npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

सिनियर नेताहरूलाई देउवाले बोलाए निवासमा

अनलाइन टीभी 18 hours ago

काठमाडौं । सबैभन्दा धेरै दिन केन्द्रीय समिति बैठक राखेर नेपाली कांग्रेसले कीर्तिमान राखेको छ । विश्वमा सबैभन्दा धेरै दिन केन्द्रीय समिति बैठक चलाउनेमा चिनियाँ कम्युनिस्ट पार्टी पर्छ । सो पार्टीको २३ दिनसम्म केन्द्रीय कार्यसमिति बैठक सञ्चालन भएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीको कीर्तिमानलाई कांग्रेसले भंग गरेको छ ।

असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक अहिलेसम्म पनि जारी छ । अर्थात् डेढ महिनासम्म चलेको कांग्रेस केन्द्रीय समिति बैठकले महाधिवेशन कहिले गर्ने भन्ने निर्णय गर्न सकेको छैन । बरु नेताहरूबीच चुनावअघि गर्ने कि पछि भन्ने विवाद कायमै छ । जसकारण कांग्रेसको तल्लो तहसम्म नेता कार्यकर्ता विभाजित बनेका छन् ।

लामो समयदेखि सहमति हुन नसकेको कांग्रेसको १५औँ महाधिवेशनको विवाद मिलाउन आइतबार निर्णायक छलफल राखिएको छ । सभापति शेरबहादुर देउवा, संस्थापन इतर पक्षका नेता डा। शेखर कोइराला, पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र दोस्रो तहका नेताहरु सम्मिलित छलफल महाराजगञ्जमा राखिएको छ ।

महाराजगन्जस्थित देउवा निवासमा दिउँसो १ बजेपछि छलफल सुरु हुनेछ । गत असोज २८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि यो विषयमा निरन्तर छलफल भए पनि सहमति हुन सकेको छैन । कांग्रेसमा संस्थापन पक्षका केही नेताले पार्टीको महाधिवेशन फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै गर्नेमा अड्डी कसेपछि विवाद भइरहेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पुसमै नियमित वा विशेष महाधिवेशन हुनुपर्ने पक्षमा छन् ।

इतर पक्षले मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने नसके पुस मसान्तमा विशेष महाधिवेशन कसैले रोक्न नसक्ने भन्दै भेला, गोष्ठीलाई तीव्र पारेको छ । देउवाले संस्थापन र इतर समूहका नेताहरूलाई एक्ला एक्लै, सामूहिक भेट गरिरहेका छन् । देउवा सक्रिय भएपछि पूर्णबहादुरको कार्यबाहक सभापति पद ओझेलमा परेको छ ।

Read more news from Online Tv Nepal

Explore by Source or Category