npl.977 Nepal News Stream

Nepali Link

क्यान्सर पीडित महिलाहरुको सहयोगार्थ बेलायतमा च्यारिटी रन, मनिषाले दिइन् शुभकामना

Nabin Pokharel 7 hours ago

अभिनेत्री मनिषा कोइराला र नेपलिज डक्टर्स एसोसिएसन यूके अध्यक्ष डा. आरती थापा (दायां)

लन्डन । नेपलिज डक्टर्स एसोसिएसन यूकेले नेपालका क्यान्सर पीडित महिलाहरुको सहयोगार्थ च्यारिटी दौड गर्ने तयारी गरेको छ । एसोसिएसनले आउंदो १४ डिसेम्बर आइतबार क्यान्सर केयर नेपालको सहयोगार्थ कोष संकलन गर्न रिजेन्ट्स पार्कमा ५ के र १० के दौड गर्न लागेको हो ।

एसोसिएसनकी अध्यक्ष डा. आरती थापाले नेपालमा पाठेघरको क्यान्सर उन्मूलन गर्ने अभियानमा सघाउन क्यान्सर केयर नेपाललाई सहयोग गर्न अपिल गरेकी छन् ।

‘लन्डनमा आयोजना हुने यस च्यारिटी कार्यक्रममार्फत तपाईंको सहयोगले नेपाली महिलाहरूलाई असर गर्ने विशिष्ट एचपिभी प्रकारहरू पहिचान गर्न अध्ययनका लागि कोष जुटाउन मद्दत गर्नेछ’, एसोसिएसनकी अध्यक्ष डा. आरती थापाले भनिन्, ‘यो अध्ययन तथ्याङ्कले राम्रो रोकथाम, स्क्रिनिङ सुधार र अझ प्रभावकारी खोपमा परिवर्तनलाई समर्थन गर्नेछ जसले गर्दा आउने पुस्ताका लागि हजारौं बिरामीको जीवन बच्नेछ ।’

उक्त दौडमा सहभागी हुन गइरहेका दिवाकर हमाल, प्रभाकर हमाल, ऐस्ता सुब्बा, अलका सुब्बा, सोफी नेपाली, निकोलस राडेगोन्डे, सविन जोशी, सेलिना जोशी, ओलम्पियन गौरिका सिंह, सशक्त थापा, शम्भु शाह, लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी अनुप शाह, निलय साह र म्याथ्यू सिंहलाई सहयोग गर्न एसोसिएसनले आग्रह गरेको छ ।

अभिनेत्री मनिषा कोइरालाबाट शुभकामना

क्यान्सर केयर नेपालकी अनररी अध्यक्ष अभिनेत्री मनिषा कोइरालाले आफ्नो संस्थाको सहयोगका लागि च्यारिटी दौड आयोजना गरेकामा नेपलिज डक्टर्स एसोसिएसन यूकेकी अध्यक्ष डा. आरती थापा, एसोसिएसन सदस्य डा. देव हमाल लगायत समस्त एसोसिएसन परिवार र धावकहरुप्रति आभार व्यक्त गरेकी छन् ।

यस दौडबाट संकलित कोषले नेपालमा पाठेघरको क्यान्सरका बिरामीको स्क्रिनिङ, प्रारम्भिक पहिचान र आवश्यक हेरचाह गर्न ठूलो मद्दत गर्ने अपेक्षा व्यक्त गर्दै क्यान्सर जितेकी अभिनेत्री कोइरालाले च्यारिटी रनको अग्रीम शुभकामना पनि दिएकी छन् ।

नेपालमा महिलाहरूमा क्यान्सरसँग सम्बन्धित मृत्युको प्रमुख कारण पाठेघरको क्यान्सर हो । तर, यो रोग धेरै हदसम्म रोकथाम गर्न सकिन्छ। ९८ प्रतिशतभन्दा बढी केस उच्च जोखिमयुक्त ह्युमन प्यापिलोमाभाइरस (एचपिभी) सँग सम्बन्धित छन्, जुन स्क्रिनिङमार्फत प्रारम्भिक रूपमा पत्ता लगाउन सकिन्छ।

सुधार बावजुद नेपालमा हाल केवल ११ प्रतिशत महिलाहरूको स्क्रिनिङ गरिएको छ, र हाल उपलब्ध एचपिभी खोपले देशमा पाइने सबै सामान्य भाइरस स्ट्रेनहरूलाई समेट्दैन ।

सहयोगका लागि यस लिंकमा क्लिक गर्नुहोस्

Read more news from Nepali Link

Explore by Source or Category