npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

एनआरएनए एकता सहमतिमा हस्ताक्षर

राजधानी समाचारदाता 18 hours ago

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएन) बीच आज एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा. बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । एनआरएनए पछिल्ला केही वर्षदेखि श्रेष्ठ र केसीको नेतृत्वमा क्रियाशील थिए । मुलुकमा फेरिएको परिस्थितिबीच दुवै संस्थाको नेतृत्व दश बुँदे सहमति गर्दै एकताबद्ध हुन तयार भएको हो ।

एकतापछि १७ अप्रिल २०२६ सम्ममा १२ औँ महाधिवेशन गर्ने सहमति जुटेको छ । केसी नेतृत्वको कार्यसमिति श्रेष्ठको नेतृत्वमा एकता महाधिवेशनमा जान तयार भएको छ । महाधिवेशनलाई पारदर्शी एवं विश्वासयोग्य बनाउन ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गर्ने, त्यस्तो कमिटीमा रहेका व्यक्ति १२औँ महाधिवेशनमा उम्मेदवार नहुनेजस्ता सहमति जुटेको छ ।

यसअघि विभिन्न समयमा एनआरएनको आधिकारिकता लगायतका विषयमा सबै पक्षले अदालतमा दायर गरेका मुद्दा फिर्ता लिने सहमति पनि भएको छ । १० बुँदे मूल सहमति परराष्ट्र मन्त्रालयका प्रतिनिधिको रोहवरमा हस्ताक्षर गरिएको छ । त्यसलाई परराष्ट्र मन्त्रालयमा अभिलेखित गर्ने सहमति पत्रमै उल्लेख छ ।

१० बुँदे सहमतिको कार्यान्वयन संघको विधान अनुसार गर्ने, कुनै विषयमा विवाद उत्पन्न भए परराष्ट्र मन्त्रालयसँगको समन्वय र सहमतिमा समाधान गर्ने तथा सहमतिका सबै बुँदाहरूलाई संघको आगामी १२औँ महाधिवेशनबाट अनुमोदन गराउने भनिएको छ ।

सहमतिको पहिलो बुँदामा २०२३ अक्टोबर १७-२० मा सम्पन्न एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा. बद्री केसीको नेतृत्वको कार्यसमितिलाई स्वीकार गर्ने तथा संघका पूर्वअध्यक्ष डा. शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिद्वारा २०२५ मे ३–४ मा आयोजित एकता महाधिवेशनबाट महेशकुमार श्रेष्ठको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई स्वीकार गर्ने उल्लेख छ ।

सहमतिको दोस्रो बुँदामा गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशन १७ अप्रिल २०२६ सम्ममा सम्पन्न गर्ने र त्यसका लागि महेशकुमार श्रेष्ठको नेतृत्वमा बनेको समितिको कार्यकाललाई पूर्ण कार्यकाल मानिने भनिएको छ ।

विभिन्न समयमा एनआरएनको नेतृत्व गरेका डा. बद्री केसी, कुल आचार्य, रबिना थापा, विनोद कुँवर र राजेन्द्रकुमार शर्माको अध्यक्षतामा गठित यसअघिका कार्यसमितिहरूलाई पूर्व कार्यसमितिको रूपमा अभिलेखीकरण गर्ने भनिएको छ ।

यस्तै, आगामी १२औँ महाधिवेशनका अवसरमा, ११औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका महासचिव र कोषाध्यक्षले आफ्नो प्रतिवेदन पेश गरी अनुमोदन गराउने, त्यसलाई ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा. बद्री केसीले एकताको महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेशकुमार श्रेष्ठलाई हस्तान्तरण गर्ने सहमति गरिएको छ ।

गैरआवासीय नेपाली संघका दुवै पक्षको आर्थिक पाटोलाई पारदर्शी एवं विश्वासिलो बनाउन स्वतन्त्र तृतीय पक्षबाट अडिट गराउने तथा १० बुँदे सहमति पत्रको कार्यान्वयन र १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन र निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षताको सुनिश्चितता गर्ने सहमति पत्रको अभिन्न अंग हुने गरी पूरक सहमति गरिने पनि उल्लेख छ ।

सहमति पत्रमा ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्य समितिका अध्यक्ष बद्री केसी र एकताको महाधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष महेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

The post एनआरएनए एकता सहमतिमा हस्ताक्षर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category