npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

अमेरिकासँग तनाव बढेपछि इरानले बन्द गर्यो आफ्नो हवाई क्षेत्र

क्लिकमान्डु 3 hours ago

एजेन्सी । बिहीबार बिहान इरान सरकारले कुनै स्पष्टीकरण बिना नै व्यापारिक विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने आदेश जारी गरेको छ ।

देशभर भइरहेका विरोध प्रदर्शनहरूमा तेहरानले गरेको रक्तपातपूर्ण दमनलाई लिएर अमेरिकासँग तनाव उच्च रहेकै बेला यो निर्णय आएको हो । अधिकारीहरूले हवाई क्षेत्र बन्द गर्ने निर्णयको कुनै कारण खुलाएका छैनन् ।

एपी समाचार संस्थाले प्राप्त गरेको पाइलटहरूका लागि जारी गरिएको एक सूचना अनुसार, यो बन्द स्थानीय समय अनुसार बिहान ७ः३० बजेसम्म रहने अनुमान गरिएको थियो । इरानी सरकारले यसअघि दुई घण्टाभन्दा केही बढी समयका लागि हवाई क्षेत्र बन्द गर्ने आदेश जारी गरेको थियो ।

उडान ट्य्राकिङ वेबसाइट फ्लाइटरेडार २४ का अनुसार, इरानले अनुमतिप्राप्त अन्तर्राष्ट्रिय उडान बाहेकका सबै उडानका लागि आफ्नो हवाईक्षेत्र बन्द गरिरहेको छ । यो सूचना दुई घण्टाभन्दा केही बढी समयका लागि मान्य रहेको उसले बताएको छ ।
इरानी सरकारको हवाई क्षेत्र बन्द गर्ने आदेशपछि भारतको सबैभन्दा ठूलो वायुसेवा कम्पनी इन्डिगोले ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना केही अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएको जनाएको छ ।

एयर इन्डियाले पनि इरानमा हवाई क्षेत्र बन्द भएको परिप्रेक्ष्यमा केही उडानहरू डाइभर्ट गरिएकाले उडान सञ्चालनमा ढिलाइ हुन सक्ने भन्दै यात्रुहरूलाई सचेत गराएको छ । वायुसेवाले मार्ग परिवर्तन सम्भव नभएका केही उडानहरू रद्द समेत गरेको छ ।

नर्वेमा रहेको इरान ह्युमन राइट्स गैरसरकारी संस्थाले बुधबार एएफपी समाचार संस्थालाई बताएअनुसार, इरानी सुरक्षा बलले प्रदर्शनकारीहरूमाथि गरेको दमनमा कम्तीमा ३४ सय २८ जनाको मृत्यु भएको छ र १० हजारभन्दा बढी मानिस पक्राउ परेका छन् ।

मानवअधिकार निकायले बताएअनुसार, प्रमाणित मृतकको संख्यामा भएको वृद्धि इरानी स्वास्थ्य र शिक्षा मन्त्रालयबाट प्राप्त नयाँ जानकारीका कारण भएको हो । कम्तीमा ३३ सय ७९ हत्याहरू जनवरी ८ देखि १२ सम्मको प्रदर्शन आन्दोलनको उत्कर्षको समयमा भएका थिए ।

बुधबार तेहरानले अमेरिकी सेनाको अड्डा राखेका आफ्ना छिमेकी देशहरूलाई चेतावनी दिँदै वाशिङटनले इरानको विरोध प्रदर्शनमा हस्तक्षेप गर्ने धम्की कार्यान्वयन गरेमा आफूले अमेरिकी सैन्य आधार शिविरहरूमा जवाफी कारबाही गर्ने बताएको छ । रोयटर्सलाई एक वरिष्ठ इरानी अधिकारीले यो जानकारी दिएका हुन् । तीन कूटनीतिज्ञहरूले समाचार एजेन्सीलाई बताएअनुसार, केही कर्मचारीहरूलाई यस क्षेत्रको मुख्य अमेरिकी हवाई अड्डा छोड्न सल्लाह दिइएको थियो यद्यपि सेना ठूलो स्तरमा हटाउने कुनै तत्काल संकेत थिएन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा कट्टरपन्थी शासनविरुद्धको अहिलेसम्मकै ठूलो विरोध प्रदर्शनको समर्थनमा हस्तक्षेप गर्ने धम्की दिएका छन् । एक इजरायली अधिकारीका अनुसार, ट्रम्पले हस्तक्षेप गर्ने निर्णय गरिसकेको तर यस कार्यको दायरा र समय अझै स्पष्ट नरहेको इजरायलको मूल्यांकन छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सुरक्षा क्याबिनेटलाई इरानमा शासन पतन हुने सम्भावना वा अमेरिकी हस्तक्षेपको सम्भावनाका बारेमा जानकारी दिइएको एक इजरायली सरकारी अधिकारीले रोयटर्सलाई बताए ।

Read more news from Clickmandu

Explore by Source or Category