निर्जीवन बीमकको सर्वाधिक व्यापार मोटर बीमातर्फ, अन्य सेक्टरबाट कति ? (बजार हिस्सासहित)
काठमाडौं । निर्जीवन बीमकले सर्वाधिक व्यापार मोटर बीमामा देखिएको छ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२।८३को ७ महिना माघसम्म निर्जीवन बीमकहरुले २८ अर्ब २७ करोड ४६ लाख रुपैयाँको कुल बीमाशुल्क संकलन गरेका छन्। त्यसमध्ये १४ वटा निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमकले मोटर बीमातर्फ ९ अर्ब १५ करोड ९९ लाख रुपैयाँ व्यापार भित्र्याएका छन्। यो अघिल्लो आर्थिक वर्ष २०८१।८२ को सोही अवधिको तुलनामा १९.९५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले मोटर बीमामार्फत ७ अर्ब ६८ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए।
कम्पनीहरुको दोस्रो धेरै व्यापार सम्पत्ति बीमातर्फ देखिएको छ। अघिल्लो वर्ष माघसम्म कम्पनीले सम्पत्ति बीमातर्फ ६ अर्ब ३३ करोड ४५ लाख रुपैयाँको व्यापार ल्याएकोमा समीक्षा अवधिसम्म ६.९८ प्रतिशतले बढेर ६ अर्ब ७७ करोड ६९ लाख रुपैयाँ भित्र्याएका छन्।
यसैगरी तेस्रो धेरै व्यापार कम्पनीहरुले इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामार्फत भित्र्याएका छन्। समीक्षा अवधिसम्म यो क्षेत्रबाट कम्पनीले ४ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २५.११ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले यो सेक्टरबाट ३ अर्ब ६१ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए।
चालु आर्थिक वर्षको माघसम्म कम्पनीहरुले विविध बीमातर्फ ३ अर्ब ६ करोड ९० लाख रुपैयाँ, सामुद्रिक बीमातर्फ १ अर्ब ७४ करोड १३ लाख रुपैयाँ, हवाई बीमातर्फ १ अर्ब २८ करोड १६ लाख रुपैयाँ, कृषि तथा बाली बीमातर्फ ९८ करोड २८ लाख रुपैयाँ र लघु बीमातर्फ ७४ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले विविध बीमातर्फ २ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ, सामुद्रिक बीमातर्फ १ अर्ब ४५ करोड ५६ लाख रुपैयाँ, हवाई बीमातर्फ १ अर्ब ३५ करोड ५० लाख रुपैयाँ, कृषि तथा बाली बीमातर्फ ९६ करोड ४७ लाख रुपैयाँ र लघु बीमातर्फ ५१ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार विविध बीमातर्फ ७.४९ प्रतिशत, सामुद्रिक बीमातर्फ १९.६२ प्रतिशत, कृषि तथा बाली बीमातर्फ १.८७ प्रतिशत र लघु बीमातर्फ ४५.१२ प्रतिशतले बढेको छ भने हवाई बीमातर्फ ५.४२ प्रतिशतले घटेको छ।
बजार हिस्सा कति ?
चालु आर्थिक वर्षको माघसम्म कम्पनीहरुको कुल व्यापारमा मोटर बीमाको सर्वाधिक ३२.४० प्रतिशत देखिएको छ।
यसैगरी कुल व्यापारमा सम्पत्तितर्फ २३.९७ प्रतिशत, इन्जिनियरिङ तथा ठेक्का जोखिमतर्फ १५.९८ प्रतिशत, विविधतर्फ १०.८५ प्रतिशत, सामुद्रिकतर्फ ६.१६ प्रतिशत, हवाईतर्फ ४.५३ प्रतिशत, कृषि तथा बालीतर्फ ३.४८ प्रतिशत र लघुतर्फ २.६४ प्रतिशत रहेको छ।