npl.977 Nepal News Stream

Pokhara News logo Pokhara News

कास्की प्रहरीले ‘अपरेसन ३६५’ सञ्चालनमा ल्यायो

पोखरा न्यूज 1 month ago

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, समाजमा आतङ्क सिर्जना गर्ने तथा शान्ति सुरक्षामा अवरोध पुर्‍याउने गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यका साथ ‘अपरेसन ३६५’ सञ्चालनमा ल्याएको जनाएको छ।

प्रहरीले जनाएअनुसार, पछिल्लो समय कास्कीमा मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाजमा सवारी चलाउने, ट्राफिक नियम उल्लङ्घन गर्ने, शान्ति सुरक्षा भंग हुने गतिविधि बढ्दै गएकाले यो अभियान सञ्चालन गरिएको हो।

यस अभियान अन्तर्गत स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने सवारीसाधन, चालक तथा स्वरूप परिवर्तन गर्न सघाउने वर्कसप संचालकलाई नियन्त्रणमा लिई कानूनी कारबाही गरिने बताइएको छ। प्रहरीका अनुसार, यस कदमबाट समाजमा सवारी साधन सञ्चालनमा अनुशासन कायम गर्न, दुर्घटना नियन्त्रणमा मद्दत पुर्‍याउन र सार्वजनिक शान्ति सुरक्षा सुदृढ गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

कास्की प्रहरीले सवारी चालकलाई स्वरूप परिवर्तन नगरी, सवारी साधनलाई मापदण्डअनुसार सञ्चालन गर्न अनुरोध गरेको छ। साथै, शान्ति सुरक्षा कायम राख्नका लागि प्रहरीलाई सहयोग गर्न पनि आग्रह गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरी बहादुर खड्काका अनुसार ‘अपरेसन ३६५’ निरन्तर रुपमा सञ्चालन हुनेछ र यस अभियानलाई थप  प्रभावकारी बनाइनेछ।

यसका लागी  प्रहरीले सहर तथा ग्रामीण क्षेत्र दुबैमा यस्ता गतिविधि रोक्न विशेष निगरानी बढाएको डीएसपी खड्काको भनाई छ । साथै, यस्ता अवैध रूपमा परिवर्तन गरिएका मोटरसाइकल देखेमा १००, १०३ वा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन नागरिकलाई अनुरोध समेत गरिएको उनले बताए ।

असोज २७ गते देखि सुरु गरेको अभियानका क्रममा कास्की प्रहरीले दर्जन बढीलाई नियन्त्रणमा लिएको छ ।

The post कास्की प्रहरीले ‘अपरेसन ३६५’ सञ्चालनमा ल्यायो appeared first on Pokhara News.

Read more news from Pokhara News

Explore by Source or Category