npl.977 Nepal News Stream

Herne Katha logo Herne Katha

EP146 Three Stories of War

हेर्ने कथा 4 months ago

तीन

सपनाको अवसान

 

रोल्पा सदरमुकाम लिवाङ बजार हिउँदे झरीमा भिजेको छ । पहाडको भिरालोमा नयाँ बनेका अग्ला सिमेन्टीका घरहरुले माटोको एउटा पुरानो घर छेकिदिएको छ । यो घरमा डेरा गरी बस्छन् कामरेड मिसाइल, कामरेड आशा र १३ वर्षको छोरो लोकेन्द्र । 

 

आशा राना १४-१५ वर्षको उमेरमा माओवादीमा लागिन् । पार्टीको अभियानमा हिँड्दा गिरफ्तारीमा परिन् । सैन्य हिरासतमा २२ महिनाको चरम शारिरिक र मानसिक यातना भोगिन् । आशालाई ती दिनहरु सम्झन मन लाग्दैन । 

 

चितवनको क्यान्टोनमेन्टमा मिसाइलसँग भेट भयो । त्यहिँ बिहे भयो र छोरा जन्मिए । क्यान्टोनमेन्टबाट काखे नानी च्यापेर गाउँ फर्किँदा यी लडाकूका मनहरु रित्तो रित्तो थिए । 

 

घाम लागेका बेलामा पनि मुस्किलले उज्यालो छिर्ने छिँडीको डेरामा दिन-रात उस्तै उस्तै छ ।  मिसाइलले पहिले रगत बगाए, अहिले पसिना ।  

 

आशा टोलाइरहन्छिन् ।

उज्यालो समय कैद भएको अँध्यारो कोठाभित्र उदासी मिसिएको अनौठो मौनता छ । क्रान्तिको राजधानीको एउटा कुनामा रक्तिम सपनाहरुको अवसान छ । 

 

दुई

विजय-पराजय

 

उत्तरी रोल्पाक च्यानधाराका सिँहबहादुर राना र पिङ्माली रानका दुई सन्तानलाई सानैमा दादूराले लग्यो । बाँचेका एक मात्र छोरा सूर्यबहादुरलाई  लाहुरे बनाउने सपना थियो । 

 

सूर्यबहादूर उर्फ विजय विद्यालय पढ्दा पढ्दै माओवादीमा लागे । २१ वर्षको उमेरमा राज्यपक्षले विजयको जीवन खोस्यो । अनि यो दम्पत्तीको खुसी । 

 

ठूला राजनीतिक परिवर्तनहरुबाट टाढा कतै जङ्गलको छेउमा यी दम्पत्ती बुढ्यौलीसँग लडाईं गर्दैछन् । 

 

छोरा बितेको २० वर्षपछि सिँहबहादुर दम्पत्तिले गाउँ छेउमा  एउटा चौतारा बनाउन थालेका छन् – छोराको सम्झनामा । 

 

एक

आशा निराशा 

 

चैतलो हावासँगै न्याउलीको एक तमास विरह छाएको छ । लिवाङ बजार नजिकै कोटगाउँकी मेघमती मनमा २३ वर्षदेखि चलेको विरह बिसाउने ठाउँ छैन । 

 

२३ वर्षअघि यस्तै चैत महिनाको एउटा साँझमा माओवादी भन्नेहरुले आफ्नै आँखा अघिल्तिरबाट श्रीमान् प्रसाद बुढालाई लिएर गए । प्रसाद घर आएनन् । १५ दिन पछि उनको मृत्युको खबर आयो । 

 

बाबुको किरिया सकेको ३ महिना पनि भएको थिएन कतारबाट फर्केको जेठो छोरो हिराबहादुर काठमाडौं जान हिँडेका थियो । हिराबहादुर बाटोमै हरायो । 

 

रेडियोमा भिडन्तको समाचार आयो । छोरो कहिल्यै घर आएन । 

 

वर्षौंदेखि केवल सम्झनामा बाँचेका छन् श्रीमान् र छोरा । मेघकुमारीको मनमा उडेको निराशाको बादल कसले हटाइदेला ?

 

कामरेड मिसाइल र कामरेड आशा रित्तिएका छन्, विरक्तिएका छन् । मेघमतीका श्रीमान्‌लाई माओवादीले मारे, छोरालाई राज्यले । सिँहबहादुर र पिङ्माली एक्लो छोराको सम्झनामा बल्ल चौतारो बनाउँदैछन् । 

यस्तै यस्तै छन्, रोल्पामा भेटिएका युद्धका कथाहरु ।

 

 

The post EP146 Three Stories of War appeared first on Herne Katha.

Read more news from Herne Katha

Explore by Source or Category