Clickmandu
कुलमान र बालेन एक भएका हुन् ?

काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारमा तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बीच भेटवार्ता भएको छ ।
ऊर्जा मन्त्री घिसिङले बालेनसँग बसेको तस्बिर सामाजिक सञ्जालमा राख्दै देश बनाउने अभियानमा आफूहरू सँगै रहेको उल्लेख गरेका छन् ।
फागुन २१ का लागि तोकिएको निर्वाचनका लागि घिसिङको संरक्षकत्वमा उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
अभियन्ताहरू, बालेन, जेनजी आगुवाहरूलाई समेटेर कुलमानले पार्टी निर्माणको तयारी गरेको भए पनि दर्ता भएको दलमा बालेन लगायतको सहभागिता भने छैन ।
बालेन, कुलमान लगायतले वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्नुपर्छ भन्ने मत बलियो बनेका बेला उनीहरूबीच भेटवार्ता भएको हो, जसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान, बालेन लगायत सहभागी हुने गरि छलफल भएका भए पनि कुनै सहमति जुट्न नसकेपछि उज्यालो नेपाल पार्टी दर्ता गरिएको थियो ।
कुलमानले अध्यक्षसहित बहुमत केन्द्रीय सदस्य र निर्वाचनपछिको प्रधानमन्त्रीसमेत माग गरेकोभन्दै एकता हुन नसकेको दाबी रास्वपा नेताहरूले गरेका छन् ।
बालेनले पनि रवि लामिछाने नेतृत्वको पार्टीमा सहभागि हुन अनिच्छा गर्दा कुलमानसँगको सद्भाव रहेको दाबी गरिएको छ ।
आगामी निर्वाचनमा कुलमान र बालेन एउटै राजनीतिक दलबाट चुनावी अभियानमा जुट्छन् भन्ने आशंका व्यक्त भइरहँदा तस्बिर सार्वजनिक भएको हो ।
कुलमानले बालेन र आफू सँगै रहेको सन्देश तस्बिरमार्फत दिँदै गर्दा दुबैका समर्थक उत्साही भएका छन् ।
रास्वपा लगायत दलसँग भन्दा पनि कुलमानमा बालेनको सद्भाव रहेको उनी निकट स्रोतको दाबी छ । आगामी निर्वाचनमै बालेन कुनै राजनीतिक दलमा सहभागी हुने भन्दा पनि उनले सद्भाव राख्ने सम्भावना रहेको स्रोतको दाबी छ ।
विवेकशील साझा र रास्वपाबीच एकता भए लगत्तै बालेन र कुलमानबीच भेटवार्ताको तस्बिर सार्वजनिक भएको हो । बालेन कुनै समय विवेकशीलसँग निकट रहेको बताइन्छ ।