npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

पुनर्निर्माणपछि यस्तो बन्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त टाटा शोरुम (भिडियो)

सुमित्रा गुरागाईं 3 hours ago

काठमाडौं । भदौ २४ गतेको जेनजी आन्दोलनमा क्षतिग्रस्त बनेको थापाथलीस्थित टाटा मोटर्स शोरुम पुनः सञ्चालनमा आएको छ ।

जेनजी आन्दोलनको भोलिपल्ट सेप्टेम्बर ९ को विध्वंशकारी प्रदर्शनका क्रममा देशभरका सरकारी तथा निजी संरचनामा आगजनी, तोडफोड र लुटपाट हुँदा यो शोरुम पनि अछुतो रहेन। सरकारीसँगै सयौं व्यवसायीका निजी सम्पत्तिमाथि प्रहार हुँदा सिप्रदीको यो स्टेट अफ आर्ट शोरूमका सिसा धुलो बने, शोरूमा रहेका ४ कार पूर्णरूपमा चले, अरू ३ कारमा आंशिक क्षति भयो ।

त्यसबेलादेखि थापाथलीमा रहेका केही शोरुमहरू अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । तर, सिप्रदीको शोरूम भने २ महिनाभन्दा बढी रहेर फेरि सञ्चालनमा आएको छ ।

शोरुमको अगाडि रहेको संरचना र इलेक्ट्रोनिक उपकरणमा समेत ठूलो क्षति भयो । सिसैसिलाले बनेको शोरुमका सिसा फुटेर छरप्रस्ट भए । शोरुम पूर्ण रूपमा जलेर ध्वस्त भएपछि सिप्रदीले त्रिपाल टाँगेर ग्राहकलाई सेवा दिएको थियो ।

टाटाको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदीका ईभी रिटेल सेल्सका डेपुटी म्यानेजर सुजन कार्की शोरुममा नेक्सन ईभी, कर्भ ईभी, पञ्च ईभी, टियागो तथा नेक्सन आईसीईजस्ता मोडल प्रदर्शनमा राखिएका थिए ।

शोरूम क्षतिग्रस्त भएपछि भोलिपल्टै बिमा सर्भेयर बोलाएर क्षतिको मूल्यांकन सुरु गरिएको र केही दिनमै पुनर्निर्माणको काम अघि बढाइएको कार्की बताउँछन् । ‘हामी अहिले पनि शोरूपमा बनाउने फेजमै छौं । अझै केही काम हुन बाँकी छ,’ उनले भने ।

पुनर्निर्माणका क्रममा शोरुममा केही संरचना थपिए भने केही अझै बन्दैछन् । तोडफोड तथा आगजनीपछिको पुनर्निर्माणसँगै शोरुममा केही कोठा थपिएका छन् र शोरुम पहिलेभन्दा धेरै उन्नत भएको कार्कीको दाबी छ । शोरुममा अहिले ग्राहकहरूका लागि छुट्टै ‘कस्टमर वेटिङ रुम’ (ग्राहक प्रतीक्षा कक्ष) बनाइएको छ । जहाँ चिसो–तातो पेयको व्यवस्था पनि गरिएको छ । एकै पटक आएका विभिन्न ग्राहक समूहलाई छुट्टाछुट्टै सेवा दिन यो रुमको व्यवस्था गरिएको कार्कीको भनाइ छ ।

शोरुमको पुनर्निर्माण अवधिभर टेन्ट टाँगेर अस्थायी रूपमा गाडि बिक्री गरिएको थियो । त्यसबेला ग्राहकले केही असुविधा भोगे पनि उपलब्ध स्रोतलाई प्रयोग गरेर सेवा दिइएको कार्की बताउँछन् ।

पुरानो र भरपर्दो ब्रान्डको रूपमा रहेको टाटा ब्रान्डले नेपाली बजारमा हरेक वर्ष राम्रो व्यापार गर्दै आएको छ ।

सन् १९७९ मा स्थापना भएको कम्पनी टाटा ब्रान्डको सवारी साधन आयात तथा बिक्री गर्ने नेपालको लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ हो । कम्पनीको देशभर १४ वटा आफ्नै शोरुम छन् । सिप्रदी ट्रेडिङको व्यापार सन् २०२५ मा ३० प्रतिशतले बढेको छ ।

सन् २०२४ मा १८ अर्ब ५८ करोड ८० लाख रुपैयाँको कारोबार गरेको सिप्रदीले सन् २०२५ मा २४ अर्ब ८ करोड ८० लाख रुपैयाँको कारोबार गर्यो । तर, २०२५ को सेप्टेम्बर यताबाट भने कम्पनीका लागि फलदायी रहेन ।

कम्पनीले पेट्रोलियम पदार्थको सवारी साधनसँगै विद्युतीय सवारी साधनको पनि व्यापार गर्दै आएको छ । कम्पनीले सन् १९८२ देखि व्यवसायिक सवारी साधन र सन् १९९२ देखि यात्रुवाहक सवारी साधन बिक्री–वितरण गर्दै आएको छ । सिप्रदीले सन् २००० देखि एक्साइड ब्याट्री र सन् २००२ देखि मक लुब्रिक्यान्टको पनि व्यापार गर्दै आएको छ ।

तर, यसपालि भने जेनजी आन्दोलनका कारण व्यापारमा केही असर पर्यो । दशैं–तिहारको मुख्य व्यापारिक सिजनमै शोरुम बन्द हुँदा व्यापारमा कस्तो असर पर्यो ? भन्ने प्रश्नमा कार्की भन्छन्, ‘व्यापारमा केही हदसम्म असर परे पनि खासै ठूलो असर परेन । व्यापारभन्दा पनि बढी समस्या ग्राहकमा पर्यो, किनकी अस्थायी सेटअपमा हेर्ने र बस्ने सुविधा पर्याप्त थिएन ।’

२ महिनासम्म शोरुम बन्द हुँदा व्यावसायिक मनोबलमा केही असर परेको बताउँदै कार्की सिप्रदीले कोभिड, नाकाबन्दी र विभिन्न संकटका बीच पनि अघि बढ्दै आएको र यसपाली पनि त्यसैगरी उभिने बताए ।

‘निजी क्षेत्रमै लक्षित भएर यस्ता घटना हुन्छ भन्ने हामीले सोचेकै थिएनौं । त्यसैले अब फेरि यस्ता घटना भए सुरक्षा प्रणालीलाई अझ मजबुत बनाउने काम हामीले हाम्रो तर्फबाट गर्नेछौं,’ उनी भन्छन्, ‘तर यस्ता ठूला घटना हुन नदिनका लागि राज्य संयन्त्रले केही कदम चाल्नुपर्ने हुन्छ ।’

जेनजी आन्दोलन पश्चात ग्राहकले भोग्नु परेका कठिनाइप्रति क्षमा माग्दै कार्कीले शोरुम पहिलेको भन्दा धेरै राम्रो भएको बताएका छन् । साथै ग्राहकहरूलाई एकपटक आएर नयाँ अनुभव लिन अनुरोध समेत गरेका छन् ।

हाल थापाथलीस्थित टाटा शोरुममा नयाँ मोडल थपिएको छैन । तर भारतमा भर्खरै लन्च भएको टाटा सिरा छिट्टै नेपाल भित्र्याउने तयारी भइरहेको कार्कीले जानकारी दिए ।

Read more news from Clickmandu

Explore by Source or Category