वैकल्पिक राजनीतिक दलको नारा बोकेको विवेकशील रास्वपामा समाहित हुँदै
काठमाडौं । वैकल्पिक राजनीतिक दलको नारा बोकेर उज्ज्वल थापाले गठन गरेको विवेकशील साझा आइतबारदेखि इतिहास बन्ने भएको छ । विवेकशील साझा पार्टी आज राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय हुने भएपछि थापाले सुरु गरेको वैकल्पिक राजनीतिक दलको एजेन्डा शून्यमा पुगेको हो ।
आइतबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाको दाबी छ । विवेकशील साझा पार्टीले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त स्वीकार गरेको हो। यससँगै अब विवेकशील साझा नेपालको राजनीतिमा अस्ताउने भएको छ ।
२०७० सालमा गठन भएको विवेकशील नेपाली र साझा पार्टीबिच एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ बनेको थियो। एकता अगाडि विवेकशीलका अध्यक्ष उज्वल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको संयुक्त नेतृत्व थियो। थापाको मृत्यु भइसकेको छ भने मिश्र राप्रपामा प्रवेश गरेका छन्।
अहिले विवेकशील साझा पार्टीको अध्यक्ष समीक्षा बास्कोटा र महासचिव रञ्जु दर्शना छन्। एकताका लागि रास्वपाले उपसभापति स्वर्णिम वाग्ले र विवेकशील साझाले उपाध्यक्ष प्रकाशचन्द्र परियारको नेतृत्वमा उच्चस्तरीय संवाद समिति बनाएको थियो। आगामी चुनावमा रास्वपामा विलय हुँदा जनप्रतिनिधि बन्न पाइन्छ कि भन्ने आश विवेकशील साझा पार्टीका नेतामा देखिएको छ ।