नेपालीपोष्ट
कहाँ देखे-देखे जस्तो लाग्छ (संस्मरण)

कुरा भनौँ या घटना। घटना भनौँ एक दिनको होइन, कुरा भनौँ हरेक दिनको घटना। जे होस्, अहिलेलाई घटना नै भनौँ।
४१/४२ सालतिर कलेज जीवन १८/१९ वर्षको उमेर। कलेज जाँदा-आउँदा सार्वजनिक बसको यात्रा। त्यतिबेला ट्याक्सी चढ्ने भनेको त एकदम सम्भ्रान्तले थियो। हरेक दिन पढ्न जानलाई ट्याक्सी चढ्ने हैसियत मेरो थिएन र बस चढ्नुपर्ने बाध्यतामा अत्यन्त भिड भएका बसमा उभिनु भनेको त्यो उमेरकी एउटी युवतीलाई अत्यन्त गाह्रो कुरा। तर के गर्नु, त्यो पनि एउटा पढाइ नै रहेछ। यो कुराको महसुस अहिले पो भइरहेको छ। खचाखच भिड भएका बसमा सिट पाउनु भनेको ठूलो उपलब्धि मानिनुपर्थ्यो र प्रायजसो उभिएरै यात्रा गर्नुपर्ने बाध्यता।
होची-होची, मोटी-मोटी, पुक्क परेकी केटी म। खचाखच भिड भएका बसमा धेरैजसो ओर्लन सजिलो होस् भनी ढोकासँगैको ड्राइभर सिट पछाडि उभिन्थेँ। त्यहीँ बसमा एक अधवैँसे, ठूलो ज्यान भएको पुरुष पनि प्रायः चढ्थ्यो—कि सायद समय एकै परेर होला, र त्यतिबेला सार्वजनिक बसहरू पनि अत्यन्तै न्युन हुन्थे। भिड भएका बसमा यात्रा गर्नु मेरो लागि बाध्यता थियो भने उसको लागि बाध्यताभन्दा पनि बढी ‘नियत’ थियो कि? उभिएका युवतीहरूलाई स्पर्श गर्नु, घचेड्नु, टाँसिनु र रगड्नु।
त्यसदिन अर्थात् एकदिन, यसैगरी म ड्राइभर सिट पछाडि उभिएँ। मैले देखेँ कि ढोकाबाट ऊ पनि त्यही बसमा चढ्दै थियो।
“लौ, मार्यो! फेरि आयो यो मान्छे, अब के गर्ने होला?” म भित्रभित्रै अमिलिएँ।
ऊ मेरो नजिकै आएर उभियो र अरू यात्रुहरू पर्खिरहेको थियो, ताकि यति भिड होस् कि उसलाई अझै मेरो नजिक आउन सजिलो होस्। अन्ततः ऊ सर्दै-सर्दै ठ्याक्कै मेरो पछाडि आइपुग्यो। अरुलाई देखाउनका लागि उसले आफ्ना दुवै हात बसको माथितिर समातेको थियो—कि ‘हेर, मैले केही गरिरहेको छैन’ भनेर। तर उसको शरीर भने अनियन्त्रित किसिमले मसँग टाँसिन खोजिरहेको हुन्थ्यो।
म भित्र घृणाको पराकाष्टा नाघ्दै-नाघ्दै गइरहेको थिएँ र अनायासै म कराएँ—
“तपाईं सिधा उभिन सक्नुहुन्न, अरू सरह ?”
सबैको ध्यानाकर्षण भयो। ध्यानाकर्षण के हुनु थियो र, त्यो भिड भएका बसमा एक–दुई जनाको टाउकामा भएका दुई–गुच्छा जस्ता आँखाले यसो हेरे—मानौँ, यो खासै ठूलो कुरा होइन। तर मेरो यो आक्रोशरूपी प्रश्न र ती हेराइले भने त्यगलो पुरुषलाई अलिकति असहज त पक्कै बनायो। र ऊ पनि करायो—
“के गरेको छ मैले? सिधै त उभिएको छु नि ! बढ्ता कराउने होइन है, अहिले गालामा ठ्याम्तै दिन्छु। अनि, के गरे मैले ?”
मैले उसबाट यस्तो जवाफ सुन्छु भन्ने कल्पना पनि गरेको थिइनँ, र म पनि अलि नर्वस भएँ। सानो कदकी म—सानी केटी!
यो नोकझोंक माझ अरू सबै मौन रहे। उ बेला समय अहिले जस्तो थिएन कि अन्याय भइरहेको युवतीको पक्षमा साथ र समर्थन जनाउने! तर पक्कै केही उभिएका पुरुषहरू भने सतर्क भएर सिधै उभिएका होलान्—यो मेरो अनुमान मात्र हो, किनकि समकालीन पुरुषहरू त त्यहाँ अरू पनि थिए होलान्।
बरु त्यो पात्र लोग्ने मान्छेले पनि अलि दूरी राखेर उभिएको चाहिँ हो त्यसपछि। डाँकोले एउटी फुच्ची युवतीलाई थर्काउन खोजे पनि मनभित्र त अलिकति कताकता लाज त भयो होला नि उसलाई। म भने निरिह, लाचार देखिएँ।
आफ्नो गन्तव्यमा म ओर्लिएँ। मलाई एकदम रुन आयो। म रुँदै घर गएँ। घरमा यो कुरा कसैलाई भनिनँ। खै, किन—थाहा छैन। सायद यस्तो घटना त्यतिबेला सामान्य थियो।
दिन, काल, समय बित्यो। मैले कलेजको पढाइ सकेँ र आफ्नो व्यावसायिक जीवन सुरु गरेँ। २०५३ सालमा जागिरकै सिलसिलामा म जुम्ला पुगेँ। मेरो काम थियो—पोषण र महिला स्वास्थ्यसम्बन्धी सरकारी निकायका प्रतिनिधिहरूलाई तालिम दिनु।
जिल्लास्तरीय तालिमको समयमा सरकारी निकायका प्रतिनिधिमध्ये एक पुरुषले चिया–नास्ताका बेला सोध्यो—
“तपाईँलाई कहाँ–कहाँ देखे जस्तो लाग्छ, पहिल्यै पनि। काठमाडौँमा कहाँ बस्नुहुन्छ ?”
जवाफमा मैले उसलाई त्यो ‘देखे–देखे’ जस्तो लागेको दृश्य सम्झाउँदै भनेँ—
“हुन सक्छ, सार्वजनिक बसमा एक पटक होइन, प्रायः देख्नुभएको होला। म कलेजबाट फर्कँदा सायद त्यो भिड भएका बसमा तपाईँ र म सँगै उभिएका थियौँ। यसो त तपाईँ सार्वजनिक बसमा धेरैजना मजस्तै महिलाहरूका अगाडि–पछाडि उभिनुभएको पनि होला। तर मलाई चाहिँ तपाईंको अनुहार ठ्याक्कै याद आयो।”
मैले त्यति मात्र के भनेकी थिएँ, उसले कुरा मोड्न थाल्यो—
“खोई, ठ्याक्कै सम्झना भएन। अनि कति दिन बस्नुहुन्छ जुम्लामा ?”
जवाफमा मैले भनेँ—
“म बस्छु केही दिन। र तपाईँलाई मलाई पहिल्यै देखेको अझै सम्झना नभएको भए, भोलिको क्लासमा सबै सामु सम्झाउँछु।”
त्यो भन्नेजति आँट मलाई कसरी आयो—खोई! तर आयो। किनकि त्यतिबेला म एउटा लाचार, निरीह, विद्यार्थी युवती थिइनँ—म प्रशिक्षक भएर त्यहाँ पुगेकी थिएँ।
भोलिपल्ट ऊ तालिम कक्षमा आएन।
र मेरो जुम्ला बसाइभरि—ऊ कतै देखिएन।