npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

अमेरिकी विश्वविद्यालयमा विदेशी विद्यार्थीको संख्यामा वृद्धि, नेपाल सूचीको छैटौं स्थानमा

क्लिकमान्डु 6 hours ago

एजेन्सी । इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेशन नामक संस्थाले प्रकाशन गरेको नयाँ ओपन डुअर्स रिपोर्टले सन् २०२४–२५ शैक्षिक वर्षमा अमेरिकाका कलेज र विश्वविद्यालयहरूले ११.८ लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरूको स्वागत गरेको उल्लेख गरेको छ ।

यो अघिल्लो वर्षभन्दा ५ प्रतिशत वृद्धि हो । अमेरिकाको उच्च शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको कुल संख्याको ६ प्रतिशत छन् । अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार, सन् २०२४ मा विदेशी विद्यार्थीहरूले अमेरिकाको अर्थतन्त्रमा झण्डै ५५ अर्ब डलर योगदान दिएका थिए । उनीहरूले देशभरि ३ लाख ५५ हजारभन्दा बढी रोजगारदातालाई सहयोग गरेको एनएएफएसएले अनुमान गरेको छ ।

‘अन्तर्राष्ट्रिय विद्यार्थीहरू आफ्नो शिक्षा अघि बढाउन र अमेरिकी कलेज तथा समुदायहरूमा योगदान दिनका लागि यहाँ आउँछन्,’ अमेरिकास्थित इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेशनका अध्यक्ष तथा सीईओ जेसन सिजले भने, ‘अन्तर्राष्ट्रिय विद्यार्थीहरूले नवप्रवर्तन, अनुसन्धान र सांस्कृतिक समझदारीलाई कति अगाडि बढाउँछन् भनी यी तथ्यांकले देखाउँछन् ।’

स्नातकोत्तर विद्यार्थी भर्ना तीन वर्षको वृद्धिपछाडि ३ प्रतिशतले घटेर ४ लाख ८८ हजार ४ सय ८१ मा झरेको छ । स्नातकमा भर्ना भने ४ प्रतिशतले बढेर ३ लाख ५७ हजार २ सय ३१ पुग्यो । यो महामारीयताकै ठूलो वृद्धि हो । अप्शनल प्राक्टिकल ट्रेनिङमा सहभागी विद्यार्थी २१ प्रतिशत बढेर २ लाख ९४ हजार २५३ पुगे । सबै तहमा गरेर, ५७ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी विज्ञान प्रविधि (स्टेम) कार्यक्रममा थिए ।

नयाँ अन्तर्राष्ट्रिय भर्ना ७ प्रतिशतले घटेर २ लाख ७७ हजार १ सय १८ मा आयो । नयाँ स्नातक विद्यार्थी ५ प्रतिशतले बढेका छन् तर नयाँ स्नातकोत्तर विद्यार्थी १५ प्रतिशतले घटेका छन् ।

अमेरिकामा अध्ययन गर्न गएका विद्यार्थीहरूमा भारतबाट ३ लाख ६३ हजार १९ विद्यार्थी छन् । भारत पहिलो स्थानमा रहिरहेको छ । यो अघिल्लो वर्षको तुलनामा १० प्रतिशत वृद्धि हो ।

चीन २ लाख ६५ हजार ९ सय १९ विद्यार्थी सहित दोस्रो स्थानमा छ । तर, यो संख्या ४ प्रतिशत घटेको हो । धेरै विद्यार्थी पठाउने देशमध्ये १२ देशले यस वर्षकै उच्च संख्या छोएका छन् । तिनमा बंगलादेश, क्यानडा, घाना, नेपाल, नाइजेरिया, पाकिस्तान, पेरु, स्पेन र भियतनाम रहेका छन् ।

सूचीमा भारत पहिलो, चीन दोस्रो, दक्षिण कोरिया तेस्रो, क्यानडा चौथो, भियतनाम पाँचौं, नेपाल छैटौं, ताइवान सातौं, नाइजेरिया आठौं, बंगलादेश नवौं र ब्राजिल दशौं स्थानमा छ ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूले सबै ५० अमेरिकी राज्यमा अध्ययन गरिरहेका छन् । टेक्सस, इलिनोइ र मिजूरीमा सबैभन्दा ठूलो वृद्धि देखिएको छ ।

Read more news from Clickmandu

Explore by Source or Category