News of Nepal
नेताका आ–आफ्नै रणनीति…

केपी शर्मा ओली
केपी शर्मा ओलीले यसपटक चुनावमा जित्ने सम्भावना निकै कम देखिन्छ । उहाँसँग अरूलाई ‘कन्भिन्स’ गर्ने क्षमता रहे पनि आफ्नै निकटकाहरुले गलत परामर्श दिएका कारण अब उहाँको राजनीतिक जीवन अस्ताचलतिर पुगेको छ । एमालेको संगठन बलियो र व्यवस्थित बनाउने श्रेय ओलीलाई नै जान्छ । तर उहाँको जिद्दी स्वभाव र अहंकार उहाँको योगदानभन्दा भारी हुन पुगेको छ । धेरै युवाले उहाँलाई ‘केपी बा’ भन्न थालेका थिए, तर प्रतिबद्धताहरू पूरा गर्न नसकेपछि यसपटक तिनै युवाबाट ज्यान जोगाउन उहाँ हेलिकोप्टरबाट भाग्न बाध्य पनि हुनुप¥यो । यही मंसिर २७–२८ हुने एमालेको महाधिवेशनले पनि उहाँलाई निर्विकल्प छोड्ने छैन । विद्यादेवी भण्डारी र अन्य धेरै वरिष्ठ नेताको समर्थन ईश्वर पोखरेलसँग छ, त्यसैले ओलीलाई यो पटक सजिलो छैन ।
कांग्रेसमा रहेका गगन थापाजस्तै बलियो युवा नेतृत्व एमालेमा नभएकाले मात्रै ओली अझै टिकिरहेका छन् । महेश बस्नेतको बौद्धिकता र बोल्ने शैली राम्रो भएको भए अहिले ओलीले उहाँलाई पार्टी सुम्पिएका हुन्थे होलान् । बोलीले नै ओलीलाई पनि डाम्यो, महेश बस्नेतलाई पनि ।

आरजु देउवा
नेपाली कांग्रेसकी चर्चित ‘भाउजू’ आरजु देउवा उपचार गरेर सिंगापुरबाट फर्केपछि निकै सक्रिय बन्नुभएको छ । उहाँले पुराना कांग्रेस नेताहरूलाई एउटै ठाउँमा बस्नुपर्छ र फेरि संसद् पुनःस्थापना गराएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर दबाब दिइरहेको बुझिएको छ । यही पाठ उहाँले केपी ओलीलाई पनि पढाइसक्नुभएको छ । जसरी भए पनि जेन–जीलाई मनाएर संसद् पुनःस्थापना गर्ने र जेन–जीलाई नै जालोमा पार्ने उहाँको दाउ छ ।
अर्को कुरा, गगन थापा र विश्वप्रकाश शर्मालाई साम–दाम–दण्ड–भेद प्रयोग गरेर कांग्रेस महाधिवेशनमा हराउने र आफू शेरबहादुर देउवाको उत्तराधिकारी भएर पार्टी नेतृत्व लिने उहाँको सोच देखिन्छ । अहिलेका लागि उहाँले भदौ २३ र २४ गतेको आन्दोलनको प्रतिशोध प्राथमिकतामा राख्नुभएको छैन । उहाँको पहिलो प्राथमिकता पार्टीलाई आफ्नो नियन्त्रणमा राख्ने नै हो । शेरबहादुर देउवा सदैव वरिपरिको गलत सल्लाहमा चल्ने नेताका रूपमा चिनिनुहुन्छ । कांग्रेस महाधिवेशनमा के हुन्छ थाहा छैन, तर फेरि देउवाकै नेतृत्वमा कांग्रेस चुनावमा गयो भने ठूलो पराजय हुनेमा दुईमत छैन ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’
नेपाल कम्युनिस्ट पार्टीबाट नेपाली कम्युनिस्ट पार्टी र कम्युनिस्टबाट समाजवादी बनेको पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ चतु¥याइँमा अगाडि देखिएको छ । तर जति बाठो भए पनि उहाँले यसपटक चुनाव जित्ने सम्भावना अत्यन्तै कम छ । ‘सबैलाई हे¥यौं पटक–पटक, हामीलाई हेरौँ यसपटक’ भन्दै २०६४ सालको चुनावमा जनताले उहाँको पार्टीलाई सबैभन्दा ठूलो दल बनाए । तर २० वर्षमै जनताले देखिसके कि उहाँबाट अब केही हुँदैन । समानुपातिकबाट सांसद बन्न सक्नुहुन्छ, तर चितवनबाट प्रत्यक्ष जित्ने सम्भावना छैन । त्यसैले अहिले उहाँ रवि लामिछानेसँग नजिकिन खोजिरहनुभएको छ । रविको साथ पाएमा चितवनबाट अझै जित्ने आशा उहाँमा छ । त्यसैले रविलाई फकाउन अनेक टिगडममा लाग्नुभएको छ । तर रविले पुरानासँग भन्दा बालेन साह, कुलमान घिसिङ, सुधन गुरुङ र नयाँ शक्तिसँग मिलेर जाने तयारी गरिसकेको देखिन्छ ।

शेखर कोइराला
शेखर कोइरालाले गगन थापा र विश्वप्रकाश शर्मालाई धेरै अनुरोध गर्नुभयो ‘मलाई पार्टी सभापति बनाइदेऊ, गगनलाई प्रधानमन्त्री उम्मेदवार बनाउँछु’ भनेर । तर गगन–विश्वप्रकाश सहमत भएनन् । अब शेखर चुपचाप हेरेर बस्नुभएको छ । शेरबहादुर र गगनमा जसतर्फ वातावरण बन्छ, उहाँ उता नै जाने र बार्गेनिङ गर्ने तयारीमा देखिनुहुन्छ । शेखर बौद्धिक नेता हुनुहुन्छ तर संगठनात्मक योगदान कम भएको र नेतृत्वका आवश्यक गुण नदेखिएको आरोप कांग्रेस कार्यकर्ताको छ ।

गगन थापा
गगन थापा निकै चलाख, अध्ययनशील र ग्रासरुटबाट उठेका नेता हुनुहुन्छ । तर्कसंगत कुरा गरेर जसलाई पनि मनाउन सक्ने क्षमता उहाँमा छ । आफ्नो ठूलो लक्ष्य भेट्टाउन आवश्यक परे उहाँले केही हदसम्म लचकता अपनाउन पनि सक्ने देखिन्छ । जेन–जी आन्दोलनले कांग्रेसका पुराना नेतालाई हटाउने मौका दिएको बुझिसकेका गगन यही अवसरको सदुपयोग गर्ने दाउमा हुनुहुन्छ । गगनले विगत केही वर्ष देशभर घुमेर महाधिवेशनको तयारी पनि गरिसक्नुभएको थियो । जेन–जीको आन्दोलनले महाधिवेशनको समय अगाडि सारिदिएको छ । उहाँ यसपालि कसैसँग सम्झौता नगरी ‘हीरा फोड्ने’ मनस्थितिमा देखिनुहुन्छ । विश्वप्रकाश पनि पुराना नेतालाई विस्थापित गर्नुपर्नेमा गगनकै पक्षमा देखिनुभएको छ भने जनताको चाहना पनि अब कांग्रेसलाई गगनले नेतृत्व दिनुपर्ने दिशामै छ ।

बालेन्द्र साह (बालेन)
बालेनले कुनै एउटा पार्टीबाट राजनीति गर्ने सोच बनाइरहनुभएको छ । उहाँलाई यसपालि आफैँ चुनाव लड्ने भन्दा पनि फेरि मेयर पदमै जाने इच्छा बढी देखिन्छ । तुलनात्मक रुपमा अहिले देशकै सबैभन्दा ठूलो र लोकप्रिय राजनीतिक ‘ब्रान्ड’ बालेन नै हुनुहुन्छ । बालेनले जसलाई समर्थन गर्नुहुन्छ उसैको जित्ने सम्भावना बढ्छ । बालेनको शैली—पहिले एकपटक भेट्ने, त्यसपछि कुमार बेनमार्फत संवाद गर्ने रहेको छ । बालेन र उहाँको टिमले विभिन्न समूहसँग भेटघाट गरिरहेका छन् । यद्यपि उहाँ रास्वपा, कुलमान घिसिङ र सुधन गुरुङसँग मिलेर अगाडि जाने धारणा राख्नुहुन्छ । बालेनका निकटस्थहरुका अनुसार उहाँको पार्टी विजयी भएपछि उहाँको टिमबाट २–३ जनालाई मन्त्री बनाउने योजना छ । कुमार बेनले पनि यो चुनावमा नआउने र ललितपुर महानगरको मेयरमा उम्मेदवारी दिने इच्छा देखाइरहनुभएको छ ।

रवि लामिछाने
भदौ २४ को जेन–जी आन्दोलनमा रविले ठूलो अवसर गुमाउनुभयो । भदौ २४ मा दक्षिण भारतीय फिल्मका हिरोले झैँ नख्खु जेलबाट ननिस्किएका भए जेन–जीसहित नेपाली जनताले उहाँलाई प्रधानमन्त्री बनाइदिने सम्भावना निकै थियो । बालेन अन्तरिम सरकारको प्रधानमन्त्री बन्न नमानेपछि रविको नाममा सहमति जुट्दै थियो । तर ओभर–कन्फिडेन्स र सामाजिक सञ्जालको गलत बुझाइले उहाँलाई ठूलो चोट दियो । अहिले रवि जेलबाट निस्कनकै लागि केही हदसम्म सम्झौता गर्न पनि तयार हुनुहुन्छ । उहाँलाई जेन–जी सरकारले आफूलाई जेलबाट निकाल्छ भन्ने ठूलो आशा अझै छ । तर प्रधानमन्त्री सुशीला कार्की कानुनले जे भन्छ, त्यही गर्ने मनस्थितिमा हुनुहुन्छ ।
नयाँ पार्टीहरूमध्ये ‘रास्वपा’ सबैभन्दा संगठित छ, देशभर बलियो नेटवर्क छ । यसैबीच रास्वपाले विवेकशील साझा पाटीसँग एकता गरिसकेको छ भने अन्य दलहरुसँग पनि एकता गर्दै जाने नीति अख्तियार गरेको छ । कार्यकर्ताले रविको नेतृत्व चाहेका छन् । कुनै हालतमा पनि उहाँलाई अध्यक्षबाट हटाउने पक्षमा छैनन्—रविका लागि यो ठूलो उपलब्धि हो । रास्वपाका शीर्ष नेताहरूले पनि अब कुलमान, बालेन र सुधनसँग मिलेर चुनावमा जाने तयारी गरिरहेका छन् । रवि जेलबाट निस्केपछि चुनावको माहोल नै अर्को हुने निश्चित छ ।

कुलमान घिसिङ
बालेन नआउने, रवि जेलमै रहने सम्भावनाले कुलमान घिसिङले आफूलाई प्रधानमन्त्री भएको देख्न थालिसक्नुभएको चर्चा चुलिएको छ । लोडसेडिङ हटाएर देश उज्यालो बनाउने ठूलो श्रेय कुलमानलाई जान्छ । तर हाल धेरै विवादहरू पनि सार्वजनिक भइरहेका छन् । जेन–जीले लाखौँ अनुरोध गर्दा पनि उहाँले पार्टीको नाम ‘उज्यालो नेपाल पार्टी’ र चुनाव चिन्ह ‘बल्ब’ नै राख्नुभयो । यसमा उहाँले कुनै सम्झौता गर्नुभएन । यसले सुमना श्रेष्ठ, सुधन गुरुङलगायत धेरै जेन–जी नेताहरूलाई निराश बनायो । ‘सम्पूर्ण देशलाई प्रतिनिधित्व गर्ने कुनै नाम राखौँ’ भनेर सुझाए पनि उहाँले नमानेको भन्दै जेन–जी समूहले भन्यो– ‘मेरो गोरुको बाह«ै टक्का भन्ने मान्छेसँग कसरी मिलेर काम गर्ने ?’
बालेनपछि अहिले सबैभन्दा लोकप्रिय नेता कुलमान नै हुनुहुन्छ । मन्त्री भइसकेपछि उहाँ रविभन्दा अझै लोकप्रिय बन्नुभएको छ । तर सँगसँगै उहाँले धेरै दुश्मनी पनि कमाउनुभएको छ । व्यापारीहरूले उहाँलाई विद्युत् प्राधिकरणमा हुँदा ठूला परियोजनाबाट धेरै कमाएको आरोप लगाएका छन् । दुबई–मलेसियामा ५–७ अर्ब रुपियाँ कालोधन पार्क गरेको आरोप पनि उहाँमाथि छ । ‘डेडिकेटेट फिडर’ र ‘ट्रंकलाइन’को पैसा तिराएका कारण व्यापारीहरू असन्तुष्ट छन् । ठेकेदारका धेरै टेन्डर रद्द भएपछि पनि उनीहरू पनि रिसाइरहेका छन् । चुनावअघि यी सबै मुद्दा फेरि बाहिर ल्याउने चेतावनी उनीहरूले दिएका छन् । उहाँका भाइ–भतिजाका कम्पनीहरू– लामा कन्स्ट्रक्सन, टेन्डल हार्डवेयरको अर्बौंका व्यापार सार्वजनिक भइसकेका छन् ।
कुलमानले रास्वपाको अध्यक्ष बन्न निकै प्रयास गर्नुभयो, तर रवि मात्र होइन, रास्वपाका शीर्ष नेताहरू नै तयार भएनन् । उहाँलाई प्रधानमन्त्री बनाउन उनीहरू तयार छन्, तर अध्यक्ष बनाउने पक्षमा छैनन् । रास्वपा नेताहरूले वर्षौंदेखि रविलाई बचाउँदै राजनीति चलाएका छन्—फेरि अर्को ‘दाग’ बोक्ने जोखिम लिन चाहँदैनन् ।
हाल कुलमान देशभरका नेताहरूलाई फोन गरेर आफ्नो पार्टीमा भित्र्याउने प्रयास गर्दै हुनुहुन्छ । यदि उहाँमाथि लागेका आरोपहरू चुनावअघि धेरै नफैलिने हो भने कुलमान चुनावपछि प्रधानमन्त्री बन्ने सम्भावना निकै बलियो छ ।

सुधन गुरुङ
करिब १० वर्षदेखि ‘इनफ इज इनफ’, धरानको घोपा क्याम्प जस्ता आन्दोलनहरूमा नयाँ शैली ल्याइरहेका सुधन गुरुङलाई यसपटकको जेन–जी आन्दोलनले एकाएक चर्चित बनाएके छ । उहाँको ठूलो शक्ति भनेकै उहाँमाथि परिवारको जिम्मेवारी छैन, त्यसैले डर हुँदैन । बालेनलाई प्रधानमन्त्री बन्न आऊ भन्दा उहाँ डराउनुभयो, मिराज ढुङ्गाना त आन्दोलनमा देखा नै पर्नुभएन, तर सुधन जहाँ–जहाँ आवश्यक थियो त्यहीं पुग्नुभयो । आन्दोलन चर्काउन पनि, साथै संसद् भवनमा जुलुस नजाओस् भनेर रोक्न पनि उहाँ अगाडि नै देखिनुभयो । गोली लागेका युवालाई अस्पताल पु¥याउन होस् वा पशुपति आर्यघाटमा शहीदलाई काँध दिन, देश ‘भ्याकुम’ अवस्थामा हुँदा पनि उहाँको सबै ठाउँमा उपस्थिति रह्यो । निडर स्वभावका कारण उहाँ आज जेन–जीका सबैभन्दा चर्चित नेता बन्नुभएको छ । सुरुवातमा उहाँको बोल्ने शैली विवादास्पद भए पनि अहिले धेरै सुधार आएको देखिन्छ । उहाँले पनि जेन–जी, बालेन, कुलमान र रास्वपासँग मिलेरै चुनावमा जानुपर्ने आवश्यकता महशुस गरेको बुझिन्छ ।