npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

असोजमै बनेको थियो एसबीआई बैंक लुटपाटको योजना: मुख्य योजनाकार घरबेटीसहित ७ जना पक्राउ

क्लिकमान्डु 9 hours ago

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा भएको करोडौँको लुटपाट महिनौं लामो योजनापछि गरिएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार यस लुटपाटको षड्यन्त्र २०८२ सालको असोज महिनादेखि नै बुनिएको थियो । उक्त समूहले पटक-पटक लुटपाट गर्न खोजे पनि असफल भएको प्रहरीको भनाइ छ ।

‘पक्राउ परेका व्यक्तिहरूको प्रारम्भिक सोधपुछबाट उनीहरूले असोजदेखि नै बैंक लुट्ने योजना बनाएको देखिन्छ । यो समूहले पटक–पटक लुटपाटको असफल प्रयास समेत गरेको थियो,’ एसपी सुवेदीले भने ।

उक्त समूह बैंक लुट्न पुस २३ गते पनि दुईवटा भाडाका मोटरसाइकल लिएर पुगेका थिए, तर परिस्थिति अनुकूल नभएपछि उनीहरू रित्तै फर्कनुपरेको थियो ।

पुस २३ को असफलतापछि यो समूह पुनः २८ गते काठमाडौंको कोटेश्वरमा भेला भएको थियो । तर, सो दिन ढिलो भएका कारण योजना सफल हुन सकेन । त्यसको भोलिपल्ट अर्थात् २९ गते उनीहरू सार्वजनिक बस चढेर बनेपा पुगे र त्यहाँबाट बाप्र ०३–००१ ख ५८९८ नम्बरको टाटा सुमो रिजर्भ गरी घ्याङलेखतर्फ लागेको अनुसन्धानबाट खुलेको छ ।

यसरी भयो लुटपाट

पुस २९ गते साँझ ७:३० बजे ५ जनाको समूह बैंकभित्र प्रवेश गरेको थियो । ‘लुटेराहरूले बैंकमा आएर सुरक्षा गार्ड रुद्र कार्की र कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई नियन्त्रणमा लिई खुकुरी समेत प्रहार गरेर नगद लुटेको सूचना हामीलाई प्राप्त भयो,’ एसपी सुवेदीले घटनाको विवरण दिँदै भने।

लुटेराहरूले गार्ड र कर्मचारीहरूको हात–खुट्टा बाँधेर र मुखमा टेप टाँसेर दुईवटा कोठामा बन्धक बनाएका थिए । त्यसपछि उनीहरूले बैंकका शाखा प्रमुखलाई प्लास्टिकको नक्कली पेस्तोल देखाई डर–त्रास देखाएर बैंकको मुख्य भल्टको ताल्चा खोल्न लगाए ।

बैंकको सूचना अनुसार उक्त भल्टबाट ३ करोड ७ लाख रुपैयाँ बोरा र झोलाहरूमा भरेर उनीहरू फरार भएका थिए ।

लुटारासँग कसरी पुग्यो प्रहरी?

घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बस्तीपुरको टोली घटनास्थल पुगेर बन्धक बनाइएका कर्मचारीहरूको उद्धार गरेको थियो ।

घटनाको गम्भीरतालाई हेर्दै एसपी सुवेदी आफैँ ५० जनाको प्रहरी टोली लिएर अपरेसनमा खटिएका थिए ।

खोजतलासका क्रममा प्रहरीले घटनास्थलबाट २ किलोमिटर पूर्व लिपिखोला भन्ने ठाउँमा रिजर्भमा लगिएको टाटा सुमो र चालक भगवत सिंह थापालाई फेला पार्यो । ‘चालकले बनेपाबाट ६ जनालाई ल्याएको र उनीहरू आउने पर्खाइमा बसेको बताएपछि हामीलाई शंका लाग्यो र उनलाई नियन्त्रणमा लियौँ,’ एसपी सुवेदीले भने ।

चालकको हुलियाका आधारमा रातभर जंगलमा चलाइएको सर्च अपरेसनका क्रममा जंगलका विभिन्न स्थानमा बोरामा लुकाइएको र छरपस्ट अवस्थामा रहेको १ करोड ८ लाख १० हजार ५०० रुपैयाँ २९ गते राति नै बरामद भयो ।

यस्तै, पुस ३० गते बिहान घ्याङलेख–१ सुकाचुराबाट स्थानीयको सहयोगमा ४ जना शंकास्पद व्यक्तिहरूलाई प्रहरीले पक्राउ गर्यो । उनीहरूको साथबाट ५ लाख ९ हजार ६७५ रुपैयाँ फेला पर्यो भने उनीहरूकै बयानका आधारमा जंगलमा लुकाइएको थप ८३ लाख ३५ हजार रुपैयाँ बरामद भएको एसपी सुवेदीले जानकारी दिए ।

हालसम्म प्रहरीले कुल २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद गरिसकेको जनाएको छ ।

बैंक लुटपाटमा घरधनीकै मुख्य योजना

प्रहरीको प्राविधिक विश्लेषण र पक्राउ परेकाहरूको बयानबाट बैंक रहेको घरका धनी छविलाल स्याङ्तान नै यो घटनाको मुख्य योजनाकार रहेको खुलासा भएको छ ।

‘यो बैंक लुटपाटमा घरधनी छविलाल स्याङ्तानको भूमिका मुख्य देखिएको छ, उसैले हातहतियार, सूचना र निर्देशन दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ एसपी सुवेदीले भने ।

प्रहरीले घरधनी स्याङ्तान र माघ १ गते जंगलमा लुकिछिपी बसेका अर्का अभियुक्त घरधनीका जेठान चतुरमान बज्युलाई समेत पक्राउ गरिसकेको छ ।

को–को परे पक्राउ ?

प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा ७ जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक साविक फलामेटार–२ भई हाल बनेपा बस्ने सुमो चालक भगवत सिंह थापा, सिन्धुली घ्याङलेख–२ का चतुरमान बज्यु, चितवन भरतपुरका सशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्याका निरन गिरी र विवेक थापा, घरधनी छविलाल स्याङ्तान र एक १६ वर्षभन्दा कम उमेरका किशोर रहेका छन् ।

प्रहरीले लुटिएको नगदका साथै घटनामा प्रयोग भएका २ थान खुकुरी, १ थान प्लास्टिकको नक्कली पेस्तोल, ५ थान मोबाइल, १ थान ठूलो टेप, ३ थान कालो नकाब, १ थान रातो नकाब र एक जोर कालो पञ्जा समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरूलाई पुस २९ गतेबाट लागू हुने गरी ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । एसपी सुवेदीले भने,’अनुसन्धान अझै सकिएको छैन, थप मानिसहरूको संलग्नताका बारेमा हामीले सूक्ष्म ढङ्गले अनुसन्धान गरिरहेका छौँ ।’

Read more news from Clickmandu

Explore by Source or Category