राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
आजपा र स्वाधीन मधेस जनअभियानबीच पार्टी एकीकरण
काठमाडौं । आम जनता पार्टी (आजपा) र स्वाधीन मधेस जनअभियानबीच पार्टी एकीकरण गर्ने सहमती भएको छ । पार्टी एकीकरण गर्दै आजपाको मोवाइल चुनाव चिन्हबाटै २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा सहभागि हुने सहमती पत्रमा उल्लेख गरिएको छ ।
काठमाडौंको कोटेश्वर स्थित आजपाको केन्द्रीय कार्यालयमा आज आजपा अध्यक्ष प्रभु साह र स्वाधीन मधेस जनअभियानका संयोजक कैलाश महतोले ६ बुँदे सहमती पत्रमा हस्ताक्षर गर्दै पार्टी एकीकरण गर्ने सहमती गरेका हुन् ।
‘आम जनता पार्टी र स्वाधीन मधेश जन–अभियान बीच भएको एकीकरण कार्यलाई दिगो र परिणाममुखी बनाउन आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिने । आसन्न प्रतिनिधिसभा निर्वाचनमा आम जनता पार्टीको चुनाव चिन्ह मोवाइल छाप प्रयोग गरी समानुपातिक र प्रत्यक्ष चुनावमा भाग लिने,’ दुवै पार्टीका प्रमुखले हस्ताक्षर गरेको पार्टी एकीकरण पत्रमा उल्लेख गरिएको छ ।
यसैगरी पूर्ण समानुपातिक निर्वाचन÷प्रतिनिधित्व प्रणाली, दलविहीन स्थानीय निर्वाचन, राज्य राष्ट्रको शासन पद्धति लगायत जनपक्षीय मुद्धाहरुलाई संविधानमा समावेश गराउने सहमती भएको छ । नेपालको संविधान अधूरो, अपूरो, त्रुटिपूर्ण र विभेदकारी समेत रहेको हुँदा यसलाई पूर्णतः खारेज गरी नयाँ संविधान लेख्ने सहमती पत्रमा उल्लेख गरिएको छ ।
राष्ट्रियता, जनजीविका, समानता र न्यायसंग सम्बन्धित मुद्वाहरुमा आन्दोलनका कार्यक्रमलाई शसक्त रुपमा अगाडी बढाउने आजपा अध्यक्ष साह र जनअभियानका संयोजक महतोले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।
आजपा सहअध्यक्ष तिलक थापामगर, सचिवालय सदस्यहरु रविन्द्र सिंह, बालकृष्ण सापकोटा, केन्द्रीय सदस्य चन्द्रिकालाल साह, अभियानका नेता विपिन अधिकारी लगायतको विशेष सहभागितामा रहेको थियो ।
आजपाले गत मंगलबार एकैदिन दुई पार्टीसंग एकीकरण गरेको घोषणा गरेको थियो । रामकुमार महतो नेतृत्वको नेपाल सदभावना पार्टी (नेसपा) र ईमदाद गद्दी नेतृत्वको जन अधिकार पार्टी नेपालसंग पार्टी एकता गर्दै अन्य विभिन्न पार्टीका सयौं नेतालाई आजपाले पार्टी प्रवेश गराएको थियो ।
यसअघि आजपाले जनादेश पार्टी, लघुवित पीडित संघर्ष समिति, सहकारी पीडितका लागि संघर्ष गर्दै आएको समिति लगायतसंग चुनावी सहमती एवं गठबन्धन गरेको छ ।
The post आजपा र स्वाधीन मधेस जनअभियानबीच पार्टी एकीकरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....