Clickmandu
झापामा बालेनका लागि दुईवटा घर फेला, थप घर खोज्दै रास्वपा

झापा । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारी थालेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘गढ’ मानिने यस क्षेत्रमा बालेन चुनावी मैदानमा उत्रिने भएपछि राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ ।
बालेनको चुनावी अभियानलाई सघाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेताहरू सक्रिय देखिएका छन्। रास्वपा झापाका अध्यक्ष प्रकाश पाठकका अनुसार, बालेनका लागि दमक–३ स्थित क्याम्पस मोड आसपास दुईवटा घर लगभग निश्चित भइसकेका छन् भने थप एउटा घरको खोजी भइरहेको छ। बालेनको बसोबास र सम्पर्क कार्यालय सञ्चालनका लागि कुल तीनवटा घर प्रयोग गर्ने योजना बनाइएको छ ।
यसै सन्दर्भमा रास्वपाका नेता-कार्यकर्ता र बालेन निकट इन्फ्लुएन्सरहरूको एक टोली आजै झापा–५ पुग्दैछ। उनीहरूले क्षेत्रको वस्तुस्थिति बुझ्न र चुनावी सम्भाव्यताका बारेमा प्रारम्भिक सर्वेक्षण गर्ने बताइएको छ । चुनावी मैदानमा उत्रिने पक्का भएपछि बालेनले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिने तयारी समेत गरिरहेका छन्।
झापा–५ एमाले अध्यक्ष ओलीको निकै बलियो क्षेत्र मानिन्छ। उनले २०६४ सालको संविधानसभा निर्वाचन बाहेक अन्य सबै निर्वाचनमा यहाँबाट जित हासिल गर्दै आएका छन् । पछिल्लो २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष ओली भारी मतान्तरसहित विजयी भएका थिए ।
त्यस निर्वाचनमा ओलीले ५२ हजार ३१९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाएका थिए ।
कुल १ लाख ६३ हजार ३७९ मतदाता रहेको यस क्षेत्रमा ६१ मतदान स्थल र १८५ मतदान केन्द्रहरू रहेका छन् । ओली र बालेनबीचको सम्भावित प्रतिस्पर्धाले गर्दा अहिले झापा–५ राष्ट्रिय राजनीतिको केन्द्रविन्दु बनेको छ।