npl.977 Nepal News Stream

नेपालीपोष्ट logo नेपालीपोष्ट

मोही खाने घर

ठाकुरप्रसाद बराल/वासिंगटन डीसी 2 months ago

उ त्यही हो, तिमीहरुका हजुरबाहरु आएर बसेको घरको अवशेष, पिताजीले चोर औंला तेस्र्याउँदै एउटा उजाड ठाउँ देखाउनु भयो । चोरै औंला अगाडि सारेर त नदेखाएको भए हुन्थ्यो, चोर औंलाले देखाएको फल त फतक्क कुहेर झर्छ भन्छन्, अब यो अवशेष पनि कुहेर झर्ने भो बुबा ।’ मैले असहमति प्रकट गर्दै भनें । ‘चोर औंलाले देखाएपछि सबै कुरा कुहिन्छ भनेर हजुरले नै सिकाउनु भएको होइन र ?’ मैले अझ थपें ।

‘नाथे जान्ने हुन्छस् ? जंगेले बोलेपछि बोल्यो बोल्यो । आफूभन्दा ठूलाले बोलेपछि प्रतिवाद गर्नै हुँदैन भन्ने तैले कहिल्यै सिकिनस् हैन ।’ पिताजीले अलि रिसाए जस्तो गरेर मलाई हेर्नु भो । म अदबका साथ उभिएर ‘हबस्’ भनें । हिजो त्यस्तो अनुशासन थियो, सानाले ठूलासँग गर्ने व्यवहार ठूलाले सानालाई सिकाउने इतिहास र चलन ।

हिजो जुन घरले मेरा बाबा(आमालाई हुर्कायो बढायो । त्यो घर त बुढो भएर ढलेछ । उसबेला उसँग गएर गफ गर्ने धेरै थिए । त्यो बाटो भएर हिंड्ने धेरैको त सित्तैमा खाने बस्ने सुविधायुक्त धर्मशाला नै भएको थियो, त्यो झाडीहरु विचमा अबशेष मात्र रहेको मेरो पुर्खेउली घर । धनकुटाका नौ भाषा ज्ञाता मानिने हेमचन्द्र गुरु भन्नु हुन्थ्यो ‘तिम्रो पुर्खेउली घर मेरो मावली घरजादाँ मोही खाने घर ।’ सुन्दा अचम्म लाग्ने, घरले पनि मोही खान्छ र ? नचाहिंने कुरा जस्तो लाग्थ्यो मलाई । कुरुलेका बारेमा हामीलाई त्यति थाहा जानकारी थिएन । हामी कुरुलेलाई पुर्खेउली थलो मान्दैनौं किनकी नत हामी कुरुलेमा जन्मियांै नत हाम्रा पूर्खाको उत्पत्ति थलो नै कुरुले हो तर पनि कुरुले बरालहको थलो भनेर चिनिन्छ, जुन अहिले सुनसान भइसकेको छ ।

यहाँ मोही खाने घरको बारेमा चर्चा थालिएको हो नकि हाम्रो पुर्खाको इतिहासका बारेमा । तर घरले मोही खाने होइन रहेछ । त्यहाँ पुगेपछि करीब ३ घण्टा उकालो हिंडेपछि तिर्खा मेट्न त्यहाँ पुग्दा जो गए पनि त्यो घरमा मोही खान पाउने रहेछन् । तिर्खा नलागे पनि मोही खानैका लागि त्यो घरमा निस्केर पानी माग्दा रहेछन् । पानीको विकल्पमा मोही दिने चलनरहेछ, त्यस घरमा । हो त्यही मोही खाने घर नै मेरा पुर्खाहरुको धनकुटेली पहिलो घर थियो । त्यो मोही खाने घरको मोही खानमा पल्केकाहरुको सूचीमा हेमचन्द्र गुरु पनि पर्नु हुँदो रहेछ । यो अतीत धेरै बितिसकेको अवस्थाको कुरा हो, जुनवेला हेमचन्द्र पोख्रेल उडेको चरो पक्रेर भूइँमा खसाल्ने ल्यागत राख्नु हुन्थो । उहाँको बल्दो जवानी प्रखर वाक्शक्ति देखेर सबै नतमस्तक नै हुन्थे ।

उसवेला त्यो घरमा शरण लिन जाने, त्यो बुढो घरसँग गफ गर्ने, ठट्टा गर्ने, आनन्द लिने धेरै रहेछन् । उसवेला त्यो बुढो घर गफिएर धेरैलाई मनोरञ्जन पनि दिंदो रहेछ ।

आज उ असरल्ल छरिएर आफ्नो पीडा त्यही बाटोबाट हिंडेर यात्रा गर्नेहरुलाई आफ्ना गाथा सुनाउन चाहान्छ । तर अहिले उसका कुरा सुन्ने कोही छैनन् फगत आफू अगाडि उभिएर छरिएका झार बुटाहलाई आफ्ना कथा सुनाउन खोज्छ तर तिनीहरु पनि आफैं पीडाग्रस्त छन् । कहिले कहीं झुक्किएर आउने चरा चुरुङ्गीहरु घर अगाडिको सुकेको रुखमा आएर चिरविर त गर्छन् तर भत्केको घरले चराको भाषा बुझदैन । चराले पनि त्यो भत्केको घरको भाषा बुझ्दैनन् । घरको आँगन नजिकै एउटा आँप र लिचीको बोटमा लटरम्म फल फलेर पाकिरहेका छन् । ती फलहरु फेदमा जताततै छरिएका छन् । कठै, यो मोही खाने घरका छोरा नाति कहाँ होलान् ? यी फल सायद प्रतिगोटा ५ डलरमा किनेर खाँदै होलान् पिरङ्गीको मुलुकमा । उनका सन्तानलाई यी फलका बोटको छहारीमा बसेर सुस्ताउने कहिले अवसर प्राप्त होला ? यो मोही खाने घर आज आफैं ढलेको छ । यसो सडकतिर कोही आएर मेरो दशामा माया प्रेम दर्शाउँछ कि ? भनेर सडक तिर हेर्छ, कहिले कहीं तर उसलाई फर्केर हेर्न कोही पनि पुगेको छैन त्यहाँ । हिजो मोही खानेहरु त मरिसके होलान् तिनका सन्तान दरसन्तान पनि पो त्यो बाटो भएर हिंड्दैनन् । उसको मन कुँडिन्छ, रुन्छ, डाको छोड्छ । उसबेला उसको आतिथ्य स्वीकारेर डकार आउञ्जेल खानेहरुका सन्तान दरसन्तान पनि मरिसके र ? अहँ छैेनन् होला, उ एकछिन विरक्तिएर घोत्लन्छ ।

मेरी आमाले ७ वर्षको उमेरमा मेरो ९ वर्षका वाबासँग विवाह बन्धनमा बाँधिएपछि बिताएको त्यो घरको अवशेष अझै पनि मेरी आमाको वालापन, अज्ञानता र वालसुलभ स्वभाव सम्झन्छ र भावविह्वल हुन्छ । मेरी आमाले भदौको दिन तातो घाममा दिनभरि मकै भाँचेर घरमा भित्र्याउनु भयो । साँझमा सबैलाई खाना पकाइ खुवाउनु पनि भयो । खाना खुवाएर भाँडा वर्तन माझ्नु भयो । सबैसँग आएर मकै झुत्याउनु भयो र सबै सुत्न गए । त्यहीँ निद्रा लागेर उहाँ सुत्नु भयो नझुत्याएको मकैको ढेरीमाथि । केही घण्टापछि उहाँ बिउझँदा आफूलाई शौच लाग्यो शौचको त्यतिवेला कुनै निर्दिष्ट ठाउँ हुन्न थियो रातिको समयमा, अँध्यारो निष्पट्ट छाम्दै घर पछाडि जानु भयो । कागतीको फेदमा त्यतिबेला नै म जन्मिएँ, ‘त्यसैले त तँ अलि कागती जस्तैछस् टर्राे टर्राे तर कागती जस्तै औषधी’आमा मलाई बारम्वार भन्नु हुन्थ्यो ।

त्यो मोही खाने घरमा अव कोही पुग्दैनन् । मान्छे कति स्वार्थी छ हैन, फाइदा लिन पाउञ्जेल त त्यहाँ बस्नेहरुको घुँइचो नै लाग्थ्यो । अहिले उसका प्रत्येक अङ्गहरु क्षतविक्षत भएर छरिएका छन् । टाउको एकातिर गिंड र हड्डीहरु अर्काेतिर गिद्धले लुछेको गाईको अवशेष जत्तिकै पो भइसकेको छ । हड्डी हड्डीले बनेको थियो र त्यो घर अवश्य होइन, यसको रमणीय छानो, बुट्टेदार झ्याल ढोकाहरु, चिटिक्कै परेको पुतली पाखो । आँगन र भित्ताहरु सिंगारिएकी बेहुली जस्तै सजाइएको थियो त्यो घुमाउने घर । हेर्दै बसौं बसौं लाग्ने कति मनोरम थियो त्यो मोही खाने घर । आज न मोही खाने आउँछन् न त हिजो दही मही दिने गाई भैंसीहरु नै छन् । हिजोका पुर्खाहरुले सजाएको यस घरका सन्तानहरु चाहिं कतै विदेशमा वालमार्टमा भटमासको मही किनेर ल्याई पिउँदै होलान् । ती मोही पिउनेका सन्तान दरसन्तानको पनि त त्यही हालत होला नि ।

चाडपर्व आउँदा त्यो मोही खाने घरमा नाति नातिनाहरुको ताँती लाग्थ्यो । रातो चामलको टीका र जमरा लगाएर दही, चिउरा, केरा, काँक्राको खल्पी ख्वाएर भान्जा भान्जी, छोरी चेलीलाई विदा गर्दा दक्षिणासमेत दिन सक्ने ल्यागतको त्यो घर धपक्कै बल्थ्यो, रातको समयमा पेरिस टावर जस्तै । परतिर माने भञ्ज्याङ्ग पुगेर उत्तर तर्फ हेर्दा सम्पूर्ण तमोर सम्यताको इतिहास खर्लप्पै पिउन पाइन्छ, त्यहींबाट । पाँचसय, अठारसय, डिहीटारका हरियालीयुक्त फाँटहरु, नावा खोला, मौवा र फुङलिङ त आँखै अगाडि देखिन्थ्यो नै अन्नपूर्ण, कन्चनजंगा हिमशृंखला नाकैमा ठोकिन आएको हो कि झैं लाग्छ त्यहाँबाट हेर्दा । त्यहाँ कुनै अप्राकृतिक टावर बनाउनु नै पर्दैन यो माने स्वयं प्राकृतिक धरहरा हो मेरो मोही खाने पुर्खेली घरको । दक्षिणतर्फ निलो भएर गड्गडाहटका साथ अविरल बगिरहेको तमोरले तल भैंसे, फलामेटार, सदाम, मुर्कुट्टे, बरालपुत्रीहरुको याक्चना खेतका साथै धनकुटाको सम्पूर्ण दृष्य खर्लप्पै देखिने माने डाँडाबाटै मानौं सारा नेपाल देख्न सकिन्छ । धनकुटाको कुरुले वाजथालाको मानेडाँडा एक पटक पुग्नु है, जहाँबाट नेपालमै पोटोम्याकको राष्ट्रिय वन्दरगाहको रौनक, ग्रेटफल्सको सौन्दर्य र मनासस पार्कको रमणीयता सर्लककै एकैपटक दृष्यपान गरेर मन्त्र मुग्ध हुनुहुनेछ । यी स्थान हेर्नका लागि लाखौं रुपैयाँ तिरेर अमेरिकासम्म आइपुग्नु पर्दैन नि त्यहींबाट पर्यटकहरुले ताप्लेजुङदेखिको सम्पूर्ण नागवेली पहाड र हरियो नदीले फेरो मार्दै सर्पझै फैलिएको तमोर करिडोरको नागवेली सडकले नेपालमा केही भएन भन्नेहरुको एकै मुखले जवाफ दिन सक्छ । केही निर्माण बाँकी सकिएपछि यसले सिधै चीन र भारत जस्ता विश्वकै ठूला शक्तिशाली मुलुकहरुलाई ५,७ घण्टैमा आदान प्रदान गर्ने मुख्य वन्दरगाहका रुपमा काम गर्छ । सप्तकोशीको व्यारेजलाई राम्ररी उपयोगर्न सकेमा पनि पोटोम्याक बन्दरगाहलाई पूरै विर्साउँ र ग्रेटफल्सलाई विर्साउने कैयौं फल्सहरु जताततै हेर्न सकिन्छ । पश्चिमबाट पूर्व तर्फ फैलिएको यो रातो रुखो डाँडोमा नै रहेको रातो माटोले लिपिएको चिटिक्क परेको घरले धेरै बटुवाहरुलाई मोहीको तिर्सनाले लोभ्याउँथ्यो ।

संसारमा सबैभन्दा बलियो कोही छ भने समय नै हो जसको कारण आज मोही खाने रातो घरको निधन भएको छ । जसको मलामी कोही छैन । उ मलामीहरुको प्रतीक्षामा त छ, कोही पुग्लान् जस्तो छैन ।

सुन्छु,उहिले कामै नलाग्ने भनेर फ्याँकिएको बन्दुके डाँडा त अहिले स्याउ खेतीको भण्डारै भएको छ । तल तमोर किनारमा सर्प जस्तै चिल्लो सडकमा चिल्ला चिल्ला गाडीहरु हुँइकाउँदै सुकिला मुकिलाहरु वेला वेला पाथीभरा माताको दर्शन गर्न जान्छन् । तमोर फाँट हिजो जस्तो माझीहरुको दुख्याहा गाउँ कहाँ छ र ? त्यहाँ पनि तराईतिर फल्ने खर्वुजाको प्रशस्त खेती हुन्छ र कामै नलाग्ने ठहरिएको सीताफल जुन त्यहाँको पुर्खेउली प्राकृतिक उत्पादनले पनि प्रशस्त आय आर्जन गराँउछ । सबैले होस्टेमा हैंसे गर्ने हो भने नेपाल जुरुक्कै उठ्छ, जो यसै पनि स्वर्ग जस्तै छ । तर किन सुनै सुनको कटौरा बोकेर माग्न हिंडिरहेको छ हँ मेरो मुलुक ? कता विग्रेको छ ? एक पटक सबैले ममः भन्दै खोज्ने कि ?
(म्लेच्छभूमिको यात्राबाट)

Read more news from नेपालीपोष्ट

Explore by Source or Category