npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

उद्घाटन हुने दिन भाँसिएको कमला खोला पुल- सवा करोड लगानीमा डाइभर्सन बनाइँदै

राजेश बर्मा 6 hours ago

काठमाडौं । सरकारले हुलाकी राजमार्गअन्तर्गत सिराहाको कमला खोलामा सर्वसाधारणलाई ओहोर दोहोर गर्न मिल्ने गरी तत्कालको लागि डाइभर्सन बन्ने भएको छ ।

हुलाकी सडक निर्देशनालयअन्तर्गतको योजना कार्यालय जनकपुरले आइतबार उक्त खोलामा डाइभर्सन सडक निर्माण गर्ने विषयमा ठेक्का सम्बन्धी सूचना प्रकाशित गरेको छ ।

योजना कार्यालय जनकपुरका प्रमुख कृष्णकुमार महतोका अनुसार १ करोड २४ लाख ८५ हजार रुपैयाँको लागतमा सिराहाको बसविट्टाघाट र कमला खोलालाई जोड्ने गरी ५५ मिटर लम्बाई र १० मिटर चौडाई भएको अस्थायी डायभर्सन सडक निर्माण गर्न लागिएको छ ।

उनका अनुसार इमरजेन्सी कार्यअन्तर्गत यो ठेक्का आह्वान गरिएको हो । यो डाइभर्सन सडक १ महिनाभित्र सम्पन्न गर्नुपर्ने ठेक्का सम्बन्धी सूचनामा उल्लेख छ ।

महतोका अनुसार खोलामा ग्याभिलियर गरेर त्यसमाथि डेढ मिटर उचाई भएको ५० मिटर लामो खण्डमा ह्युम पाइप ओछ्याइनेछ । यसरी ओछ्याइएको ह्युम पाइपमाथि माटोले ग्राभेल गरी अस्थायी डायभर्सन बाटो सञ्चालनमा ल्याइनेछ ।

सिराहा र धनुषा जिल्लालाई जोड्ने गरी कमला खोलामा निर्माण भएको पुल सञ्चालनमा नआउँदै २०७८ असार १७ गते भाँसिएको थियो । यो पुल निर्माण गर्न करिब एक दशकको समय लागेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुल भाँसिएकै दिन उक्त पुल उदघाट्न गर्ने तय भएको थियो ।

सिराहातर्फको पुलको दुईवटा जग (पिलर) भाँसिएर चारवटा स्ल्याबमा क्षति पुगेको थियो । क्षति पुगेका स्ल्याबमध्ये दुईवटा हटाइएको छ भने दुईवटा हटाउन बाँकी छ । पिलरसहितको भाग जमिनमुनि भाँसिएपछि सिराहा र धनुषाका बासिन्दा पछिल्लो चार वर्षदेखि डुङगाको सहयोगमा कष्टकर रुपमा खोला वारपार गर्दै आएका थिए ।

असुरक्षित रुपमा डुङगाको सहयोगमा खोला वारपार गर्दा ठूलो जोखिम भएकाले पक्की पुल पुनः निर्माण भएर सञ्चालनमा नआउञ्जेलसम्मको लागि यो डायभर्सन सडक निर्माण गर्न लागिएको महतोले जानकारी दिए ।

पछिल्लो समयमा सिराहा र धनुषाका बासिन्दाहरुको चर्को गुनासो र मधेश प्रदेश जेनजी संयोजक शिव यादबको बिशेष आग्रहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र खेलकुद मन्त्री बब्लु गुप्ता, जेनजी अगुवा सुदन गुरुङलगायतका टोलीले मंसिर ५ गते उक्त स्थानको अवलोकन गरेका थिए ।

भौतिक मन्त्री घिसिङले भाँसिएको पुलको पुनः निर्माण सम्पन्न नहुँदासम्म दुवै जिल्लाका बासिन्दालाई ओहोर दोहोर गर्ने गरी तत्कालको लागि अस्थायी संरचनाको व्यवस्था गर्ने आश्वासन दिएका थिए ।

मन्त्री घिसिङको निर्देशनमा उक्त स्थानमा तत्कालको लागि अस्थायी डाइभर्सन निर्माण गर्न लागिएको बताइएको छ ।

हुलाकी राजमार्गअन्तर्गत सिराहा र जनकपुरको दूरी जम्मा ३१ किलोमिटर छ । कमला नदीमा पुल सञ्चालनमा आएपछि सिराहा सदरमुकामबाट जनकपुरसम्म करिब आधा घण्टामै यात्रा गर्न सकिन्छ  । तर पक्की पुल भाँसिएपछि सर्वसाधारण जनकपुर महेन्द्र राजमार्गको ९० किलोमिटरको दूरी पार गर्नुपर्ने बाध्यता छ ।

तराई–मधेशको लाइफ लाइनका रूपमा रहेको हुलाकी राजमार्ग अन्तर्गत सिराहा र धनुषा जिल्लालाई जोड्ने गरी कमला खोलामा पुल निर्माणका लागि २०६८ जेठ २४ गते भ्याटसहित २४ करोड ९१ लाख रुपैयाँमा पप्पु–लुम्बिनी जेभीसँग सरकारले ठेक्का सम्झौता गरेको थियो ।

सम्झौताअनुसार पुल निर्माण २०७१ मंसिरमा सम्पन्न हुनुपर्ने थियो । तोकिएको समयमा पुलको निर्माण सम्पन्न नभएपछि आठौँपटक म्याद थप गभएको थियो । यसको अवधि गत असारमा सकिएको थियो ।

निर्माण व्यवसायीबाट आगामी असारसम्मका लागि म्याद थपका लागि प्रस्ताव पेस भएको छ । तर, सरकारले हालसम्म कुनै निर्णय गरेको छैन । हालसम्म २० करोड ४३ लाख (भ्याट) सहित भुक्तानी भइसकेको छ । पुल निर्माणको भौतिक प्रगति ८३ र वित्तीय प्रगति ८२ प्रतिशत छ ।

१२ वटा स्पान भएको पुलको लम्बाइ ४६९ मिटर छ । निर्माण व्यवसायीले नै पुलको डिजाइन गरी निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणसँगै नदीको दुवै किनारतर्फ १३ सय मिटर नदी नियन्त्रण र दुई सय मिटर पहुँच सडक निर्माण गर्नुपर्नेछ ।

Read more news from Clickmandu

Explore by Source or Category