npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

कास्कीमा निर्वाचन तयारी पूरा

राजधानी समाचारदाता 5 hours ago

पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा आवश्यक तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय, पोखराका अनुसार जिल्लाका ३६५ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको छ । यसैगरी, चुनावका लागि खटिएका कर्मचारीहरुले मतदानस्थल निर्माण गरी सर्वदलीय बैठक पनि सम्पन्न गरेका छन् ।

निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले सोमबार नै सबै केन्द्रका लागि मतपत्रसहितका निर्वाचन सामग्री पठाइसकिएको जानकारी दिए । सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतले निर्वाचन कार्यालयबाट मतदान सामग्री बुझेर गएको उनले बताए ।

न्यौपानेका अनुसार जिल्लामा २ हजार १ सय ८४ जना कर्मचारी निर्वाचनका लागि खटिएका हुन् । निर्वाचनका लागि कर्मचारी पनि निकै उत्साहित बनेका छन् । उनीहरुले मतदान केन्द्रमा आवश्यक सूचना टाँस, सर्वदलीय बैठकलगायतका काम गरेका हुन् ।

प्रदेश निर्वाचन अधिकारी नारायण ढकाल पनि निर्वाचनको सम्पूर्ण तयारी पूरा भएर मतदान गर्न मात्र बाँकी रहेको बताउँछन् । उनका अनुसार जिल्लामा शान्ति, सुरक्षालगायत केही समस्या छैन ।

कास्कीमा १५३ मतदानस्थल र ३६३ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र गरी ३६५ मतदान केन्द्र तय गरिएका छन् ।

मतदान अधिकृतले मतदान केन्द्रमा चुनावका दिनका लागि ३ जना स्वयंसेवक नियुक्त गर्न सक्ने व्यवस्था छ । निर्वाचनका लागि कर्मचारी खटनपटन निर्देशिकाअनुसार पाँच सयभन्दा कम मतदाता भएको मतदान केन्द्रमा पाँच जना कर्मचारी रहेका छन् । जसमा एक जना मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी रहनेछन् । त्यसैगरी, मतदान केन्द्रमा एक हजार ९२ जना स्वयंसेवक खटाइने सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

निर्वाचन कार्यालयका अनुसार कारागारका कैदीबन्दीका लागि कारागारमा मतदान केन्द्र तोकिएको छ ।

कास्कीमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४९ जना उम्मेदवार मैदानमा छन् । मतदाता संख्या कुल तीन लाख आठ हजार ५७२ जना र दुई हजार ८६१ जना अस्थायी मतदाता छन् । तीमध्ये महिला ७२० र पुरुष दुई हजार १४१ छन् ।

The post कास्कीमा निर्वाचन तयारी पूरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category