आज फागु पूर्णिमा पर्व मनाइँदै, खुला सडकमा भेला भएर होली मनाउन भने प्रतिबन्ध
काठमाडौं । आज रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमा मनाइँदै छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । सोही अवसरमा आज सार्वजनिक बिदा हुने गर्दछ । आज बैंक, बीमा कम्पनी, शेयर बजार तथा सरकारी कार्यालयहरु बन्द रहनेछन् ।
बसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा पर्व एक साताअघि काठमाडौको वसन्तपुरमा चीर ठड्याएपछि सुरु हुन्छ । रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर ठड्याएपछि सुरु हुने फागु पूर्णिमाको आज विशेष दिन हो ।
खासगरी पहाडी जिल्लाहरुमा आज उल्लासपूर्वक होली मनाइन्छ । आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । तर, यस पटक भने सार्वजनिक रुपमा होली नखेल्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै आफ्नो घर कम्पाउन्डमा मात्रै होली खेल्न आग्रह गरेको हो । यसअघिका वर्षहरूमा जिल्ला प्रशासन कार्यालयले ठमेल, दरबारमार्ग र वसन्तपुर लगायतका स्थानमा होलीको अवसरमा साङ्गीतिक कार्यक्रम गर्न अनुमति दिने गरेको थियो ।
यस वर्ष मञ्च बनाएर साङ्गीतिक कार्यक्रम गर्न तथा मादक पदार्थको सेवन र बिक्री वितरणमा पनि रोक लगाएको जनाएको छ । होली खेल्दा राजनीतिक दलको चुनाव चिन्ह र उम्मेदवारका तस्बिर अंकित भेष्ट, टिसर्ट, कमिज र गम्छा जस्ता कपडा प्रयोगमा समेत पूर्ण रूपमा प्रतिबन्ध लगाएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।
असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर पर्व मनाउने गरिएको धार्मिक मान्यता छ । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिन्छ ।