छाड्नेको लहर चलेको हो ।

यसैक्रममा रास्वपा कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतसहित दर्जनौँ नेता(कार्यकर्ताहरू पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका छन्। आइतबार सुर्खेतमा आयोजित कार्यक्रममा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले उनीहरूलाई स्वागत गरेका हुन्।

यो प्रवेशलाई कर्णाली प्रदेशको राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ । रास्वपा स्थापनाकालदेखि सक्रिय रहेकी नेतृ बिकको बहिर्गमनले पार्टीको संगठनात्मक संरचनामा असर पार्ने अनुमान गरिएको छ । विशेषगरी कर्णालीजस्तो भौगोलिक र राजनीतिक रूपमा संवेदनशील प्रदेशमा संस्थापक तहका नेताहरूको बहिर्गमनले रास्वपाको आधार कमजोर हुन सक्ने विश्लेषण भइरहेको छ ।

जगत बस्नेत सुर्खेत जिल्लामा रास्वपाका सक्रिय र संगठन विस्तारमा योगदान पुर्याएका नेता मानिन्थे । उनको कांग्रेस प्रवेशले स्थानीय तहमा कांग्रेसको पकड थप मजबुत बन्ने आकलन गरिएको छ ।

कांग्रेसले यस घटनालाई आफ्नो संगठन विस्तार र प्रभाव वृद्धि गर्ने अवसरका रूपमा लिएको देखिन्छ । पछिल्लो समय विभिन्न दलबाट नेताहरूलाई भित्र्याउँदै आएको कांग्रेसले कर्णालीमा आफ्नो संरचना सुदृढ गर्ने रणनीति अघि सारेको संकेत दिएको छ । कार्यक्रममा उपसभापति शर्माले लोकतान्त्रिक मूल्य, समावेशिता र स्थायित्वका लागि कांग्रेस बलियो विकल्प भएको दावी गरे ।

कांग्रेसको दावीअनुसार बिक र बस्नेतसँगै रास्वपा परित्याग गरेका दर्जनौं नेता तथा कार्यकर्ताले पनि कांग्रेसमा प्रवेश गरेका छन् । यदि यो संख्या उल्लेखनीय भएमा कर्णाली प्रदेशमा रास्वपाको संगठनात्मक प्रभावमा गिरावट आउन सक्ने विश्लेषकहरूको भनाइ छ ।

यसअघि रास्वपा बागमती प्रदेशका पूर्वउपसभापति दिनेश हुमागाईं, नवलपरासी जिल्लाका रास्वपाका सभापति महेन्द्रसिंह ठकुरी, मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुली, काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाबाट प्रतिनिधिसभा निर्वाचनमा टिकटका आकांक्षी रहेका प्रणयशमशेर राणा कांग्रेस प्रवेश गरेका थिए ।

चुनावको मुखमा दल छाड्ने नेताहरूको गन्तव्य कांग्रेस बनेको छ । जेन–जी आन्दोलनपछि कांग्रेसले विशेष महाधिवेशन गरेर गगन थापालाई सभापति चुनेपछि आफूहरू कांग्रेसप्रति आकर्षित भएको उनीहरूको भनाइ छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार थापाले पार्टीको नेतृत्व सम्हालिसकेपछि झण्डै दश हजारभन्दा बढी सदस्यहरू थपिएका छन् । चालिसेका अनुसार रास्वपा, एमाले, जसपालगायत दलका एक सय भन्दा बढी केन्द्रीयस्तरका नेता कांग्रेसमा प्रवेश गरेका छन् ।

Read more news from Online Tv Nepal

Explore by Source or Category