Tourism Face
‘हेलिकप्टरमा चुचुरो पुग्नु आरोहण होइन’ भन्नेमा सांसदहरू एकमत

काठमाडौं ।साहसिक पर्यटनको आत्मा र हिमालको गरिमा जोगाउन पर्वतारोहण अभ्यासलाई थप अनुशासित र स्पष्ट बनाउनुपर्ने आवाज संसदमा उठेको छ। राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिमा पर्यटन विधेयक, २०८१ माथिको दफावार छलफलका क्रममा सांसदहरूले हेलिकप्टर प्रयोग गरी चुचुरोमा पुग्ने अभ्यासलाई ‘आरोहण’ मान्न नसकिने स्पष्ट धारणा राखेका छन्।
बैठकमा पर्वतारोहण प्रमाणपत्रको मापदण्ड, उद्धारका नाममा हुने हेलिकप्टरको दुरुपयोग तथा दुर्घटना वा मृत्युको अवस्थामा प्रमाणपत्र दिने–नदिने विषयलाई ऐनमै स्पष्ट लेखिनुपर्ने आवश्यकता औँल्याइयो। सांसदहरूको भनाइमा आधार शिविरबाट पैदल यात्रा सुरु गरी चुचुरो चढेर पुनः सुरक्षित रूपमा आधार शिविर फर्किने प्रक्रिया नै वास्तविक आरोहण हो।
समिति सभापति तुलसाकुमारी दाहालले झुट्टा उद्धार रोक्न र उद्धारका लागि प्रयोग हुने हेलिकप्टर वा ड्रोनलाई कडा नियमनमा ल्याउन मन्त्रालयलाई निर्देशन दिइन्। उनले प्रविधिको प्रयोग पारदर्शी र मापदण्डयुक्त हुनुपर्नेमा जोड दिँदै साहसिक पर्यटनलाई विकृतितर्फ जान नदिन सचेत गराइन्।
छलफलमा संशोधनकर्ता सांसदहरूले हेलिकप्टर चढेर चुचुरो छोएर फर्किने प्रवृत्तिले हिमालको प्रतिष्ठा र नेपालको साहसिक पर्यटन ब्रान्डलाई क्षति पुगेको बताएका थिए। उनीहरूले आधार शिविरदेखि चुचुरोसम्म पैदल यात्रा पुष्टि भएपछि मात्र प्रमाणपत्र दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारे।
संशोधनकर्ता सोनाम गेल्जेन शेर्पाले हेलिकप्टर प्रयोग गरेर चुचुरो चढ्ने अभ्यासलाई कानुनमार्फत रोक्नुपर्ने बताए। उनका अनुसार यस्तो अभ्यासलाई आरोहण मान्यता दिनु साहसिक पर्यटनको मर्मविपरीत हुन्छ।
यस्तै, डा. बेदुराम भुसालले चुचुरोमा पुगेपछि फर्कने क्रममा दुर्घटनामा मृत्यु भएमा प्रमाणपत्र दिने कि नदिने भन्ने विषय कानुनमै स्पष्ट हुनुपर्ने आवश्यकता औँल्याए। पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले हालको अभ्यास स्पष्ट कानुनी आधारविहीन रहेको स्वीकार गर्दै सुधार आवश्यक रहेको बताए।
छलफलका क्रममा प्रविधिको सहायताबाट आरोहण पुष्टि गर्ने विषयमा मन्त्रालय र संशोधनकर्ताबीच सहमति देखिएको छ। समितिले विधेयकलाई अझ स्पष्ट, कठोर र साहसिक पर्यटनको मूल्यमान्यताअनुकूल बनाउन सुझावसहित छलफल अघि बढाएको छ।
The post ‘हेलिकप्टरमा चुचुरो पुग्नु आरोहण होइन’ भन्नेमा सांसदहरू एकमत first appeared on Tourism Face.