गगन नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले छलफलका लागि बोलायो
काठमाडौं – निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षलाई छलफलका लागि बोलाएको छ । आयोगले शुक्रबार दिउँसो २ बजे पदाधिकारी र सदस्यलाई छलफलका लागि बोलाएको हो ।
‘नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापासहित सम्पूर्ण पदाधिकारी केन्द्रीय सदस्यहरूलाई चुनाव चिह्नलगायतको विषयमा छलफलका लागि निर्वाचन आयोग कान्तिपथमा बैठकका लागि बोलाइएको हुँदा सबैलाई उपस्थिति लागि हार्दिक अनुरोध गर्दछौँ’, विशेष महाधिवेशन पक्षले जारी गरिएको सूचनामा भनिएको छ ।
कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले बिहीबार निर्वाचन आयोगमा नयाँ कार्यसमितिको दस्ताबेज बुझाएको थियो । शुक्रबार बिहान कांग्रेसको संस्थापन पक्ष पनि आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग पुगेपछि यसबारे निर्णय गर्न लागिएको हो ।
गगन थापा सभापति रहेको कांग्रेसले विशेष महाधिवेशनमा सहभागी भएका २६ सय ५२ प्रतिनिधिको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको खुलेको छ ।
असोज २८ गते विशेष महाधिवेशन माग गरेर हस्ताक्षर गर्नेको संख्या ५४ प्रतिशत थियो । कांग्रेसको अर्को पक्षले विशेष महाधिवेशनमा हस्ताक्षर गर्नेको संख्या ५१ प्रतिशत नपुगेको दाबी गरे पनि आयोगमा बुझाइएको आधिकारिक डकुमेन्टमा २६ सय ५२ जनाको हस्ताक्षर रहेको खुलेको हो । संस्थापन कांग्रेसले ८८५ प्रतिनिधिले हस्ताक्षर फिर्ता गरेको दाबी गरेको छ ।