npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

पूर्णबहादुरलाई गुरुराज घिमिरेको काउन्टर, राजनीतिक प्रपोगाण्डा नगरौं

अनलाइन टीभी 10 hours ago

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले २९ जनाले हस्ताक्षर फिर्ता लिएको दाबी गरेका छन् । कांग्रेस संस्थापन पक्षका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार निर्वाचन आयोग पुगेर ८८५ जनाले हस्ताक्षर फिर्ता लिएको दाबी गर्दै कागजात बुझाएपछि त्यसको खण्डन गर्दै गगन थापा पक्षीय कांग्रेस महामन्त्री घिमिरेले त्यसको प्रतिवाद गरेका हुन् ।

नेपाली कांग्रेसका तत्कालीन कार्यबाहक सभापतिले निर्वाचन आयोगमा पुगेर उठाएका केही विषयप्रति गम्भीर ध्यानाकर्षण भएको उनले जनाएका छन् । छ। कांग्रेसको ऐतिहासिक विशेष महाधिवेशन सम्पन्न भई केन्द्रीय कार्यसमितिको गठनसमेत भइसकेर आवश्यक सम्पूर्ण दस्तावेज निर्वाचन आयोगमा पुगिसकेको पृष्ठभूमिमा केही महाधिवेशन प्रतिनिधिको संख्याको फिर्ताको प्रसंग तर्कहीन भएको उनको भनाइ छ ।

महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनमा सहभागी भएर मतदान वा सर्वसम्मत रुपमा नेतृत्व चयनसमेत भइसकेपछि यो विषय उठाउनु केवल राजनीतिक प्रपोगाण्डा मात्र भएको उनले दाबी गरेका छन् ।

‘तत्कालीन केन्द्रीय कार्यसमितिले आफ्नो वैधानिक दायित्वबाट पन्छिएर विशेष महाधिवेशनको मागलाई तीन महिनासम्म छलफलको विषय नबनाउने र विशेष महाधिवेशन नैं औचित्यपूर्ण छैन भनी तत्कालीन कार्यसम्पादन समितिले निर्णय गर्ने, नियमित महाधिवेशनको कार्यतालिकाको पालना नगर्ने, क्रियाशील नवीकरण, वितरणको कार्य सम्पन्नसमेत नगरीकन बिना सूचना वडा अधिवेशन रोक्ने, त्यसको दुई दिनपछि तत्कालीन कार्यसम्पादन समितिको बैठक राखेर चार महिनापछि नियमित महाधिवेशनको मिति घोषणा गर्नु विधिसम्मत देखिदैन। तत्कालीन केन्द्रीय समिति आफैं तत्कालीन कार्यतालिकाको उल्लंघनकर्ता हो,’ उनले भनेका छन् ।

घिमिरेले विशेष महाधिवेशन आयोजनाका लागि निवेदनमा हस्ताक्षर गरेका सम्पूर्ण प्रतिनिधिमध्ये जम्मा २९ जना महाधिवेशन सदस्यले मात्र फिर्ता लिएको अभिलेख सचिवालयमा रहेको उल्लेख गरेका छन् ।

‘विशेष महाधिवेशनको माग गर्दा २४८८ जना महाधिवेशन सदस्यको संख्या रहेको, जुन सम्पूर्ण सदस्य संख्या ४६३५ को ५४.५८५ रहेकोमा महाधिवेशनमा सहभागी संख्या २६५२ अर्थात् ५७.२१ प्रतिशत रहेको जानकारी गराइन्छ,’ घिमिरेले भनेका छन् ।

Read more news from Online Tv Nepal

Explore by Source or Category