npl.977 Nepal News Stream

Nepali Link

हङकङमा ७० वर्षकै सबैभन्दा ठूलो आगलागी: १२८ को मृत, सैयौँ बेपत्ता

Narendra Basnet 2 days ago

हङकङ । हङकङको  ताइपोस्थित वाङ फुक कोर्ट आवासीय  भवनमा बुधबार अपराह्न लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १२८ पुगेको छ।

पछिल्लो ७० वर्षमा हङकङमा भएको  यो सबैभन्दा घातक दुर्घटना मानिएको छ। घटनामा ७९ जना घाइते भएका छन् भने सैयौं  मानिसहरू अझै बेपत्ता छन्।

आगलागी बुधबार दिउँसो २:५१ बजे तल्लो तलाबाट सुरु भई केही घण्टाभित्रै आगो ‘लेभल–५ अलार्म’ मा पुगेको थियो।

भवनमा मर्मतकार्य भइरहेको बेला ज्वलनशील सामग्रीले आगो तीव्र रूपमा फैलिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ठेकेदार कम्पनीका तीन अधिकारीहरूलाई मानव–हत्या आरोपमा पक्राउ गरिएको छ भने भ्रष्टाचार विरोधी आयोगले थप आठ जनालाई मर्मत कार्यमा अनियमितता गरेको आरोपमा पक्राउ गरिसकेको छ।

दमकल विभागले २ हजार ३ सय ११ अग्निनियन्त्रक परिचालन गरी शुक्रबार बिहान १०:१८ बजे आगो पूर्ण रूपमा निभाइएको घोषणा गरेको छ। मृतकमध्ये ३७ वर्षीय अग्निनियन्त्रकसमेत छन्, जो उद्धारको क्रममा निधन भएका थिए।

धेरै आप्रवासी कामदार पनि यस घटनामा ज्यान गुमाएका छन्। सरकारले विस्थापित बासिन्दाका लागि आश्रयस्थल स्थापना गरेको छ र बेपत्ता आफन्तहरूको खोजीमा सहयोग गरिरहेको छ। बासिन्दाहरूले सुरक्षामा कमजोरी भएको गुनासो गरेका छन्।

यो आगलागी सन् १९४८ पछि हङकङको सबैभन्दा ठूलो दुर्घटना बनेको छ। प्रहरीले अब विस्तृत अनुसन्धानका लागि भवनभित्र प्रवेश गर्ने तयारी गरिरहेको छ।

Read more news from Nepali Link

Explore by Source or Category