Clickmandu
सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेका सडक पूर्वाधारहरु अलपत्र

महेन्द्रनगर । कञ्चनपुरका विभिन्न पालिकामा सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेका सडक पूर्वाधारहरु अलपत्र परेका छन् । निर्माण कम्पनीको बेवास्ताका कारण पूर्वाधार विकास कार्यालय कञ्चनपुरबाट ठेक्का सम्झौता भएका सुदूरपश्चिम प्रदेश सरकारका सडक योजनाहरु विगत आठ वर्षदेखि अलपत्र छन् । आर्थिक वर्ष २०७४ सालमा सम्झौता भएका दुई दर्जन बढी सडक अधुरै छन् ।
कञ्चनपुरको बेदकोट नगरपालिकास्थित पूर्व पश्चिम राजमार्गको दैजीदेखि डडेल्धुरा जिल्लाको सिमाना लिप्नासम्म १२ किलोमिटर सडक निर्माणका लागि नौ वर्षअघि ठेक्का सम्झौता भए पनि हालसम्म पाँच किलोमिटर सडक मात्रै कालोपत्र भएको छ । २०७४ वैशाख ८ गते नार्गाजुन कन्स्ट्रक्सनसित रु २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो ।
ठेक्का सम्झौताअनुसार २०७६ साउन ५ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म सडक निर्माणले पूर्णताः पाउन सकेको छैन । पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले सडक निर्माणका लागि पछिल्लो पाँचौँ पटक २०८२ असार २० गते निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको भए पनि उक्त समयमा समेत सडक निर्माण हुन सकेको छैन । कार्यालयका अनुसार निर्माण व्यवसायीले समयमा काम नगर्दा योजना सम्पन्न हुन नसकेको हो ।
त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा ठेक्का सम्झौता भएको बंक पहरिया दोमिल्ला सडकसमेत अलपत्र छ । सात किलोमिटर सडक कालोपत्र गर्नका लागि रु आठ करोड २८ लाख ५६ हजार ३०७ मा सम्झौता भएको थियो । उक्त सडक निर्माणसमेत निर्माण व्यवसायीले समयमा नगर्दा अलपत्र अवस्थामा छ ।
त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा सडक कालोपत्रका लागि सन्तोषी–थेगिम जेभीसँग सडक कालोपत्रका लागि रु १३ करोड ३६ लाखमा ठेक्का सम्झौता भए पनि हालसम्म निर्माण सम्पन्न हुन सकेको छैन । उक्त सडकका लागि पटक–पटक म्याद थप भएपनि सम्पन्न हुन सकेको छैन ।
पूर्वाधार विकास कार्यालय कञ्चनपुरबाट ठेक्का सम्झौता भएका जिल्लाका नौ वटै स्थानीय तहमा सडक कालोपत्रेदेखि सडक मर्मतका स–साना दुई दर्जन योजनाहरु अलपत्र परेका हुन् । आर्थिक वर्ष २०७६/०७७ मा ठेक्का सम्झौता भएर योजनाहरु हालसम्म पनि निर्माण सम्पन्न हुन सकेका छैनन् । रु डेढ÷दुई करोडमा ठेक्का सम्झौता भएका २४ वटा सडक सुधार योजना समयमा सम्पन्न नहुँदा स्थानीयवासी समस्यामा परेका छन् ।
निर्माण व्यवसायीले समयमै काम नगर्दा निर्माण कार्य अलपत्र परेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख पदम मडैले समयमा निर्माण कार्य पूरा गर्न निर्माण पक्षलाई ताकेता गरिरहेको जानकारी दिए । ‘ठेक्का लिने काम नगर्ने प्रवृतिले विकास निर्माणका कार्य प्रभावित भए’, उनले भने, ‘अब अटेरी गरेर कानुनबमोजिम प्रक्रियामा जान्छौँ ।’