Herne Katha
EP147 Mustang to Dolpo
यसपालि हामीले उपल्लो डोल्पाको यात्रा गर्ने भयौं । मुस्ताङको बाटो हुँदै ।
मुस्ताङदेखि डोल्पासम्म
बर्खा लागिसकेको छ । कागबेनीमा पर्यटकहरुको उत्ति सारो चहलपहल छैन । एका विहानै हिँड्ने तयार गरिरहँदा डोल्पाका पेम्मा भेटिए । आफ्नी पत्नी शेरापलाई काठमाडौंमा ३ महिनासम्म उपचार गराएर डोल्पा फर्किन लागेका । पेम्माका दम्पत्ती पनि हामीसँगै डोल्पा जाने भए ।
कागबेनी नजिकै कालीगन्डकीको पक्की पुल तरेपछि बाटो उकालो लाग्यो । फल्याक गाउँभन्दा अलि माथि च्याङ्ग्रा गोठालाहरु भेटिए ।
बाटो अझै उकालो लाग्यो । बेला बेला कुहिरोले ढपक्कै ढाक्थ्यो । लेकमा रङ्गीचङ्गी बुकी फुलेका थिए । झन्डै ४५०० मिटरको उचाईमा चौंरी चराइरहेका खोटाङका शुभ तामाङ भेटिए ।
हिमालका भिराला पाखा र खोंचहरु छिचोल्दै ओरालो झर्यौैं । टाढैबाट साङ्दा गाउँ देखियो । यो बाटोमा पर्ने मुस्ताङको अन्तिम गाउँ ।
साङ्दा भन्दा अलि तल एउटा खोलो भेटियो । हामी भन्दा अगाडि लागेको एउटा ट्रक खोलो तर्ने प्रयास गर्दै थियो । ट्रक लिएर आएका थिए म्याग्दीका ब्यापारी सज्जन सुबेदी । डोल्पा पुर्याउने सामान थियो ।
सज्जनले हामीलाई आँट दिए । हाम्रो गाडीले पनि खोलो तर्यो । हामीले सज्जनको भिमकाय ट्रक चढ्ने रहर गर्यौं ।
उकालो बाटोमा हामी गफिँदै थियौं । ट्रकबाट खट्याट खट्याट आवाज आयो । भारी बोकेको ट्रक उकालोमा बिग्रियो ।
त्यसपछि सज्जन पनि हाम्रै गाडीका पाहुना भए ।
केही घन्टापछि हामी सुक्साम्बा पुग्यौं । जहाँ मोटरबाटो सकिन्छ । यहाँबाट गाडीका भारी खच्चडले बोक्छन् ।
हाम्रा सामान खच्चडले बोके । खच्चड अघि लागे, हामी पछि ।
दाया बायाँ अग्ला पहरा थिए । साङ्दाछे हिमालको ठ्याक्कै फेदिको खोँचमा धौलागिरी काखबाट आएको ठाडो खोलो थियो । खोला बाटो थियो, बाटो खोला थियो । ठाउँ ठाउँमा खोला तर्दै हामी स्याँ स्याँ गर्दै उकालो लागिरह्यौं ।
यही खोला-बाटोका ढुङ्गा पन्छाउँदै, जेसिबीले ठेलेर दुई चार ट्याक्टर र जिप उपल्लो डोल्पा पुगेका थिए ।
४ घन्टाभन्दा बढि हिँड्दै, रोकिँदै, सास फेर्दै हामी साँझपख भेरोल पुग्यौं । हामी अझै मुस्ताङमै थियौं ।
भेरोल चाहिँ तलबाट खच्चडले सामान ल्याएर झार्ने ठाउँ । अनि यहाँसम्म डोल्पाबाट जिप र ट्याक्टर आइपुग्दा रहेछन् ।
भेरोलमा दुई वटा पाल होटल थिए । सिजनमा मात्र चल्ने यी होटल हिउँदका ६ महिना बन्द हुन्छन् ।
होटलमा कुकको काम गर्न आएका सोलुखुम्बुका शेर्पा दाईले तातो भात खुवाए । एकै दिनमा २८०० मिटरको कागबेनीबाट ४८०० मिटरको भेरोल आइपुग्दा हाम्रा शरिरले पातलो वायुमन्डलको मेसो पाउन सकेका थिएनन् । भेरोलमा हामीलाई निस्सासिएको जस्तो भइरहेको थियो । त्यो रात हामी निदाउन सकेनौं ।
भोलिपल्ट विहानै हामीलाई डोल्पा लिएर जाने जिप आइपुग्यो । जीपसँगै आइपुगे छार्का ताङसोङ गाउँपालिकाका उपाध्यक्ष कर्मा ढुण्डुप ।
भेरोलबाट केही बेर उकालो लागेपछि समथर भुभाग भेटिन थाल्यो । रोल्पाली भाइले हिमालमा जिप कुदाए । यो जिप पनि हामी आएकै बाटो जेसिबीले तानेर दुई महिनाअघि मात्र उपल्लो डोल्पा भित्रिएको हो ।
हामी लाप्चे शेर्मा पास पुग्यौं । ५१७५ मिटर को उचाईमा रहेको लाप्चे शेर्मा मुस्ताङ र डोल्पाको सिमाना हो ।
पश्चिमउत्तरतर्फ डोल्पाका फराकिला उपत्यका देखिन थाले । भर्खर पलाउँदै गरेका घाँसमा याक र चौंरी चरिरहेका ।
निला आकाश, सेता बादल । अनौठो हावा । यो भूगोलका सुन्दरता सबै आँखामा सजाउँ सजाउँ लाग्ने । यतै कतै हराउँ हराउँ लाग्ने ।
अलिबेरपछि बाटोमा एउटा चौंरी गोठ भेटियो ।
ठाजाङ खोलालाई पछ्याउँदै फराकिला उपत्यका छिचोल्दै हामी अघि लाग्यौं ।
केही घन्टापछि हामी ४३५० मिटरको उचाईमा रहेको छार्का भोट पुग्यौं ।
जहाँबाट, आउँदा अङ्कहरुमा हामी उपल्लो डोल्पाका थुप्रै कथाहरु भन्न सुरु गर्नेछौैं ।
The post EP147 Mustang to Dolpo appeared first on Herne Katha.