npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

मनोनयन पत्रमा हस्ताक्षर बन्यो चासोको विषय

न्युज अफ नेपाल 3 hours ago

काठमाडौं।

नेपाली कांग्रेसको विशेष अधिवेशनले नेतृत्वसमेत चयन गरेको सन्दर्भमा मनोनयन पत्रमा हस्ताक्षर गर्ने व्यक्तिको नाम परिवर्तन गर्न सकिने वा नसकिने प्रश्नमा सबैको ध्यान सोझिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारको मनोननयन पत्रमा यसअघि पार्टी सभापति शेरबहादुर देउवाले गर्ने उल्लेख गरिएको छ । सोही पार्टीको राजधानीमा जारी विशेष महाधिवेशनमा नेतृत्व परिवर्तनसँगै देउवाको हस्ताक्षरलाई नमान्ने स्थिति भएकाले मनोनयन पत्रमा हस्ताक्षरको विषय सबैको चासोको विषय बनेको हो ।

यसैबीच आयोगले पार्टीको आधिकारिक रूपमा हस्ताक्षर परिवर्तन गर्ने निर्णय गरी पठाएमा हस्ताक्षर परिवर्तन गर्न सकिने जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचन ऐनको दफा १९ मा दलका तर्फबाट उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकारसम्बन्धी व्यवस्था गरिएको छ । सो ऐनअनुसार दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले तोकेको पदाधिकारीले उम्मेदवारको मनोनयन पत्रमा हस्ताक्षर गर्नुपर्नेछ । त्यस्तो पदाधिकारीको नाम, थर, पद तथा हस्ताक्षर नमुना सम्बन्धित दलले प्रमाणित गरी उम्मेदवारको मनोनयन–पत्र दाखिला गर्ने मितिअगावै निर्वाचन आयोगमा बुझाउनुपर्ने प्रावधान छ।

आयोगले समानुपातिकतर्फको मनोनयन पुस १३ र १४ गते सम्पन्न गरिसकेको छ भने प्रत्यक्षतर्फको मनोनयन माघ ६ गतेका लागि तोकिएको छ । आयोगले गत मंसिर १ गतेदेखि १४ गतेसम्म दलहरूबाट मनोनयन पत्रमा हस्ताक्षर गर्ने अधिकारीको नाम र हस्ताक्षर नमुना संकलन गरेको थियो । तर, सो विवरण परिवर्तन गर्नुपर्ने अवस्था आएमा के गर्ने भन्ने प्रश्न उठेको हो । त्यस्तो पदाधिकारीको नाम, थर, पद तथा हस्ताक्षर नमुना सम्बन्धित दलले प्रमाणित गरी उम्मेदवारको मनोनयन पत्र दाखिला गर्ने मितिअगावै निर्वाचन आयोगमा बुझाउनुपर्ने प्रावधान छ ।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका एक अधिकारीका अनुसार हस्ताक्षरकर्ताको नाम परिवर्तन गर्नुपरेमा कारण खुलाएर निवेदन दिन सकिनेछ । पार्टी एकीकरण वा अन्य विशेष कारणले विवरण अद्यावधिक गर्नुपर्ने भए आयोगले अध्ययन गरी निर्णय गर्नेछ । ‘कुनै दलले आधिकारिक निर्णय गरेर पठाएमा र निर्वाचन आयोगले त्यसलाई स्वीकृति दिएमा मनोनयन पत्रमा हस्ताक्षरकर्ताको नाम परिवर्तन हुन सक्छ’ –ती अधिकारीले भने ।

यसैबीच, हालै पार्टी एकीकरण भएका कारण केही दलले विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) बीच एकीकरण भएपछि दलको विवरण अद्यावधिकका लागि आयोगमा निवेदन पेस गरिएको छ ।

गत आइतबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच एकीकरण सम्झौता भएको थियो । एकीकरणपछि पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल राखिएको छ भने चुनाव चिह्न ‘छाता’ कायम गरिएको छ । नवगठित पार्टीको संरक्षकमा महन्थ ठाकुर र अध्यक्षमा उपेन्द्र यादव रहेका छन् । दुई पार्टी एक भएपछि लोसपाले समानुपातिकतर्फ दिएको उम्मेदवारी फिर्ता लिएको छ । लोसपाका नेताहरूलाई उम्मेदवारी फिर्ता गराएर जसपाको समानुपातिक सूचीमा समावेश गरिएको छ । हाल दलको विवरण हेरफेरसम्बन्धी निवेदनमाथि आयोग अध्ययनरत रहेको जनाएको छ ।

Read more news from News of Nepal

Explore by Source or Category