npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

माझी समुदायले धुमधामका साथ मनाए कोशी पुजा

ईश्वर तामाङ 5 hours ago

उदयपुर । माझि समुदायले धुमधामका साथ मंगलवार कोशी (लदी) पुजा गरेको छ । उदयपुरको माझि समुदायले बिभिन्न खोला तथा नदि किनारामा कोशी (लदी) पुजा गरेका छन । अति सिमान्तकृत माझी समुदायको आफ्नो सबै भन्दा ठुलो पर्वको रुपमा कोशी (लदी) पुजा गरेका हुन ।

माझी समुदायले मनाउने कोशी (लदी) पुजा सबै भन्दा ठूलो पर्व हो । माझी भाषामा लदी भन्नाले कोशी भन्ने बुझिन्छ । कोशी पुजालाई माझीहरुले लदी पुजा भन्ने गर्दछन् । माझि समुदायले हरेक वर्षको फागुन महिनाको तेश्रो मंगलबार माझीहरुले यो पर्व मनाउँदै आएका छन् । माझीहरुले तेश्रो मंगलबारलाई साईली मंगलबार भन्दछन् । माझी समुदायले साईली मंगलबारलाई शुभ दिनको रुपमा लिने गरेको माझी समुदायको जेष्ठ नागरिकहरु बताउँछन् ।

नदि किनारमा बसोबास गर्ने माझि समुदाय आफुहरु पानी भन्दा अगाडी जन्म भएको किम्बदन्ती रहेको बताईन्छ । माझी समुदायको पुर्खौली थलो कोशी किनारहरु हो । विशेष गरी पानीको पुजा गर्ने भएकाले पनि यो समुदायले कोशी पुजालाई ठूलो पर्वको रुपमा लिने गर्दछन् ।

लदी पुजाका दिन सामुहिक रुपमा माझीहरुले नजिकैको नदी किनारमा महादेव, मसान, बज्रको साथै ठूलो कोशीको पुजा गर्दछन् । बज्रको पुजा गर्दा घरमा चट्याङ्गले नहान्ने जनविश्वास रहँदै आएको माझी समुदायहरुको भनाई छ । पुजामा राँगा, बोका, सुँगुर, कुखुरा, अण्डा लगायतका फुल अक्षताले पुजा गरिने माझी समुदायका पुजारीहरु बताउँछन् ।

सामुहिक रुपमा चेलीबेटी, कुलकुटुम्ब भेला भई भोज खाँदै दुःख सुःख बाँड्ने प्रचलन रहेको छ । त्यसैगरी पुजामा समुदायको हित हुन सकोस भन्दै प्रकृतिलाई पुजा गर्ने चलन छ । किन्बदन्ती अनुसार माझीको जन्मपछि पानीको जन्म भएको र माछा मार्न दुवाली छेक्दा कोशी नछेकिएपछि रगतको बली दिई माछा मार्न सफल भएको लोक कथा रहेको माझी अगुवाहरुको भनाई छ ।

माझी समुदायले आफ्नो ठूलो पर्व लदी अर्थात कोशी पुजालाई राष्ट्रिय पर्वको मान्यता दिनु पर्ने माग राखेको भएता पनि सरकारले आफुहरुको माग सम्बोधन नगरेको नेपाल माझि उत्थान संघ उदयपुरका सचिब दिपक माझिले बताए । अति सिमान्तकृत समुदायको संस्कृतिको जगेर्नामा सरकारले चासो नदिएको नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति उदयपुरका सचिव माझी बताउँछन् ।

पूर्वको सुनसरीस्थित सप्तकोशी, सिरहा, सप्तरी, रामेछाप, सिन्धुली, उदयपुरका माझीहरुले विभिन्न नदीहरुमा नियमित कोशी (लदी) पुजा गर्ने गरेको छ । माझी समुदायको यो पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिनु पर्ने उनीहरुको माग रहेका छन् । २०७८ को जनगणना अनुसार माझी जातिको जनसंख्या १,११,३५२ अर्थात ०.३८ प्रतिशत रहेको छ । जसमा ५४,७८३ पुरुष र ५६,५६९ महिला रहेका छन् । मातृभाषा बोल्ने मानिसको संख्या भने ३२,९१७ रहेको छ । नेपाल माझी उत्थान संघ उदयपुरका अनुसार माझी प्रकृति पुजक धर्म मान्ने जाति रहेको जनाएको छ ।

माझी समुदायले कोशी पुजा, बेलका नगरपालिका– ८, ७, त्रियुगा नगरपालिका– ७ चुहाडे झोलुङ्गे पुल, उदयपुरको कटारी नगरपालिका–२ स्थित कमला नदीमा कोशी लदी पुजा गर्दै माझी समुदायले विविध साँस्कृतिक कार्यक्रमका साथ यो पर्व मनाएको नेपाल माझी उत्थान संघ कटारीका संयोजक राजकुमार माझीले बताए । लदी पुजा माझी समुदायको महान चाड हो । यस दिन यो समूदायले आ–आङ्खनो भेषभुषा र पहिरनमा सजिएर कोशी महारानीको पुजा गर्दै विभिन्न माझी भाषाका गीतहरु गाउँदै नाच्ने गर्छन । सिमान्तकृत माझी जाति प्रति पनि राज्यको ध्यान जाओस भन्ने उदेश्यका साथ लदी पुजालाई औपचारिक रुपमा मनाउदै आइरहेको जनाएका छन ।

कोशी पूजा अर्थात लदि पूजा नेपालमा बसोबास गर्ने समस्त माझी जातिको प्रमुख चाड हो । कोसी पूजा भन्नाले खोला, नदी अथवा पानीलाई गरिने पूजालाई जनाउँछ । यो पर्व प्रत्येक वर्ष फागुन महिनाको तेश्रो मङ्गलबार मनाउने गरिन्छ । यो पर्वको दिन सबै मानिसहरूले नुहाउने, घर लिप–पोत गरी सफा राख्ने गरिन्छ । त्यसपछि आ–आफनो घरबाट नजिकको खोलामा सबै मानिसहरू भेला भई समूहमा यो पर्व मनाउने गरिन्छ । यो दिनमा नदिलाई विशेष रूपले पूजा गरिन्छ ।

पूजामा विशेष बिधिबाट तयार गरिएको थानमा सुँगुर, भैंसी, कुखुरा, हाँस र परेवा गरि पाँच प्रकार जीवको बलि चढाउने गरिन्छ । जसलाई पञ्चबलि पनि भनिन्छ । यो पञ्चबलिको साथ थानमा फुल–अक्षता र भेटी पनि चढाउने गरिन्छ । यो दिनमा आङ्खना आफन्तहरू बिच शुभकामना आदानप्रदान पनि गर्ने गरिन्छ । साथै यो दिन नाचेर, गाएर रमाइलो गर्ने प्रचलन रहेको नेपाल माझी उत्थान संघले जनाएको छ ।

माझी जातिहरू परापूर्वक कालदेखि नेै खोलाको किनारमा बसि माछा मार्ने, डुङ्गा (नाउ) मा राखि मानिसहरूलाई खोला तारि दिने कार्य गर्दथे । उनीहरू सँधै खोलाको नजिक हुने, खोलामै बस्ने, खोलामा नै आश्रीत हुने भएकाले खोलालाई र पानीलाई भगवान मान्दथे र पूजाआजा गर्दथे । त्यस कारण आज पनि माझी जातिहरूले त्यो परम्परालाई मनाउदै आएका छन् ।

माझी जातिहरूको उल्लेख्य बसोबास भएको क्षेत्रका नजिक रहेका खोलाहरु सप्तकोसी, दुधकोसी, तामाकोसी, अरुण, तमोर, कन्काई, त्रियुगा, कमला आदि जस्ता नदि–किनारमा यो पर्व मनाउने गरिन्छ । यो कोसी–पूजालाई लदिपूजा, पानी पूजा पनि भन्ने गरिन्छ । यसरी नदिपूजा गर्नाले बालीनाली राम्रो हुने, समयमा पानी पर्ने, घरपरिवारमा सुख शान्ति छाउनेमा माझी जातिको जनविश्वास रहि आएको छ ।

The post माझी समुदायले धुमधामका साथ मनाए कोशी पुजा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category