npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

गगन–विश्व अडानबाट टसमस नभएपछि निर्वाचनअघि नै महाधिवेशनको कार्यतालिका ल्याइँदै

अनलाइन टीभी 2 hours ago

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्दैछ । बैठकले फागुनको चुनावअघि नै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा आफ्नो अडानबाट टसटस नभएपछि कांग्रेस संस्थापन पक्ष पुसमै महाधिवेशन गर्न सहमत भएको हो ।

निर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन सभापति शेरबहादुर देउवा आफैं सक्रिय भएपछि डेढ महिनादेखि जारी कांग्रेस बैठकको गतिरोधले निकास पाउने देखिएको छ ।

तर महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन हुने सुनिश्चित नभए विशेष महाधिवेशन प्रक्रिया स्वतः सुरु गर्ने अडान कायमै राखेका छन् । उनीहरूले नियमित महाधिवेशन सम्पन्न गरेर मात्र विशेष महाधिवेशनको हस्ताक्षर निष्क्रिय हुने बताएका छन् ।

आफ्नै समूहभित्रको असन्तुष्टिका बीच देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखकलाई पुस मसान्तभित्र महाधिवेशन गर्ने गरी सोमबारको बैठकमा कार्यतालिका प्रस्तुत गर्न आइतबार बिहानै निर्देशन दिएका थिए । सभापतिले पार्टीभित्रको विवाद मिलाउन निर्वाचनअघि महाधिवेशन गर्न चाहेपछि पूर्वपदाधिकारी विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको समूह रक्षात्मक अवस्थामा पुगेको छ ।

यसअघि निर्वाचनअघि महाधिवेशनको पक्षमा नभएका अधिकांश सदस्यहरूको बोली देउवाको हस्तक्षेपपछि फेरिन थालेको छ । निधि र सिटौलालाई छाडेर देउवाले लिएको विचारसँग उनीहरू जोडिन थालेका छन् । देउवाले आइतबार असन्तुष्ट केन्द्रीय सदस्य बोलाएर सोमबार प्रस्तुत हुने कार्यतालिकाको पक्षमा उभिन आग्रह गरेका थिए ।

महामन्त्री थापाले सभापति, कार्यवाहक सभापतिसहितका सबै नेता इमानदारीपूर्वक लागे पुसभित्र महाधिवेशन गर्न सकिने बताए । ‘तालिका ल्याएर मात्र हुन्न । सबैको नियत ठीक छ कि छैन भन्ने कुरा प्रमुख हो,’ उनले भने, ‘यसबीचमा विशेष महाधिवेशनको माग जस्ताको तस्तै हुन्छ । त्यो जिउँदो छ । कसैले मारेर मर्दैन । कसैले फिर्ता भयो भनेर फिर्ता हुन्न, कसैले निष्क्रिय भयो भन्दैमा निष्क्रिय पनि हुन्न । अधिवेशन भयो भने आफैं निष्क्रिय हुन्छ ।’

Read more news from Online Tv Nepal

Explore by Source or Category