चार वर्षअघि फुटेका एनआरएनए जुटे, गरे एकताको सम्झौतामा हस्ताक्षर
काठमाडौं । विभाजन भएको चार वर्षपछि गैरआवासी नेपाली संघ (एनआरएनए) को बृहत् एकता घोषणा गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आइतबार संघको एकता घोषणा गरिएको हो ।
विभाजित संघमा अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले एकताको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । १०औँ महाधिवेशनबाट सुरु भएको सदस्यतासम्बन्धी विवादले संघ विभाजनमा पुगेको थियो । १० औँ र ११ औँ महाधिवेशनमा निर्वाचित भएका दुबैतिरका समितिलाई मान्यता दिने, १२औँ महाविधेशन गर्न अध्यक्ष केसी र श्रेष्ठ रहेको स्टेयरिङ कमिटी गठन गर्ने, अदालतमा दुवै पक्षले गरेका मुद्दामामिला फिर्ता गर्ने, सदस्यता वितरणको लागी समय थप गर्ने लगायतका सहमति भएको छ ।
प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपाली संघको एकता घोषणा कोशेढुंगा सावित हुने बताएकी छन् । एनआरएनएको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले गैरआवासीय नेपालीको हित र आवश्यकता बुझेर जहाँ रहे पनि नेपाली हुँ भन्ने भावना देखाएर नेपालको विकास र उन्नतिमा लाग्न आह्वान गरिन् ।
प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीले संविधान र कानुनबमोजिम पाउने हक र सुविधामा सरकारले सक्दो वातावरण मिलाउने विश्वास दिलाइन् । ‘विदेश बसेर काम गर्न नेपालीलाई दुःख पनि छ । मेहनतपछि सफलता पाइन्छ । विदेशमा बस्ने नेपालीलाई आफ्नो मुलुक र माटोको माया हुन्छ । तपाईंहरुले आफ्नो माटोका लागि के–कति गर्न सक्नुहुन्छ गर्नुहोस्’, प्रधानमन्त्री कार्कीले भनिन्, ‘जेनजी आन्दोलनका क्रममा राष्ट्रिय सम्पदालगायत धेरै क्षति भएको छ । शान्त तलाउमा ढुंगा हानिए जस्तो भएको छ । यसको मूल्यांकन गर्नुपर्ने भएको छ । मुलुकको हित र विकासका लागि तपाईंहरूको थप सहयोग र सुझावको अपेक्षा गरेका छौँ ।’