News of Nepal
नेपाल प्रहरीका १० एसपी एसएसपीमा बढुवा, आईजीपीद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ ।
नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्ने निर्णय गरिएको छ । शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालले पुस २४ गते बढुवा समितिले गरेको सिफारिसअनुसार एसएसपी बढुवाको निर्णय गरेका हुन् ।
एसएसपीमा बढुवा हुनेमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषि राम कँडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिंह चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदमबहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा रहेका छन् ।
गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरी नेपाल प्रहरीको प्राविधिकतर्फ रहेका दुईवटा एसएसपी दरबन्दी जनपद समूहतर्फ स्थानान्तरण गरेको छ भने थप एक दरबन्दी सिर्जना गर्दै १० जनालाई बढुवा गरिएको हो । प्राविधिकतर्फ केनाइन कार्यालय र सवारी महाशाखामा रहेका एसएसपीको दरबन्दी जनपद समूहतर्फ सारिएको गृह मन्त्रालयले जनाएको छ ।
बढुवा भएका एसएसपीहरूलाई शुक्रबार नै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।