Clickmandu
पाकिस्तानको बलोचिस्तानमा २४ घन्टामा ७ वटा विस्फोट, फैलियो आतंक

एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तमा पछिल्लो २४ घण्टामा कम्तीमा सातवटा विस्फोटका घटनाहरू भएका छन् ।
क्वेट्टा र डेरा मुराद जमालीमा शंकास्पद आतंककारी/विद्रोहीहरूले विभिन्न स्थानलाई निशाना बनाएका हुन् । घटनामा मानवीय क्षति भने भएन । तर, एक निर्माण कम्पनीका दुई सुरक्षागार्ड घाइते भएका छन् ।
यी लगातारका घटनाले प्रान्तीय राजधानीमा त्रास र असुरक्षा फैलिएको छ ।
शनिबार क्वेट्टामा प्रहरी चौकीमा ह्याण्ड ग्रिनेड प्रहार भएको थियो । त्यसपछि आतंकवादविरोधी विभागको गाडी नजिक आईईडी विस्फोट गराइएको थियो । साँझतिर थप तीनवटा विस्फोट भएको पीटीआईले उल्लेख गरेको छ ।
एसएसपी आसिफ खानका अनुसार, क्वेट्टाको बाहिरी क्षेत्रमा पर्ने लोहर कारेज नजिकको विस्फोटले शहरलाई देशका अन्य भागसँग जोड्ने मुख्य रेल लाइन क्षतिग्रस्त बनायो ।
आक्रमणकारीहरूले रेल आउने समयमा बम विस्फोट गराएका थिए । यसले गर्दा रेल सेवा स्थगित हुनुपरेको थियो ।
क्वेट्टाको सरियाब रोडस्थित निर्माण कम्पनीको साइटमा पनि ग्रिनेड प्रहार गरिएको थियो । त्यसले मशिनरी नष्ट गरेको थियो भने दुईजना गार्ड घाइते भएका थिए ।
अर्को घटनामा मोटरसाइकलमा आएका विद्रोहीहरूले मनजुर शहीद प्रहरी स्टेशनमा दुई ह्याण्ड ग्रिनेड फ्याँकेका थिए । त्यसमध्ये एउटा विस्फोट भयो भने अर्को बमलाई सुरक्षाकर्मीको टोलीले निष्क्रिय पारेको थियो ।
डेरा मुराद जमालीमा समेत प्रहरीको गस्ती सवारीलाई ह्याण्ड ग्रिनेडले निशाना बनाइयो ।
क्वेट्टाको केच बेग क्षेत्रमा पनि प्रहरी चौकी नजिक ग्रेनेड फ्याँकिएको रिपोर्ट छ ।
आक्रमणहरूको जिम्मेवारी कुनै समूहले तत्काल लिएन । तर, आइतबार बिहान पनि ध्वांसात्मक गतिविधि देखापरेको छ ।
यसअघि, यस वर्षको आरम्भमा क्वेट्टामा अर्धसैनिक मुख्यालय बाहिर शक्तिशाली कार बम विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको थियो ।
सेप्टेम्बर ३ मा राजनीतिक -यालीमा भएको आत्मघाती आक्रमणमा ११ जनाको मृत्यु भयो र ४० भन्दा बढी घाइते भए ।
बलुचिस्तान नेशनल पार्टीका समर्थकहरू भेला भएको स्थानलाई उक्त बमले लक्षित गरेको थियो ।
पाकिस्तानी सुरक्षा फौज बलुचिस्तानमा दशकौंदेखि विद्रोहीहरूसँग लडिरहेको छ । सन् २०२४ मा मात्रै ७८२ जनाको ज्यान गएको छ ।
मार्चमा बलुच लिबरेशन आर्मीले ट्रेन अपहरण गरी ड्यूटी समयबाहिरका सैनिकहरूको हत्या गरेको थियो ।
यस वर्षको जनवरीदेखि मात्र ४३० भन्दा बढी व्यक्ति विभिन्न आक्रमणमा मारिएका छन् । धेरैजसो सुरक्षाकर्मी छन् जसमा बान्नुमा मारिएका ६ सैनिक पनि समावेश छन् ।