नेपालीपोष्ट
सम्भोगदेखि समाधिसम्मको यात्रा

म ०३७ साल तिर काठमाण्डौमा अध्ययन गरिरहेको थिएँ । मलाई झिनो सम्झना छ त्यसवेला रजनीश आशो (आचार्य रजनीश) को नेपालमा दोस्रो पटकको भ्रमणमा नेपाल आउने व्यवस्था रहेछ । त्यतिवेला मलाई योग सम्वन्धमा थोरै चासो थियो तर त्यति धेरै ज्ञान भने थिएन । उनको काठमाण्डौको पहिलो भ्रमण २२ मार्च १९७० मा भएको र त्यति वेला उनले १० वटा महत्वपूर्ण कुरामा भाषण दिएका थिए । उनले खासगरी अष्टवक्र गीताका बारेमा महत्वपूर्ण व्याख्या गरेका थिए ।
मेरो डेरामा केही पञ्च दाजुहरु पनि केही दिनका लागि बसेका थिए । उनीहरु ओशोको विरोधमा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा जाने कुरा गरिरहेका थिए । तर किन मलाई थाहा थिएन । उनीहरु भन्दै थिए त्यो यौन पिपाशुले संसारै बिगार्यौ अब नेपाल बिगार्ने भयो । किन त्यसो भनेको होला मलाई चासो त भयो तर मलाई ओशोका बारेमा ज्ञान थिएन ।
अहिले आएर थाहा भयो उनको विरोध गर्नुको कारण । उनको सम्भोगदेखि समाधिसम्म भन्ने विचार र मानिसहरुलाई प्रकृतितर्फ फर्कन गरेको आवाजले नै सत्तामा भएका मानिसहरु त्रसित भएका रहेछन् । आज त्यसै विचारलाई मैले बुझेको केही कुरा सरल भाषामा व्याख्या गर्न खोजिरहेकोछु ।
के हो त सम्भोगदेखि समाधिसम्म ? सुन्दा मलाई पनि शुरुमा त अनौठो लाग्यो कता सम्भोगबाट समाधिमा पुग्न सकिन्छ ? ठीक विपरित ध्रुवका कुराहरुको कसरी मिलन हुन्छ । कता मैले त्यतिवेला बुझेको समाधि कता संभोग ? छाडा बुढा ! भन्ने जस्तो लाग्यो र पञ्च दाइहरुले जहाजै बस्न नदिने भनेर सुर्रिएर गएको उचितै लाग्यो । वास्तवमा सोझो बुझाइले त यी दुइ विपरित कुरा कसरी जोडिन सक्छन् ?
यो हचुवाको कुरा होइन रहेछ अहिले बुझ्दा । यो त वैज्ञानिक कुरा रहेछ ।
सम्भोगदेखि समाधिसम्म झट्ट सुन्दा त अनौठो नै लाग्छ । तर त्यस्तो आत्तिइहाल्नु पर्ने त केही होइन रहेछ ।
उनले भनेको खाट्टि कुरा चाहिं के रहेछ भने संभोगभन्दा आनन्ददायी कुरा चाहिं समाधि हो, तर संभोगको आनन्दमा पल्केका मानिसहरुलाई कसरी समाधिको यात्रामा पुर्याउने ? भन्ने अचूक उपायको खोजिरहेछ त्यो त ।
यदि हामीले आफूमा आएको कामवासनालाई वास्तवमा नै नियन्त्रण र व्यवस्थापन गर्ने तरिका जान्यौ भने त्यस कार्यले जीवनलाई नै कताबाट कता पुर्याउने रहेछ । जीवनको बाटो नै अर्कै हुने रहेछ । बाटै अर्कै हुने रहेछ ।
मानव शरीर एउटा रहस्यमय यन्त्र हो । खोयाको घर जस्तो अनेकन हाडका टुक्रा जोडजाड गरेको, कतै एउटा टुक्रा खुस्कियो कि गल्र्याम्गुर्लम् भएर सोत्तर हुने । लहराका त्यान्द्राहरुले जेल जाल पारेर माटोले लिपेर खडा गरेको । खेतबारीमा राखेको काग तर्साउने वुख्याचा जस्तो । यसो मासुले जेलेर अड्याइएको । भित्र भित्र पानी जस्तो रगत कुँद्ने, हावा छिर्ने कामै नलाग्ने ।
मूर्ख मान्छे आफ्नै शरीरको भाषा बुझ्दै बुझ्दैन
आफैंलाई नबुझ्ने छ यो मूर्ख मानव अरुको के बुझ्छ ? आफूलाई कहिल्यै बुझ्ने कोशिसै गरेको छैन कसरी बुझ्छ भित्रको कुरा ? मान्छे भित्र रहेको उर्जाले समय समयमा अनेकन भाषा बोलिरहेको हुन्छ ।
जब कुनै शिशु जन्मन्छ उ शुद्ध हुन्छ, उसमा कुनै लोभ, लालच, घमण्ड, इर्ष्या, द्वेष हुँदैन । उ शुद्धमात्र होइन निर्दोष पनि हुन्छ । उसको चेत संसारका कुनै पनि आकर्षणहरुले दूषित गरिसकेको हुँदैन । उ जतिजति बढ्छ तब उसभित्र इच्छाहरु अङ्कुरित हुन थाल्छन् । रुसोले भने जस्तो मानिस जन्मदा स्वतन्त्र जन्मन्छ तर विस्तारै उ सिक्रीमा बाँधिन्छ । उ आफ्नै इच्छा, कामना, लोभ, मोह, अहंकार, तृष्णा आदिको दास भएर जीवन विताउँछ ।
शरीर मोटाउँदै गएपछि उसमा कामवासनाको पहिलो उर्जा प्रवेश हुन्छ । त्यो नै उसमा प्रवेश गरेको उर्जाको छायाँ हो । अहिले एउटा ठूलो जमात उर्जा खोज्न हिमाल, पहाड, मठ, मन्दिर, गुफा कन्दरा भौतारिरहेको छ । यहाँ उर्जा छ उहाँ उर्जा छ । यहाँ भगवान् छ त्यहाँ भगवान् छ । उसले आफैं भित्र भएको भगवान् त विर्सिसकेको छ । कस्तुरीले आफैं भित्र रहेको वास्ना खोज्दै दौडिए जस्तो गरिरहेको छ उर्जा खोज्न मान्छे ।
त्यो कामवासनाको उर्जा जब उसमा प्रवेश गर्दछ त्यो नै ईश्वरको उसभित्र प्रवेश गरेको पहिलो क्षण हो । मान्छेमा मान्छेप्रतिको आकर्षण जब शुरु हुन्छ तब तत्क्षण नै त्यही विन्दुमा उसमा ईश्वरीय उर्जा प्रवेश गरेको हुन्छ । त्यो पाप होइन मानिसमा ईश्वर प्रवेशको पहिलो क्षण हो त्यो । त्यो पुण्यको प्रवेश हो त्यो । त्यो उर्जाको स्वाभाविक, प्राकृतिक प्रकटीकरण एवं प्रवेशीकरण हो ।
पहाडभित्रबाट पानीको मूल फुट्नु, हिमालबाट सितल हावा वग्नु त्यो कुनै पाप हो र ? नारी वा पुरुषमा काम वासनाका उर्जा फुट्छन् । त्यो कुनै पाप त होइन । त्यो प्रकृति प्रदत्त उर्जा हो ।
जसरी पहाडको भित्रबाट पानीको मूल फुट्छ र हिमाल वा समुद्रबाट हावा उड्छ वादल बन्छ, त्यो वादल, पानी, हावालाई जता पायो त्यतै वग्न दियो भने पो त्यसले विनाश गर्दछ । पहिरो जाला, वाडीले सम्पूर्ण खेतवारी बगाउला, समुद्रबाट उडेको बादलले पानी मात्र होइन विनाश ल्याउला । तर त्यस्ता उर्जाहरुलाई ठीक ठाउँमा ठीक ढङ्गले प्रयोग गर्न सकेमात्र उपयोगमा ल्याउन सकिएला फल प्राप्त होला । नत्र त विनाश नै ल्याउने हो नि । ती सबै उर्जाकै रुप त हुन् । मानिस आफैं भित्र बगिरहेको उर्जा चिन्दैन ।
तर यसलाई समझदारी, इमान्दारी, साधना र जागरुकतामा रुपान्तरित गर्न सकियो भने पो त्यही उर्जाले ब्रह्मज्ञानको ढोका खोलि दिने हो त । हो, यही जागरण, समझदारी, साधनालाई सदुपयोग गरियो भने नै जीवनको नयाँ र सुमधूर यात्राको शुरुवात हुन्छ ।
जव हामीहरुले इच्छा र वासनाहरुलाई रुपान्तरित गर्छौं, त्यहींबाट नयाँ इच्छा जन्मन थाल्छन् । त्यही हो ईश्वर प्राप्तिको इच्छा । ती इच्छाहरु जन्मेपछि शरीरमा एक प्रकारको कम्पन शुरु भएको हुन्छ । जब शरीर भित्र कम्पन शुरु हुन्छ र हृदय भित्र कताकता कुनामा अज्ञात दिशा वा वस्तु प्रति आकर्षण हुर्रिन्छ ।
काम वासनाको विन्दु पनि त्यही हो । तर काम वासनालाई केवल शारीरिक सम्वन्ध मात्र मान्नु ठूलो भ्रम हो । यही बुझाइको भ्रम नै सम्भोगबाट समाधिसम्मको अर्थ नबुझ्ने भ्रम हो । यो त चेतनाको तृष्णा पो हो । अपूर्ण आत्मालाई पूर्णता तर्फ लैजाने बाटोमा अवरोध पनि यही हो । यो त आत्माको पूर्णताको खोज भन्ने बुझ्न ढिला भएको मात्र हो । यो आत्माको पूर्णताको खोज अरुको माध्यमबाट खोजिरहेको क्षण हो । हामीहरु यसलाई शारीरिक सन्तुष्टिका रुपमा लिन थाल्दछौं, आत्माको पूर्णताको खोज हो भन्ने चाहिं विर्सिदिन्छौं त्यसैले कालान्तरमा हामीलाई धोका हुन्छ । हामीलाई पीडा हुन्छ र रोगी पनि हुन्छौं भित्र भएको आत्माको पूर्णताका विन्दुहरु नभेटेर बाहिर बाहिर दौडिन थाल्छौं । मन्दिर, गुफा,पहाड,नदी, चर्च, मस्जिद तिर दौडन थाल्छौं । आफैं भित्र रहेको उर्जालाई बाहिर खोजेर पाइन्छ र ?
जब कुनै व्यक्ति आफ्ना वासनालाई केवल भोगबाट शान्त गर्ने प्रयत्न गर्दछ त्यसले कहिले पनि तृप्ति पाउँदैन । तपाईंहरु सैयौं सुन्दरी वा सुन्दरहरुसँग भोग गर्नुहोस् कहिल्यै पनि तृष्णा शान्त हुँदैन । सधैं झन् झन् बढिरहेको हुन्छ । किन ? किनकि तपार्इं गलत बाटोमा हिंडिरहनु भएको छ । गलत बाटोबाट कहिल्यै लक्ष्यमा पुग्न सकिन्न । मानवको लक्ष्य त दीर्घकालीन परम सुख प्राप्ति होइन र ? आत्मालाई तृप्त पार्ने कुरा भोग हैन योग हो । योगको अर्थ मिलन हो । भोग त क्षणिक मिलन मात्र हो । योगबाट मिलन चान्चुने मिलन होइन परम शान्तिसँगको मिलन हो, जीवन जीवन हज्जारौं जीवनमा परमात्मा, परंसुख, वा परमानन्दसँगको मिलन हो । कुनै परं सुन्दरी शान्ति नाम गरेकी केटीसँगको संभोगको मिलन त होइन नि । कतिपय शास्त्रहरुमा योगलाई आत्मा र परमात्माको मिलन भन्ने गरेको पाइन्छ । मेरो विचार के छ भने परमात्मा छन् कि छैनन् त्यसैमा विवाद छ । नभएको कुरामा कता मिलन हुन्छ ? यहाँ मानव मात्रको सिधासिधी दीर्घकालीन शान्तिको कुरा गरिरहेको छु । यो मिलन तपार्इं समाधिमा पुग्ने मार्ग पत्ता लगाउनुस् । संभोगमा प्राप्त हुने आनन्द भन्दा हजारौं हज्जार आनन्द त्यहाँ पाउनु हुनेछ । तपाईं बाँचिरहेकै वेला यहींबाट स्वर्गीय सुखको अनुभव गर्नुहुन्छ । प्रयास त गर्नुस् यो सहज पनि छ अप्ठ्यारो पनि छ । त्यो स्वर्गीय सुख पाउने एउटै माध्यम भनेको समाधिमा पुग्ने प्रयास हो ।
अव हामीलाई लाग्न सक्छ वासनामा पनि शक्ति हुन्छ ?
हुन्छ, वासनामा अनौठौ शक्ति दिव्य शक्ति लुकेको हुन्छ । शक्ति नभई कसरी एक अर्कामा आकर्षण हुन्छ ?
त्यो वासनामा लुकेको अनौठो शक्तिले हामीलाई आत्मगुफामा लान खोजिरहेको हुन्छ, हामी बाहिरी इच्छा चाहनाले वाहिरतिर धकिलिइरहेका हुन्छौं । हामीले त्यही बाहिर धकेल्ने ढोकालाई धकेलेर भित्र पस्न सकनु पर्दछ । हामीले यसको सतही रुपबाट पार पाउनु पर्छ ।
पहिलो पटक तपाईं कसैप्रति आकर्षित हुनु भयो भने विज्ञानले भन्ला त्यो हर्मनको कमाल हो । होइन त्यो त उर्जाको कमाल हो । यसको एउटा संकेत हो कि तपाईं भित्र उर्जा सक्रिय हुँदैछ । अब प्रश्न उठ्छ त्यो उर्जाले के गर्छ ? त्यस्तो उर्जा किन शरीरले बाहिर फ्याल्छ ? र त्यो उर्जालाई ध्यान, तपश्या र आत्म खोजमा केले रुपान्तिरित गर्छ ? तपाई कामवासनाबाट जन्मनु भो, कामवासनाबाट हुर्कनु भो अब कति त्यही कामवासनामा भौतारिइरहनु हुन्छ अव ढोका खोल्नुस् । समाधिको बाटोमा लाग्नु होस् स्थायी शान्ति तर्फ जानु होस् ।
हाम्रा प्राचीन ग्रन्थहरु भन्छन् काम नै परब्रह्म हो अर्थात् ब्रह्म ज्ञानको बीउ नै काम हो । त्यतिमात्र होइन कामेन विजितो ब्रह्मा, कामेन विजितो हर । ब्रह्मालाई पनि कामले जित्यो, विष्णुलाई पनि कामले जित्यो । मानिसले कामलाई जित्ने कुरा पनि त संभव भएन । देवताहरु नै कामसँगको युद्धमा हारेका छन् । यो यही माटोमा उम्रन्छ, जहाँ वासना पलाउँछ, हुर्कन्छ । यसलाई हामीले बुझेनौं, बुझन पनि प्रयत्न नै गरेनौं । मानिस काम वासनाको उत्कर्षमा जन्मन्छ र काम वासनामै जवान हुन्छ र काम वासनाकै वरिपरि मृत्यु प्राप्त गर्दछ । जुन कामले उसलाई मुक्ति दिनु पर्ने हो त्यही कामले उसलाई धमिरा झैं धुलो पीठो बनाइ दिन्छ ।
काम वासना दवायो भने समाधि लाग्ने हो त ?
योगीहरुले चिने र वेलैमा समाधिको प्रयासमा लागे । त्यसो हो भने के काम वासना दवायो भने समाधि लाग्ने हो त ? यो पनि समाधान होइन । कुनै कुरा दवाउनु भयो भने त्यो भित्र कुहिन्छ वा विकृत भएर बाहिर भकुण्डो जस्तो उफन्छ । कुहिन दिने वा विकृत भएर बाहिर उफ्रन दिने ? यो तपाईंमा भर पर्छ । यसको समाधान त काम वासनालाई रुपान्तर गर्ने हो । काम वासनाको अर्थ यहाँ उर्जा हो । उर्जाको रुपान्तरण नै समाधि हो ।
अव प्रश्न उठ्छ रुपान्तरण कसरी गर्न सकिन्छ त ?
हो, हामी रुपान्तरण गर्न सकिन्छ । जब हामी वासनात्मक उर्जालाई सूक्ष्म ढंगले नियाल्न थाल्छौं । त्यो उर्जालाई महशूस गर्न थाल्छौं,छाम्छौं,सुङ्छौ र पैलाउँछौं । साथै तिनलाई डर र दोष विना नै स्वीकार गर्दछौं तव त्यो उर्जाबाट विजुली जस्तै चमत्कार निस्कन्छ ।
त्यो मूलाधार चक्रमा गुजुल्टिएर रहेको उर्जा अचानक माथि आउँन थाल्छ । सहस्रार चक्रतिर उन्मुख हुन्छ । त्यहींबाट चेतनाको विकास हुन्छ र कुण्डलिनी जागरण हुन थाल्छ । यो कुनै जादूको विषय होइन यो हाम्रो शरीरभित्र रहेको उर्जाको प्रकटीकरण मात्र हो । शुद्धिकरण पनि हो । जुन अहिलेसम्म हामीले नजानेको, नछोइएको, कल्पना पनि नगरिएको ज्वाजल्यमान उर्जा हामी सामु आउँछ र हामीले देख्छौं, छुन्छौं । पहिले त्यही उर्जा दृष्टि, स्पर्श, कल्पना र सपनामार्फत् बाहिर बगाउँदै आएका थियौं । अब आफैं अनुभूत गर्न थाल्छौं ।
अब हामीमा यो चेतना आयो भने यही उर्जालाई हामी भित्र फर्काउन सक्छौं । यही अहिलेसम्म हामीले खेर फ्यालिरहेको उर्जा आत्मसाक्षात्कार तर्फ हामीलाई लान तयार हुन्छ । कामसँग डराउने होइन काम त साँध्ने विषय हो । कुनै एउटा सच्चा साधक कामसँग आकर्षित हुन्छ, उ आफूलाई दोषी ठानेर भाग्दैन । यो त उसका लागि अवसर हो केका लागि ? ध्यानका लागि । कामलाई केमा प्रयोग गर्ने त्यो त साधकको कुरा हो । काम घोडा हो चढेर गन्तव्यमा पुग्ने कि चौरमा छाडा छोड्ने ? जब काम प्रवल हुन्छ त्यो क्षण त अझ ध्यानमा प्रवेशका लागि सुन्दर अवसर हो ।
काम वासनाले जब मानिस उत्तेजित हुन्छ, उसको शरीर काम्छ, हृदय तेज गतिले धड्कन थाल्छ, स्वास फ्वाँ फ्वाँ गरिरहेको हुन्छ ,आँखा चाहनाले भरिन्छन् त्यस समयमा यदि साधकले आँखा चिम्लिएर त्यो कम्पन्नपूर्ण उर्जालाई शरीरको भित्री गुफामा अनुभव गर्न सक्यो भने उसले थाहा पाउँछ उसभित्र मेरुदण्डको कुना कुनामा अग्नि भित्र बाहिर तल माथि दौडिरहेको हुन्छ । शरीर भित्र नशा नशामा उर्जा घनिभूत भएर ठूला ठूला नदीको पानी जस्तै सलल बगिरहेको हुन्छ । हो, त्यही अग्नि तप बन्छ र त्यही तपले ब्रह्म ज्ञानको ढोका खोलि दिन्छ । यसै अर्थमा प्राचीन तान्त्रिकहरुले शिव (आदि पुरुष) र शक्ति (आदि नारी) का रुपमा वर्णन गरेर सम्भोगलाई ध्यानको द्वार भन्न भ्याएका छन् किनभने, जब शरीर, मन र आत्मा (चेत) एकै साथ जागरुक हुन्छन् । त्यतिवेलामा मात्र पूर्ण ध्यान लाग्दछ । यो ध्यानी तथा ज्ञानीको मात्र कुरा हो तर सामान्य मानिस त शरीरमा मात्र अल्झिरहेको हुन्छ । शारीरिक सुखमै उ मस्त हुन्छ ध्यानबाट समाधिमा पुग्ने त उसको बुद्धिको बिर्को नै खुलिसकेको हुँदैन । उसले त्यो अमुल्य समय बिताइसकेको हुन्छ । जसको जगमा उसको आत्मा जाग्न सक्थ्यो त्यो त वितिसकेको हुन्छ ।
ध्यान तथा समाधिको यात्रा सामान्य कुरा ठानेर कतिपय मानिसहरु अहिले आँखा चिम्लेर उङिरहेको देख्छु । उङ्नु, ध्यान तथा समाधिमा पुग्नु आकाश जमिनको अन्तर छ त्यस्तै अन्तर हुन्छ यहाँ । समाधिको यात्रा त साहसी, विश्वासी र त्यागीको यात्रा हो । जसले आफू भित्र रहेको प्रकाशमय अग्निलाई देख्दछ । उ आगो देखेपछि भाग्दैन नजिक गएर ताप्न थाल्दछ । त्यो अग्निकुण्डमा प्रवेश गरेपछि पो आगोको राप थाहा हुन्छ । त्यसैले यो यात्रा यौन उर्जालाई अस्वीकार होइन स्वीकार गर्ने यात्रा हो । तर यस स्वीकृतिमा पूर्ण सजगता हुन्छ ।
वासनाहरुप्रतिको आकर्षण पाप होइन
कोही हाँस्दैछ प्रत्येक हँसाइमा हाँस्न सकोस्,कोही नाच्दैछ प्रत्येक पाइलामा ध्यान पुर्याओस् र कोही आगोमा हिंडिरहेको छ, पाइलै पिच्छे सजगता अपनाइरहेको होस् । यही सजगतापूर्ण उर्जालाई ब्रह्म रुप शक्तिमा रुपान्तरण गर्न सकिन्छ । तर यहाँ मैले कुनै काल्पनिक ईश्वरको कुरा गरिरहेको छैन । त्यस उर्जालाई परब्रह्म ज्योतिको रुपमा स्वरुप परिवर्तन गर्न सकिन्छ । यही बाटोबाट सम्भोग उर्जालाई समाधिमा रुपान्तरण गर्न सकिन्छ ।
जब यो उर्जा मूलाधारबाट सहस्रारमा पुग्छ तब पो साधक रमाउँछ । एकपटक समाधिमा पुगेको साधक पल्कन्छ । स्वर्ग त्यही छ । आनन्द, सुख, सबै त्यहीं छ त अन्यत्र किन खोजोस् । अब साधकले आफूलाई विर्सन्छ सबै कामना विर्सन्छ । हिजोको नाटकीय ध्यान त समय वर्वादी मात्र रहेछ भन्ने ठान्छ । अब उ शून्यमा छ । जब उ यो संसारमा छैन त यहाँको सुखदुख सँग उसको के रोइलो हुन्छ र ? त्यही शून्यतामा उसले ईश्वर, परमात्मा, देवता, परमानन्द सबै प्राप्त गर्दछ । यसैलाई परं ज्ञान,ब्रह्म ज्ञान आदि साधकहरु भन्ने गर्दछन् । यो कुनै कोरा कल्पना होइन ।
यो नै ध्यान, ज्ञान, चेतना र उर्जाको विज्ञान हो । यसैको माध्यमबाट परमात्मा पाउन सकिन्छ । तर यो विज्ञान बुझ्न पुस्तक पढेर वा कसैले सिकाएर मात्र हुँदैन यो त प्रयोगात्मक विज्ञान हो, आफैंले आफैंमाथि प्रयोग गर्ने विज्ञान । यसमा जीवनमा अनुभव, तप गर्नु पर्दछ । आफूले आफैंलाई जलाउनु पर्दछ । जब साधक यो यात्राबाट उत्रन्छ तब काम नै राम हुन्छ र वासना पनि समाधि भएर उत्रिन्छ । गुरुले धामी उतारे जस्तै । वासना त समाधिमा गएर विलीन हुन्छ । अब साधकलाई बाहिरी अँध्यारोले केही नाप्दैन । अग्नि प्रवेशबाट उ भित्री उज्यालोमा पुग्छ । त्यो उज्यालो हामीले युगौं युगदेखि दवाएर राख्यौं, लुकायौं र इन्कार गर्यौं त्यो त एकछिन मै उज्यालोमा परिणत हुन्छ ।
वासनाहरुप्रतिको आकर्षण पाप होइन । यो त हाम्रो आन्तरिक चित्कार हो । अधुरा भावना, चाहना र आत्माको गहिरो पुकार पो हो भनेर हामीले बुझछौं । साधकको वासना त उसको मिलनको तृष्णा हो । कुनै विपरित लिङ्गीसँगको शरीर भोगको तृष्णा मात्र होइन त्यो त अन्तिम सत्यसँग उसको भेटको अन्तिम गन्तव्य हो ।
जब मानिसले यी कुरा बुझ्छ तब त संभोग समाधिसम्म अर्थात् अँध्यारोदेखि उज्यालो तर्फको यात्राको रुपमा नयाँ संसारमा प्रवेशका रुपमा बुझ्न थाल्छ । त्यही हो संभोगदेखि समाधिसम्मको यात्रा । यसमा किन आत्तिनु पर्ने हो र ? यो त प्राकृतिक कुरा हो । यही रहेछ रजनीशको सम्भोगदेखि समाधिसम्मको यात्रा । समाधि तर्फको यात्रामा तपाईं पनि समयमा नै सामेल हुने कि ?