रास्वपा र विवेकशील साझासँगको एकता कार्यक्रममा किन राखिएन रवि लामिछानेको तस्बिर ?
काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रास्वपा सभापति रवि लामिछाने यतिबेला ललितपुरको नक्खु कारागारमा छन् । चैत २२ गते राति पक्राउ परेर चार महिना भैरहवा कारागारमा राखिएका रविलाई पछि नक्खु अड्डासार गरिएको हो । रास्वपा नौ महिनादेखि रविको सक्रियताविना सञ्चालन भइरहेको छ । त्यसअघि पनि रवि साढे दुई महिनासम्म हिरासतमा बसेका थिए । सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा उनलाई रिहा गर्न आदेश दिएकाले छुटेका थिए । तर पछि कारागारमै बसेर मुद्दाको पुर्पक्ष गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले आदेश दियो । सोही आदेशलाई सर्वोच्च अदालतले पनि निरन्तरता दिएपछि रवि कारागार पुगेका हुन् ।
यद्यपि अहिले बुटवलको सुप्रिम सहकारीका विषयमा रविले उच्च अदालतमा हालेको रिट निवेदनमा सुनुवाइ भइरहेको छ । रवि थुना वा कारागार चलान भएपछि रास्वपाले हरेक कार्यक्रममा उनको तस्बिरसहितको ठूल्ठूलो फ्लेक्स राखेर गर्दै आएको थियो । रास्वपाले रवि पक्राउ गरेपछि देशभर हस्ताक्षर अभियान चलायो । त्यहाँ पनि रविकै तस्बिर राखिएको थियो । ४० लाखले रविको पक्षमा हस्ताक्षर गरेको रास्वपाले जनाएको छ ।
अघिल्लो एमाले कांग्रेस नेतृत्वको सरकारले प्रतिशोध साँधेर रविलाई जेल हालेको भाष्य तयार पारिएको थियो । तर जेनजी आन्दोलनको तीन महिना हुन लाग्दा पनि सुशीला कार्की नेतृत्वको सरकारले रविलाई छुटाउन केही प्रयास नगरेको रास्वपाकै नेताहरूले आरोप लगाएका छन् । यद्यपि भित्रभित्रै रविलाई छुटाउने प्रयास भइरहेको उपसभापति स्वर्णिम वाग्लेले सार्वजनिक गरेका छन् । अबको एक महिनाभित्र अर्थात् चुनावअघि रविलाई निकाल्ने तयारी भइरहेको उनको भनाइ छ । आइतबार रास्वपा केन्द्रीय कार्यालयमा विवेकशील साझा पार्टीसँग एकता कार्यक्रम थियो ।
रास्वपाका अधिकांश नेता कार्यकर्ता र समर्थक उपस्थित थिए । दुई पार्टीबीचको एकता कार्यक्रममा रविको तस्बिर कतै पनि देखिएन । रविको तस्बिर नदेखेपछि धेरै रास्वपाका नेता कार्यकर्ता खिन्न भएका थिए । केहीले सोधखोज पनि गरे । तर त्यसको ठोस उत्तर कसैबाट पाउन सकेनन् । रास्वपाले रविको तस्बिरलाई ट्रेडमार्ककै रूपमा प्रयोग गरेको थियो । वर्तमान कार्यसमितिका कविन्द्र बुर्लाकोटी, तोसिमा कार्की, विराजभक्त श्रेष्ठ, गणेश कार्कीले रवि लामिछानेको ह्याङओभरबाट पार्टीलाई मुक्त गरिनुपर्ने बताउँदै आएका छन् ।
सोह्री कारण पनि रविको तस्बिर नराखिएको धेरैको बुझाई छ । आइतबारको एकता कार्यक्रममा विराजभक्त श्रेष्ठले विवेकशील पार्टीका संस्थापक उज्ज्वल थापाको नाम लिन थाल्नुले विस्तारै रविविना पनि पार्टी चल्छ भनेर देखाउन खोजिएको हो कि भन्ने विश्लेषण गर्न थालिएको छ । यसैक्रममा रास्वपा नेता यज्ञमणि न्यौपानेले रविको तस्बिर नराखेकोमा असन्तुष्टि जनाएका छन् । उनले सभापतिको फोटो राखेरै एकता सन्देश दिने मन हुँदाहुँदै पनि किन राखिएन भन्दै प्रश्न पनि गरेका छन् । उनले सभापतिसँग माफी माग्दै एकता सन्देशले राम्रो सन्देश प्रवाह गरे पनि फोटो छुट्नु दुस्खद भएको उल्लेख गरेका छन् ।
‘माफ पाउँ सभापतिज्यू, हजुरको फोटो राखेर एकताको सन्देश दिने मन हुनेहरुसँग त्यो कार्यक्रमको मोडालिटी कायम गर्ने इजाजत थिएन । जससँग अधिकार र इजाजत थियो उहाँहरुले राख्नुभएन। तथापि सभापतिज्यू एकता भयो राम्रो भयो। अब कुलमान, बालेन, हर्क र गोपी हमालसँग पनि वार्ता संवाद गर्नुपर्छ। अनि एकता गर्नुपर्छ। राज्य सत्ताले तपाईँलाई जबरजस्त राखेको थुनाबाट मुक्त गर्नुपर्छ । अनि बन्छ देश, अनि बनाइन्छ देश, यही आशा र भरोसँग बाँचेका छौं सभापतिज्यू,’ न्यौपानेले लेखेका छन् ।