News of Nepal
आइक्यानका चार्टर्ड एकाउन्टेन्ट सदस्यले स्नातकोत्तर उपाधि हाँसिल गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ
नेपालको लेखा व्यवसाय क्षेत्रको नियमनकारी निकाय तथा चार्टर्ड एकाउन्टेन्सी शिक्षा प्रदायक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र भारतको प्रतिष्ठित मणिपाल विश्वविद्यालय जयपुर (एमयूजे)बीच द्विपक्षीय समझदारीपत्र(एमओयू) माहस्ताक्षर भएको छ ।
लेखा, लेखा परीक्षण, वित्तकर तथा यससँग सम्बद्ध विषयको शिक्षण, सिकाइ, अध्ययन तथा अनुसन्धान, पेसागत विकास, स्रोतसाधनको आदान प्रदान तथा संस्थागत सञ्जाल विस्तारमार्फत शैक्षिक तथा व्यावसायिक उत्कृष्टता अभिवृद्धि गर्ने दुवै संस्थाको साझा उद्देश्य हासिल गर्न आपसी सहकार्य तथा सहयोग आदानप्रदान गर्नको लागि यो समझदारी गरिएको हो ।
ललितपुर, सातदोबाटोस्थित आइक्यानको प्रधान कार्यालयमा आयोजित समारोहमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका तर्फबाट संस्थाका अध्यक्ष सिए निलबहादुर सारु मगर र मणिपाल विश्वविद्यालय जयपुरका तर्फबाट अध्यक्षडा. नीति निपुण शर्माले हस्ताक्षर गर्नुभयो ।
यो ऐतिहासिक सम्झौताले दुई संस्थाबीच सहकार्यका लागि शैक्षिक पहुँच तथा योग्यताको पारस्परिक मान्यता, संयुक्त अनुसन्धान र शैक्षिक विकास, विशिष्टीकृत शैक्षिक मोड्युल, स्रोत–साधनको पहुँच, प्राध्यापक, विशेषज्ञ तथा विद्यार्थी आदान–प्रदानलगायत प्रयोजनको लागि संयुक्त समन्वय संयन्त्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बोल्दै आइक्यानका अध्यक्ष नीलबहादुर सारु मगरले यसलाई एउटा उत्कृष्ट पहलको संज्ञा दिँदै अगाडि थप्नुभयो, ‘आइक्यानले यसलाई उच्च प्राथमिकतामा राखेको छ । यो समझदारी हाम्रा सदस्यले एमयूजेमा एमकम डिग्री हासिल गर्ने र आफ्नो शैक्षिक तथा अनुसन्धान–उन्मुख करिअरलाई थप विकास गर्ने अवसर पाउनेछन् । साथै, हामीले यो सहकार्यलाई कृत्रिम बुद्धिमत्ता, माइक्रो लर्निङ र अन्य उन्नत शैक्षिक नवप्रवर्तन जस्ता भविष्य–केन्द्रित क्षेत्रमा पनि विस्तार गर्ने अपेक्षा राखेका छौं ।’
उहाँले मणिपाल विश्वविद्यालय जयपुरसँगको यो सहकार्यले संस्थाका सदस्य र विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक तथा प्राविधिक ज्ञान हासिल गर्न र विश्वव्यापी रूपमा प्रतिस्पर्धी बन्न ठूलो मद्दत पुग्ने विश्वास लिएको पनि बताउनुभयो ।
एमयूजेका अध्यक्ष डा. नीति निपुण शर्माले आइक्यानसँग यो साझेदारीलाई औपचारिकता दिन पाउँदा साँच्चिकै खुसी लागेको बताउनुभयो । ‘आइक्यानले स्थापित गरेको उच्च शैक्षिक र व्यावसायिकमानकले एमयूजेलाई आइक्यानका पेशाकर्मीको क्षमतालाई मान्यता दिँदै आफ्ना कार्यक्रममा एक वर्षको छुट दिन सक्षम बनाएको छ । हामी एमयूजेमा आइक्यानका प्रतिनिधिलाई एमयूजेमा गेस्ट लेक्चरको रुपमा सहभागी गराउन र अर्थपूर्ण शैक्षिक आदानप्रदानलाई सहजबनाउन तत्पर छौं । यो त सुरुआत मात्र हो, हामीले यो कार्यक्रमलाई विस्तार गर्ने र प्रभावकारी तरिकाले अगाडि बढाउने परिकल्पना गरेका छौं,’ उहाँले भन्नुभयो ।
यो साझेदारीले आइक्यानका सदस्य र एमयूजेका विद्यार्थी तथा संकाय दुवैलाई प्रत्यक्ष लाभ तथा ज्ञान आदानप्रदान, शैक्षिक सुदृढीकरण र पारस्परिक मान्यताका अवसरले महत्वपूर्ण योगदान पुुर्याउनेछ ।