राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह
काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, समर्थक तथा आमनागरिकलाई निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न आग्रह गरेको छ ।
बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गरिरहेको इओसी नेपालले आज विज्ञप्ति जारी गरी स्वतन्त्र, स्वच्छ, विश्वसनीय तथा धाँधलीरहित रूपमा निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोगका लागि आग्रह गरेको हो ।
गएराति १२ बजेदेखि मौन अवधि सुरु भए पनि डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसारजन्य सामग्री प्रकाशन तथा प्रसारण गर्ने गरेको पाइएको जनाउँदै इओसीले त्यस्तो कार्य नगर्न नगराउन सचेत गराएको छ ।
“गएरातिदेखि नै मौन अवधि सुरु भइसकेको छ । त्यसैले उम्मेदवार, दलको पक्षमा मत प्रभावित गर्ने आशयका डिजिटल सन्देश र भ्रामक सामग्रीको सेवर गर्नेलगायत गतिविधि आचारसंहिताविपरीत हो । त्यस्ता गतिविधिको निरन्तरताले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना दोहोरिरहेको अवस्था छ । यसमा सबै गम्भीर बनौँ”, विज्ञप्तिमा भनिएको छ ।
विगतका निर्वाचनमा जस्तै यस पटक पनि देशभर दीर्घकालीन र अल्पकालीन गरी सात सय जना राष्ट्रिय पर्यवेक्षक परिचालन गरिएका छन् । विगतको निर्वाचनको तुलनामा यस पटक सामाजिक सञ्जालको व्यापक प्रयोग भएकाले त्यसको दुरुपयोग गरी निर्वाचन आचारसंहिताको उल्लङघन हुनसक्ने भन्दै सुक्ष्म पर्यवेक्षण भइरहेको इओसी नेपालले जनाएको छ । केन्द्रिय कार्यालयमा विशेष प्राविधिक टोलीको व्यवस्था गरी विभिन्न सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट भएका आचारसंहिता उल्लङ्घनका घटनाको पर्यवेक्षण भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
संस्थाका उपाध्यक्ष बद्रीप्रसाद शिवाकोटीले निर्वाचन सुरु हुन अब एक दिन र केही घण्टा मात्र बाँकी रहेको अवस्थामा निर्वाचन आयोग, नेपाल सरकारलाई आचारसंहिता विपरितका गतिविधि रोक्न र सम्पूर्ण निर्वाचन प्रक्रियाको कडाइका साथ निगरानी तथा पालना गराउन आग्रह गरे । उनले सुरक्षाका सम्भावित चुनौतीलाई आँकलन गरी सुरक्षा व्यवस्थापन चुस्त बनाउन पनि आग्रह गरे ।
The post निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....