npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

ग्वार्डिओलाको १ हजारौं खेलमा सिटीको लिभरपुलमाथि सानदार जित

देश सञ्चार 2 weeks ago

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले व्यवसायिक फुटबलमा १ हजार खेलको कोसेढुंगा पूरा गरेका छन्।

उनका लागि अभूतपूर्व मानिएको खेलमा सिटीले लिभरपुललाई सानदार रुपमा पराजित गर्दै उनलाई जित गिफ्ट गर्यो। उनले आफ्नो प्रशिक्षक जीवनको १,०००औं खेलमा खेलाडीसँग जितको खुसी साट्दै मनाए।

दर्शकले भरिभराउ एतिहाद स्टेडियममा लिभरपुलविरुद्ध सिटीले सजिलै जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लियो। प्रीमियर लिगमा शीर्ष स्थानमा रहेका आर्सनललाई पछ्याउने उद्देश्यका साथ मैदान उत्रिएका दुई टिमबीचको भिडन्त एकतर्फी बनेको थियो।

सिटीले लिभरपुललाई पूर्ण रुपमा दबाबमा राख्दै खेलमा पकड जमाएको थियो। जितपछि सिटकी आर्सनलसँगको अंक दुरी चार अंकमा झरेको छ। जारी सिजन उच्च लयमा देखिएका स्टार स्ट्राइकर एर्लिङ हालान्डले यो सिजन क्लब र देशका लागि आफ्नो २८औं गोल गर्दै टोलीलाई अग्रता दिलाए।

खेलको सुरुवातमै हालान्डले पेनाल्टी गुमाएका थिए। लिभरपुलका गोलकिपर जर्जि मामारदाश्विलीले उनको प्रहार रोक्दै उत्कृष्ट बचाउ गरेका थिए। जेरेमी डोकुलाई फल गरेपछि खेलको सुरुवातमै सिटीले पेनाल्टी पाएको थियो। तर हालान्डले २९औं मिनेटमा गल्ती सुधार्दै माथेउस नुनेजको क्रसबाट हेड गर्दै गोलपोस्टको दायाँ कुनामा बललाई जाली चुमाएका थिए।

पहिलो हाफको अन्त्यतिर लिभरपुलका कप्तान भान डाइकले मोहम्मद सलाहको कार्नरबाट हेड गर्दै गोल गरेका थिए तर एन्डी रोबर्टसन अफसाइडमा रहेका कारण त्यो गोल अस्वीकृत भयो। रोबर्टसनले गोलरक्षकलाइ छेलेको मानियो।

पहिलो हाफको इन्जुरी समयमा सिटीले अग्रता दोब्बर बनायो। निको गन्जालेजको २० यार्ड टाढाबाट हानेको शक्तिसाली प्रहार भान डाइकमा डिफ्लेक्ट हुँदै गोलमा परिणत हुँदा लिभरपुल पहिलो हाफमै २-० ले पछि रह्यो।

दोस्रो हाफमा जेरेमी डोकुले सिटीको अग्रता थप फराकिलो बनाए। उनले करिब २० यार्ड टाढाबाट गरेको शक्तिसाली ‘लेफ्ट फुटेड’ सटले आकर्षक रुपमा जाली चुम्दा लिभरपुल फराकिलो हार भोग्न बाध्य भयो। समग्रमा पेप गार्डियोलाको १,०००औं खेल सिटीका लागि सम्झनालायक बन्यो।

उनको उत्कृष्ट रणनीति, प्रभावशाली प्रदर्शन र पूर्ण नियन्त्रणसहितको खेलले सिटीलाई पुन एकपटक च्याम्पियन छविमा फर्काएको छ।

Read more news from देशसञ्चार

Explore by Source or Category