विवेकशील साझा र रास्वपाको एकता मिलन पाण्डेले गरे बहिष्कार
काठमाडौं । विवेकशील साझा र रास्वपाबीचको एक्तामा मिलन पाण्डे सहभागी नहुने भएका छन् । उनले विवेकशील र रास्वपाको एकीकरणलाई शुभकामना दिँदै आफू आजबाट स्वतन्त्र भएको बताएका छन् ।
केही समय कुलिङ पिरियडमा बसेर नयाँ राजनीतिक यात्रा घोषणा गर्ने उनले बताएका छन् । पाण्डेले रास्वपासँग एकता गर्न चाहेका थिएनन् । तर समीक्षा बासकोटा र प्रकाशचन्द्र परियारका अगाडि उनको कुनै जोड चलेन । पाण्डेले फेरि विवेकशील पार्टी पुनर्गठन गर्ने बताइन्छ । पाण्डे विवेकशील पार्टी स्थापना गर्दादेखिकै नेता हुन् । उज्ज्वल थापा र मिलन पाण्डेलगायत मिलेर विवेकशील पार्टी खोलेका थिए ।
‘विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ। म यो एकीकरणमा सामेल छैन।
अब केही समय (केही दिन वा केही महिना) ‘कुलिङ पिरियड’ लिन्छु। त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछु।
आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ। ‘वेकशील पनि ‘स्वतन्त्र’ भयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
२०७० सालमा गठन भएको विवेकशील नेपाली र साझा पार्टीबिच एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ बनेको थियो। एकता अगाडि विवेकशीलका अध्यक्ष उज्वल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको संयुक्त नेतृत्व थियो। थापाको मृत्यु भइसकेको छ भने मिश्र राप्रपामा प्रवेश गरेका छन्। अहिले विवेकशील साझा पार्टीको अध्यक्ष समीक्षा बास्कोटा र महासचिव रञ्जु दर्शना छन्।