npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

प्रधानमन्त्री कार्कीले १५८ दिनमा गरिन् १० पटक मन्त्रिपरिषद् पुनर्गठन

राजधानी समाचारदाता 21 hours ago

काठमाडौं । राष्ट्रपतिबाट ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने लिखित म्याण्डेटसहित गठन भएको अन्तरिम चुनावी सरकार १ सय ५८ दिनको अन्तरालमा १० पटक पुनर्गठन भएको देखिएको छ । विगतमा दलहरूले बनाउने बहुमतको सरकार मन्त्री हेरफेर गर्ने र दलका सांसदलाई मन्त्री बनाउने ‘अखडा’ बनेको गम्भीर आरोप लाग्ने गरेकोमा अन्तरिम सरकार नै ६ महिना नपुग्दै १० पटक पुनर्गठन भएको हो ।

चुनाव नगराई चुनाव लड्न भागे चार मन्त्री

जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले गत २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै कार्कीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् । सिफारिसअनुसार राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गरेपछि कार्कीले मन्त्रिपरिषद्को बैठकमार्फत २१ फागुनका लागि निर्वाचन मिति घोषणा गरेकी थिइन्, जुन निर्वाचनका लागि मौन अवधि सुरु भइसकेको छ ।

निर्वाचन गर्ने म्याण्डेटसहित गठन भएको सरकारका ४ जना मन्त्री बीचैमा राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा उत्रिएपछि प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले गत ६ फागुनमा दसौ ंपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । निर्वाचनमा प्रतिस्पर्धा गर्ने भन्दै तत्कालीन मन्त्रीहरू जगदीश खरेल, महावीर पुन र बब्लु गुप्ताले राजीनामा दिएपछि कार्कीले ती मन्त्रालयको जिम्मा अन्य मन्त्रीलाई दिनका लागि मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् ।

उनीहरू तीनैजना चुनावी प्रतिस्पर्धा गर्ने भन्दै जिम्मेवारी छाडेर हिँडेका थिए । गत २४ पुसमा तत्कालीन ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिएपछि मन्त्रिपरिषद् हेरफेर भएको थियो । घिसिङ पनि हाल प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन् । प्रधानमन्त्री कार्कीले २० पुसमा पनि मन्त्रिपरिषद् हेरफेर गरेकी छिन् । सो दिन उनले श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हालेको खानेपानी मन्त्रालयको जिम्मेवारी कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियारलाई दिनेगरी मन्त्रिपरिषद हेरफेर गरेकी थिइन् ।

प्रधानमन्त्री कार्कीले गत ११ पुसमा आफूसहित यसअघि नियुक्त सबै मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुका साथै नयाँ मन्त्रीसमेत नियुक्त गरेकी थिइन् । सो दिन भएको हेरफेरबाट १५ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन भएको थियो । यो पुनर्गठनलाई प्रधानमन्त्रीले ‘सरकारको पूर्णता’ भनेकी थिइन् । सो दिन चुनावी मैदानमा रहेका बब्लु गुप्तासहितले मन्त्रीको शपथग्रहण गरेका थिए ।

कार्कीले ४ पुसमा पनि मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् । सो दिन उनले आफूले सम्हाल्दै आएको खानेपानी मन्त्रालयको जिम्मेवारी श्रममन्त्री राजेन्द्रसिंह भण्डारीलाई दिएकी थिइन् । तर गत २० पुसमा राजेन्द्रबाट पुनः यो मन्त्रालय खोसेर कृषिमन्त्री मदन परियारको जिम्मा लगाएकी थिइन् ।

प्रधानमन्त्री कार्कीले २६ मंसिरमा पनि मन्त्रिपरिषद् हेरफेर गरिन् । जुनबेला मन्त्रीको संख्या १४ पुगेको थियो । प्रधानमन्त्रीले ९ कात्तिकमा पनि मन्त्रिपरिषद् हेरफेर गरिन् । सो दिन हेरफेर गरेपछि मन्त्रिपरिषद् सदस्यको संख्या १० पुगेको थियो भने नवनियुक्त मन्त्रीले सोही दिन शपथग्रहण गरेका थिए ।

प्रधानमन्त्रीले ६ असोजमा मन्त्रिपरिषद् पुनर्गठन गरेर ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी थिइन् । गत ३० भदौमा प्रधानमन्त्री कार्कीले पहिलोपटक मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् । सो दिन रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले मन्त्रीका रूपमा शपथग्रहण गरी पदभारसमेत ग्रहण गरेका थिए ।

ओली सरकार पुनर्गठन १४ महिनामा पाँचपटक
जेनजी आन्दोलनका कारण गत २४ भदौ २०८२ मा राजीनामा दिनुअघिसम्म केपी शर्मा ओली प्रधानमन्त्री थिए । उनी ३० असार २०८१ मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेस र एमाले गठबन्धनको यो सरकार जेनजी आन्दोलनबाट अपदस्थ हुनुअघिसम्म जम्मा ५ पटक पुनर्गठन भएको देखिएको छ ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले ३१ असारमा पद तथा गोपनीयताको शपथग्रहण गर्दै २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए । १८ साउन २०८१ मा प्रधानमन्त्री ओलीले दोस्रोपटक मन्त्रिपरिषद् हेरफेर गर्दै तत्कालीन नागरिक उन्मुक्ति पार्टीका नेता अरुणकुमार चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नियुक्त गरे । सोही दिन रुपा विक वन तथा वातावरण राज्यमन्त्री र पूर्णबहादुर तामाङलाई समेत राज्यमन्त्री नियुक्त गरिएको थियो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा तेस्रोपटक मन्त्रिपरिषद् हेरफेर गर्दै ११ बैशाख २०८२ मा एमाले नेता रघुजी पन्तलाई शिक्षामन्त्रीमा शपथ गराइएको थियो । प्रधानमन्त्री ओलीले चौथोपटक १७ बैशाख २०८२ मा मन्त्रिपरिषद् हेरफेर गरे । त्यसबेला खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको जिम्मेवारी दिइएको थियो ।

प्रधानमन्त्री ओलीले ३१ असार २०८२ मा पाँचौंपटक मन्त्रिपरिषद् हेरफेर गरेका थिए । ओली सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता भ्रष्टाचार मुद्दामा परेपछि सो मन्त्रालयको जिम्मेवारी एमाले नेतृ भगवती न्यौपानेलाई दिएका थिए ।

The post प्रधानमन्त्री कार्कीले १५८ दिनमा गरिन् १० पटक मन्त्रिपरिषद् पुनर्गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category