npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

तुलसी स्मृति ग्रन्थ लोकार्पण

न्युज अफ नेपाल 10 hours ago

उदयपुर।

उदयपुरको गाईघाटस्थित रेग्मी निवासमा सोमवार तुलसी स्मृति ग्रन्थको लोकसेवा आयोगका केन्द्रीय अध्यक्ष माधवप्रसाद रेग्मीले एक कार्यक्रमका बीचमा लोकार्पण गर्नुभएको छ ।

अध्यक्ष रेग्मीले तुलसी स्मृति ग्रन्थको लोकार्पण गर्दै बहुआयामिक व्यक्तित्वका धनी स्व. तुलसीप्रसाद रेग्मी साहित्यमा मात्र नभएर समाजसेवा, पत्रकारिता, राजनीतिका साथै अन्य क्षेत्रमा पनि निरन्तर लागि रहने व्यक्तित्व भएको र उहाँले समाजलाई गर्नुभएको योगदानलाई कहिल्यै बिर्सन नसकिने बताउनुभयो ।
अध्यक्ष रेग्मीले हामीले आफ्नो जिम्मेवारी जिम्मेवार भएर बहन गर्नुपर्ने र सामाजिक जीवनमा अनुशासनले पनि मानिसलाई जिम्मेवार बनाउने हुँदा व्यक्तित्व विकासमा पनि सहयोग पुग्ने बताउँदै तुलसीप्रसाद रेग्मीले समाजमा जिम्मेवार भएर अतुलनीय योगदान गरेकाले समाजले उहाँले गरेका कामहरू कहिल्यै विर्सन नसक्ने बताउनुभयो ।

तुलसी मन प्रतिष्ठानको आयोजनामा भएको सो कार्यक्रम प्रतिष्ठानका अध्यक्ष नगेन्द्रराज रेग्मीको अध्यक्षतामा भएको थियो । सो अवसरमा समाजमा उत्कृष्ट योगदान गर्ने ६ जना सामाजिक व्यक्तित्वहरूलाई सम्मानपत्र दोसल्लासहित सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा विशिष्ठ अतिथि त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्तकुमार बस्नेत, खोटाङ सामाजिक सेवा मञ्च विराटनगरका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली, शेषराज रेग्मी, रेग्मी समाज कोशी प्रदेशका अध्यक्ष माधव रेग्मी, हर्कनारायण श्रेष्ठ, उदयपुर साहित्य कला प्रतिठानका सचिव सरिता पौडेल गुरागार्इं, महासचिव माधव पोखरेल गोज्याङ्ग्रे, नेपाल सरकारका पूर्वप्रशासक गोविन्द रेग्मीले तुलसीप्रसाद रेग्मीका बारेमा मन्तव्य दिनुभएको थियो । तुलसी मन प्रतिष्ठानका सचिव महेश रेग्मीले सम्मानपत्र पढेर सुनाउनुभएको थियो भने रश्मिता रेग्मीले अतिथिहरूलाई मन्तव्यबाट स्वागत गर्नुभएको थियो । अन्यले कार्यक्रम सफलताको शुभकामना दिएका थिए भने उदयपुर साहित्य कला प्रतिठानका तर्फबाट महासचिव माधव पोखरेल गोज्याङ्ग्रेले तुलसीप्रसाद रेग्मीलाई उहाँले नेपाली भाषा साहित्य तथा सञ्चारक्षेत्रमा पु¥याउनुभएको विशिष्ट योगदानको कदर गर्दै मरणोपरान्त सम्मान गरिएको सम्मानपत्र तुलसी मन प्रतिष्ठानका अध्यक्ष नगेन्द्रराज रेग्मीलाई हस्तान्तरण गर्नुभएको थियो ।

सो कार्यक्रममा त्रियुगा जनता बहुमुखी क्याम्पसका उपप्राध्यापक टीकाप्रसाद पौडेलले तुलसी स्मृति ग्रन्थमा प्रकाशित भएका विभिन्न लेखकहरूद्वारा लेखिएका लेख रचनाहरूको अत्यन्त सरल र रोचक तरिकाले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । तुलसी स्मृति ग्रन्थ पुस्तक लोकार्पण कार्यक्रम स्व.तुलसीप्रसाद रेग्मीको वार्षिक पुण्य तिथिका अवसर पारेर आयोजना गरिएको जानकारी आयोजक संस्थाका अध्यक्ष नगेन्द्रराज रेग्मीले दिनुभयो ।

कार्यक्रममा सुनसरी, मोरङ, उदयपुर, झापा, खोटाङ, काठमाडौंलगायतका ठाउँबाट र स्थानीय साहित्यकारहरू तथा रेग्मी परिवारका आफन्त शुभचिन्तकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Read more news from News of Nepal

Explore by Source or Category