News of Nepal
खेलकुद क्षेत्रको विकासका लागि ‘पेसएक्स स्पोटर्स’ कार्यक्रम घोषणा
भक्तपुर ।
नेपाली खेलकुद क्षेत्रको विकासमा योगदान गर्ने उद्देश्यले ‘पेसएक्स स्पोटर्स’ कार्यक्रम घोषणा गरिएको छ ।
सो कार्यक्रमका बारेमा जानकारी दिन आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संस्थाको संस्थापक अध्यक्ष संगीता कर्णले खेलकुदलाई शिक्षा, जीवनशैली र राष्ट्रिय विकासको अभिन्न अंगका रूपमा स्थापित गर्ने उद्देश्यले कार्यक्रम सार्वजनिक गरिएको जानकारी दिनुभयो ।
“प्रतिभावान् खेलाडीको पहिचान गरी खेलाडीहरूको शारीरिक, मानसिक र नैतिक विकास गर्दै स्थानीय तहबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने स्पष्ट मार्ग निर्माण गर्नु संस्थाको मुख्य उद्देश्य रहेको अध्यक्ष कर्णले बताउनुभयो ।
‘पेसएक्स स्पोटर्स’लाई प्रशिक्षण केन्द्रमा सीमित नराखी खेलाडी, विद्यालय, समुदाय, निजी क्षेत्र तथा खेलकुदसँग सम्बन्धित निकायलाई जोड्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिइएको उहाँको भनाइ छ ।
जस अन्तर्गत प्रतिभा पहिचान र विकास, खेलाडीको समग्र विकास, विद्यालय तथा कलेज खेलकुद, कार्यस्थलमा आधारित खेलकुद तथा स्वास्थ्य कार्यक्रम, प्रतियोगिता तथा सामुदायिक संलग्नता लगायत गतिविधि सञ्चालन गरिने पेसएक्स स्पोटर्सले जनाएको छ ।
पत्रकार सम्मेलनमा संस्थाका सिईओ सौरव सिंह र निर्देशक डा. रिसव दासले पत्रकारहरूको प्रश्नको जवाफ दिँदै संस्थाले विद्यालय तथा समुदाय स्तरमै खेल प्रतिभा पहिचान, खेलाडीको शारीरिक, मानसिक र नैतिक विकास, विद्यालय–कलेज खेलकुद कार्यक्रम, कार्यस्थल आधारित खेलकुद तथा स्वास्थ्य कार्यक्रम र प्रतियोगिता तथा सामुदायिक संलग्नतालाई प्राथमिकता दिने बताउनुभयो ।