चर्चित पाइलट विजय लामा ग्राउन्डेड, विमाउन उडाउन रोक
काठमाडौं । जहाजभित्र सेल्फी खिच्ने, फोटो तथा भिडिओ खिचेर हवाई सुरक्षासम्बन्धी उडान नियम उल्लंघन गरेको भन्दै बरिष्ठ पाइटल विजय लामा र सोनी राणा कारबाहीमा परेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका दुई पाइटललाई ग्राउन्डेड गरेको हो। अर्को निर्णय नआउँदासम्म उनीहरूले उडान गर्न पाउने छैनन्। दुवैलाई स्पष्टीकरण सोधिएको क्यानका डेपुटी म्यानेजर ज्ञानेन्द्र भुलले जानकारी दिए ।
उनका अनुसार अब निमगले उनीहरूमाथि छानविन तथा अनुसन्धान गरेर क्यानलाई प्रतिवेदन बुझाउनेछ । प्रतिवेदनको आधारमा क्यानले निलम्बन फुकुवा गरेर ड्युटीमा खटाउने वा जिम्मेवारबाट मुक्त गर्ने भन्नेबारे निर्णय गर्नेछ । क्यानले निर्णय नगर्दासम्म अब लामा र राणाले जहाज उडान पाउने छैनन् । क्याप्टेन लामा यसरी निलम्बनमा परेको पहिलोपल्ट होइन ।
यसअघि ०८१ जेठ र ०७६ वैशाख पनि क्यानले स्पष्टीकरण सोधेकोमा उनले लिखित जवाफ दिएपछि निलम्बन फुकुवा भएको थियो । कलाकारसमेत रहेका लामाले भ्लग बनाउँदै आएका छन् । भ्लगमा उनले जहाजभित्रका गतिविधि पनि सार्वजनिक गरेको देखिन्छ ।